समाचार / विश्व

नागासाकीमा खसालिएको बमभन्दा शक्तिशाली उत्तर कोरियाली ‘हाइड्रोजन बम’

भाद्र १८ २०७४     एजेन्सी
H bomb pj8oicok4w

प्योङयाङ,भदौ १८ । उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा राख्न सकिने परमाणु हतियारको सफल परिक्षण गरेको दाबी गरेको छ ।

भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि प्योङयाङले आफ्नो छैटौँ परमाणु परिक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो ।

प्योङयाङले आफूहरुले हाइड्रोजन बम परिक्षण गरेको बताएको छ । यो परमाणु बमभन्दा कयौँ गुणा शक्तिशाली हुन्छ ।

विज्ञहरुले प्योङयाङको दाबीलाई संयमताको साथ अध्ययन गर्नुपर्ने बताएका छन् । तर, उत्तर कोरियाको परमाणु क्षमतामा उल्लेख्य बृद्धि भएको स्वीकार भने गरेका छन् ।

दक्षिण कोरियाको सरकारी समाचार सेवा योनह्यापले उत्तर कोरियाले आइतबार परिक्षण गरेको परमाणु बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा चारदेखि पाँच गुणा शक्तिशाली भएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाका रक्षा मामिलाका संसदीय समितिका प्रमुख किम योङ वुले सैन्य सुत्रको हवाला दिँदै आइतबार गरिएको परिक्षण पछिल्लो वर्ष गरिएको पाँचौ परिक्षणभन्दा धेरै शक्तिशाली रहेको बताए ।

उत्तर कोरियाले पछिल्लो पटक सेप्टेम्बर २०१६ मा परमाणु परिक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अन्तर्राष्ट्रिय समूदायको दबाबका बावजुद उत्तर कोरियाले परमाणु हतियारको विकास र क्षेप्यास्त्र परिक्षणलाई अघि बढाउँदै लगेको छ । अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र निर्माण गर्ने उसको लक्ष्य छ ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परिक्षण उत्तरको पुङ्गे–री परमाणु परिक्षण क्षेत्र रहेको किल्जु काउन्टीमा भएको हो ।

राज्यको मौसम विभागका अनुसार आजको ‘कृत्रिम भूकम्प’ पछिल्लो परिक्षणभन्दा ९.८ गुणा शक्तिशाली थियो ।

यसअघि प्योङयाङले लामो दुरीको क्षेप्यास्त्रमा फिट गर्न मिल्ने हाइड्रोजन बम तयार भएको बताउँदै नेता किम जोङ उन र सम्भावित ‘हाइड्रोजन बम’ को तस्विर सार्वजनिक गरेको थियो ।

जापानले पछिल्लो परिक्षणको भत्सर्ना गरेको छ भने दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् ।

अब के ?

उत्तर कोरियाको छैटौँ परमाणु परिक्षणले एउटा स्पष्ट राजनीतिक संकेत दिएको छ । वासिंगटनबाट ट्रम्प प्रशासनले दिएको धम्की वा अन्तर्राष्ट्रिय समूदायको भत्सर्नाको बावजुद प्योङयाङले आफ्नो परमाणु गतिविधि रोक्ने वाला छैन ।

चिन्ताको विषय यो छ कि उसको कार्यक्रम अरुले अनुमान गरेभन्दा द्रुत गतिमा विकास हुँदैछ । हालसम्म कोरियामाथि दबाब कायम गर्ने सबै उपाय विफल भएको छ ।

अब अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध उत्तर कोरियामाथि लगाएर अहिलेको नेतृत्वलाई परास्त गर्न सकिने आवाज उठेपनि चीन यसको विपक्षमा उभिएको छ ।

कत्रो थियो आजको विस्फोट ?
अमेरिकी जियोलोजिकल सर्भेले शुरुमा ५.६ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराईमा आएको रिपोर्ट सार्वजनिक गरेको छ । पछि त्यसलाई बढाएर ६.३ म्याग्निच्युड बनाइएको थियो । यसको केन्द्रविन्दु ० किलोमिटर तल भएको बताइएको थियो । यसले यो परिक्षण अहिलेसम्मकै शक्तिशाली भएको थियो ।

रक्षा विज्ञ ब्रुस बनेट भन्छन्, ‘यदी ६.३ म्याग्निच्युड पुष्टि भयो भने त्यो हतियार निकै ठूलो छ, धेरै ठूलो छ ।’

उनले यो हाइड्रोजन बम नै नभए पनि त्यस नजिक भएको हुनसक्ने बताउँछन् ।

उत्तर कोरियामाथि विश्वास गर्न सकिन्छ ?
उत्तर कोरियाले गरेको पछिल्ला क्षेप्यास्त्र परिक्षणले अन्तर्राष्ट्रिय समूदाय असहज महसुस गरिरहेको छ । आइतबार उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेको रिपोर्टमा किम जोङ उनले परमाणु हयितार इन्सिटच्युडमा रहेका वैज्ञानिकहरुलाई भेटेर परमाणु हतियार निर्माणमा निर्देशित गरेका थिए ।

उत्तर कोरियाले यसअघि पनि परमाणु हतियार निर्माण गरेको बताए पनि यसमा धेरै विज्ञहरुले आशंका व्यक्त गर्दै आएका छन् । उनीहरुले हाइड्रोजन बम निर्माण गरेको उत्तरको दाबीमा पनि आशंका व्यक्त गरेका छन् ।

परमाणु बम विशेषज्ञ क्याथरिनले अझै पनि उत्तरले कस्तो खाले हतियार परिक्षण गरेको स्पष्ट नभएको बताए । उनले कम्पनको तिव्रताले यसअघिका परिक्षणभन्दा आजको परिक्षण ठूलो भएको बताए पनि कस्तो हतियार भने परिक्षण भएको भन्ने अझै यकिन हुन बाँकी रहेको बताए ।

0 प्रतिकृयाहरू प्राप्त

To Top