समाचार / बिचार

प्रदेश २ को समग्र जनप्रतिनिधि संख्यामा एमाले दोस्रो

असोज १० २०७४     ekhabarnepal
Rashmi aach

रश्मि आचार्य
एकै चरणमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुईबटा सरकारले तीन चरणमा सम्पन्न गरे । निर्वाचनको बीचमा सरकार परिवर्तन, स्थानीय तहको संख्या थप, निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने संविधान संशोधन जस्ता गतिविधि विभिन्न वाहनामा गरिए । अनेकौं दाउपेच, षडयन्त्र र तानातानका बीच यी निर्वाचनहरु भए । यस निर्वाचनले देशको आन्तरिक समीकरण र शक्ति सन्तुलनमा फेरबदल ल्याएको छ । धेरै समयपछि नेपाली कांग्रेसलाई एमालेले उछिनेको छ । समग्र परिणाममा नेकपा एमाले पहिलो शक्ति बनेको छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका छन् । अब देश संघ र प्रदेश निर्वाचनको दिशामा अघि बढेको छ ।

स्थानीय तहका दुई चरण भन्दा तेस्रो चरणमा भएको दुई नम्बर प्रदेशको निर्वाचनबारे यतिवेला तातो बहस चलिरहेको छ । यस प्रदेशमा धेरैका अनुमान फेल खाए । यस चरणमा पनि अरु चरणमा जस्तै एमाले पहिलो हुने आशामा थियो त्यस अनुमान गलत सावित भयो । नेपाली कांग्रेसले यहि प्रदेशमा एक सय भन्दा बढी जितेर स्थानीय निर्वाचनमा पहिलो हुने सपना देखेको थियो, उसको त्यो सपनामा पूर्णविराम लाग्यो । मधेश केन्द्रित दलहरु आफ्नो एकछत्र पकड भएको प्रदेशको रुपमा स्थापित गराउन चाहान्थे तर, उनीहरुले सोचे जस्तो भएन । यस प्रदेशमा पनि अरु प्रदेशमा जस्तै राष्ट्रिय पार्टीहरु अगाडि आए । उनीहरु कमजोर देखिएनन् । अघिल्ला दुई चरणमा एमाले पहिलो भएको कारण उसका विरुद्धको घेराबन्दी ठूलै देखियो र एमालेलाई यस प्रदेशमा पहिलो हुनबाट रोक्न सबै सफल भए । दुई नम्बर प्रदेशमा एमाले पहिलो हुँदैन भन्ने एमाले विरोधी मोर्चाको अनुमान मात्र यस निर्वाचनमा सहि सावित भयो । एमालेका विरुद्ध सबै एकठाउँ भए तर, एमाले आफैंभित्र एक भएर ती सबै हमलाहरुको प्रतिवाद गर्न धेरै ठाउँमा चुक्यो । 

झट्ट हेर्दा दुई नम्बरको निर्वाचन परिणाममा एमाले तलजस्तो देखिए पनि समग्र प्रदेशको नतिजामा एमाले पछाडि छैन । निर्वाचन परिणामको मापन गाउँ पालिका अध्यक्ष÷उपाध्यक्ष र नगर पालिका प्रमुख÷उपप्रमुखको अंक गणितबाट मात्र हुँदैन । स्थानीय जनाधार कतिको बलियो रहेछ भन्ने मापनको मुख्य आधार भनेको बडा अध्यक्ष र सदस्यमा कस्तो स्थिति छ भन्नेले बताउँछ । मुख्य पदमा घेराबन्दी र अनेकौ कारणले पछाडि परे पनि निर्वाचित जनप्रतिनिधिको संख्यामा एमाले कांग्रेसपछि दोस्रो शक्ति नै बनेको छ ।

बडा अध्यक्ष, बडा सदस्य सहितको नतिजाले सोहि पुष्टि गर्दछ । यो लेख तयार पार्दासम्म समग्र नतिजामा नेपाली कांग्रेस १५६७ स्थानमा विजयी भएको छ भने नेकपा एमाले १२१६, माके १०६३, राजपा १०३१ र संघीय समाजवादी फोरम ९५७ स्थानमा विजयी भएका छन् । त्यसैगरी जनाधारको अर्को मापन भनेको दोस्रो हुने (निकटतम प्रतिद्वन्द्वी) संख्याले पनि बताउँछ । दोस्रो भएका स्थानको संख्यामा पनि एमाले दुई नम्बरमै छ । जसमा कांग्रेस ११४४, एमाले ८२४, माके ६०९, राजपा ५२३, संघीय समाजवादी फोरमले ४८४ स्थानमा दोस्रो मत प्राप्त गरेका छन् ।

दुनियाँलाई थाहा छ, यस पटक दुई नम्बर प्रदेशमा एमालेलाई हराउन के भएन ? अनेक भयो । गर्न मिल्ने र नमिल्ने सबै हथकण्डा प्रयोग गरियो । देशभित्र र वाहिरका दुवैथरिको संयुक्त गठजोडबाट यो डिजाइन रचिएको छ । एमालेलाई कमजोर बनाउँदा मात्रै आफ्ना एजेण्डा स्थापित हुने निश्कर्ष सहित नेपालको भलो नचाहानेहरुले विछ्याएको एम्बुसमा एमालेलाई पार्ने चक्रव्यूह रचियो । यो एम्बुस केवल एमालेका निम्ति मात्र थापिएको होइन ।

अन्ततः यसले देशलाई निशाना बनाउने निश्चित छ । नेपाललाई कमजोर पार्ने दीर्घकालीन रणनीति सफल बनाउन यसपटक एमालेलाई ताछिएको स्पष्ट छ । त्यस गुरुयोजनामा जानेर वा नजानेर नेपालका केहि दलहरु र संवैधानिक अंगहरु पनि प्रयोग भएका छन् । हरेक पटकको गणनामा एमालेको मत घटाउने, एमाले उम्मेदवारले जितेको ठाँउमा अरुले जितेको घोषणा गर्ने, प्रहरी प्रशासनको दुरुपयोग गरी राज्यआतंक मच्चाउने, आचारसंहिता विपरित चुनावको अघिल्लो दिन न्यायाधीश, सीडीओ र जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गर्ने काम गरे ।

यो सवै काम धाँधली थियो । यसरी गरिएको निर्वाचनलाई वैधानिकता दिने देखावटी अंग मात्रै निर्वाचन आयोग बन्यो । बीरगञ्ज महानगर ३० नम्बर बडाको मतगणना यसको जिउँदो उदाहरण हो । जसको समीक्षा भविश्यमा अवस्य हुनेछ ।

यस चुनावमा पनि चुनावी तालमेल एमाले विरुद्धमा नै भयो । बाराको निजगढ नगरपालिकामा कांग्रेस र माकेले एमाले विरुद्ध गरेको तालमेललाई त्यसको एउटा उदाहरण मान्न सकिन्छ । त्यो त देखिनेगरी गरिएको तालमेल थियो । माओवादीले जितेका ठाउँमा कांग्रेस प्रतिस्पर्धामा नआउनु र कांग्रेसले जितेका ठाउँमा माओवादी प्रतिस्पर्धामा नआउनु उनीहरुबीच सतहभित्रको तालमेलको प्रमाण हो । देश विदेशका गुप्तचर संस्थाहरुको रिर्पोटमा जहाँ एमालेले जित्ने निश्चित जस्तो छ, त्यो ठाउँमा दोस्रो स्थानमा रहेको दललाई भोट हाल्न असोज २ अघिका केहि रातमा चलखेलहरु भए । एमालेलाई हराउन मधेशमा बर्षौदेखि जरा गाडेर बसेको अन्धविश्वास, अचेतनालाई अस्त्रहरुको रुपमा प्रयोग गरिएको छ । जुनकुरा समयमै बुझ्न नसक्नु एमाले पंक्तिको ठूलो कमजोरी हो । कतिपय कुरा बुझ्दा बुझ्दै पार्टी पंक्तिलाई एकताबद्ध तवरले परिचालन गर्न नसक्नु पार्टी नेतृत्वको गम्भीर कमजोरी हो ।

एकै ठाउँमा दुई जनालाई उम्मेदवारी दिनु, सहि व्यक्ति छनौट नगरी आफ्नो मान्छेलाई टिकट दिनु र पार्टीको आधिकारिक उम्मेदवार भन्दा वागीले धेरै मत ल्याउनु, उम्मेदवार छनौट गरिसकेपछि वागीलाई रोक्न नसक्नु, जिल्लामा रहेका केन्द्रीय नेता पिच्छेका फरक फरक गुट हुनु, ती गुटहरुले विपक्षी पार्टीसँग लड्ने भन्दा पनि आफैं भित्र ठूलै रस्साकस्सी मच्चाउनु यस प्रदेशमा एमाले पछाडि पर्नुका आन्तरिक कारणहरु हुन् । मूलतः आफूले टिकट नपाएको झोक अन्त भोट हालेर पोख्ने, चुनाव प्रचारमा नलाग्ने, लागे पनि देखावटी तवरले मात्र लाग्ने, भित्रि मनै देखि नलाग्ने, ६ छाप मात्र भोट हाल्ने प्रवृत्ति दुई नम्बर प्रदेशमा ज्यादा देखियो । पार्टी होइन व्यक्ति चुनाव लडेको जस्तो भयो भन्ने आम मनोविज्ञान निर्माण हुनु एमालेका लागि ज्यादै चुनौतिपूर्ण सन्देश हो । हो, हामी आन्तरिक कारण प्रधान बनेको ठाउँमा आफ्नै कारणले अवश्य हारेका छौं तर धेरै ठाउँमा एमालेलाई योजनाबद्ध हराइएको छ । यसर्थ यी उल्झनहरुलाई गोडमेल गरेर समृद्ध मधेश निर्माण गर्ने अभियान्ता बन्नु नै एमालेको अबको मूल बाटो हो ।

 

उल्लेखित आन्तरिक तथा वाह्य चुनौतीका बावजुद मधेश आन्दोलनको उद्गम स्थल सिराहाको लाहनमा एमालेले स्थापित गरेको जित धेरै कोणबाट ओजपूर्ण र सन्देशमूलक छ । मेची महाकाली जागरण अभियानमा दुई नम्बर प्रदेश छिर्न नपाएको एमाले यस निर्वाचनको दौरानमा बस्तीबस्ती र घर घरमा छिरेको छ । एमालेको विचार र विकासको खाका मधेशका जनताको हात हातमा पुगेको छ । यस निर्वाचनबाट हरेक टोल टोलमा एमालेको बीऊ रोपिएको छ । एमालेका सयौं जनप्रतिनिधिहरुले सूर्य ध्वजा लिएर बडा÷बडामा चुनाव जितेका छन् ।

त्यसलाई संरक्षण गर्दै नयाँ रक्तविजहरु उत्पादन गर्ने सामथ्र्य पार्टीले विकास गर्न सक्दा मधेशमा एमालेको उज्यालो भविश्यलाई कसैले रोक्न सक्दैन । यसका लागि एमालेबाट जितेका जनप्रतिनिधिहरु समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास चिर्ने दियो बनेर स्थापित हुन सक्नु पर्दछ । मधेशको पछौटेपन, अविकसित अवस्था एमालेको अनुपस्थितिको कारणले रहेछ भन्ने सन्देश स्थापित गरेर यसको चौतर्फी विकासको लागि नेकपा एमालेको अपरिहार्यता पुष्टि गर्न सक्दा आज बनेको जग युग परिर्वतनको आधारशीला बन्न सक्छ । मधेशको मुहार फेर्ने ज्योति बन्न सक्छ ।
(लेखक अनेरास्ववियुका केन्द्रीय कमिटी उपाध्यक्ष हुनुहुन्छ)

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

NGL3fS http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

gofdzpobj लेख्नुहुन्छ | 14 दिन अगाडी

8yihDI <a href="http://zspmijquiceh.com/">zspmijquiceh</a>, [url=http://tjrmaiiiwwlr.com/]tjrmaiiiwwlr[/url], [link=http://ydqchnhoudyv.com/]ydqchnhoudyv[/link], http://hbcemghbsopw.com/

To Top