समाचार / बिचार

वाम एकतालाई किन विवादास्पद वनाइदै छ ? 

असोज २९ २०७४     .
D.r.ghimire

डी.आर.घिमिरे
अबको नेपालको राजनीतिमा वामपन्थीहरूबीचको एकता नटुटोस्, कांग्रेसले शुभकामना दिनुपर्छ ।  ( होमनाथ दाहाल, अन्नपूर्णपोष्ट, असोज २३) तर, दाहालले यो भनेको दोश्रो दिन सोही अखवारमा रामचन्द्र पौडेलले २१ असौजमा चिनिया राजदूत यु होङलाई वोलाएर किन वाम एकतामा भूमिका खेलेको भनी प्रश्न गरेको कुरा सार्वजनिक गरेका छन् । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा पनि चिनिया राजदूतसंग कुरा गर्न आतुर रहेको तर, कृष्ण सिटौलाले समय घर्की सकेको वताएपछि र प्रचण्ड फिर्ता नहुने आशय ब्यक्त गरेपछि चूप लागेको प्रसंग पनि २४ असोजको अन्नपूर्णपोष्टले उल्लेख गरेको छ । 
उता बाबुराम भट्टराईसमेत वाम एकतामा सहभागि भएका कारण यसमा भारतको हात भएको तर्क गर्नेहरुको संख्या पनि सानो छैन । वाम विष्लेषक डा.केसीका अनुसार एमालेलाई सिध्याउनकै लागि प्रचण्ड र बाबुरामसमेतलाई मिलाइएको हो । कांग्रेस वृत्तमा पनि भारतलेनै यो सव गरेको भनेर तर्क गर्नेहरु छन् । उनीहरुका अनुसार ओलीलाई कमजोर र माधव नेपाललाई वलियो वनाउनका लागि भारतले मिलाइदिएको हो रे । यो नै हो भने पनि कांग्रेसहरु त खुशी हुनुपर्ने हैन र ? किनकि एमाले कमजोर हुदा वलियो हुने त कांग्रेसनै हो । 
एकजना राजनीतिशास्त्रीले गैरकम्युनिस्टहरुलाई सचेत् पार्दै भने—‘यो गठबन्धनले दुई–तिहाइ बहुमतको विजय हासिल र्गयो भने नेपाली राज्यसत्ताको कम्युनिस्टकरणको सम्भावनालाई पनि उपेक्षा गर्न मिल्दैन । यो कुरा कम्युनिस्टहरूका लागि उत्साहजनक होला तर लोकतन्त्रवादी गैरकम्युनिस्टका लागि भने जोखिमपूर्ण ठहरिन सक्छ” । (प्रा. कृष्ण खनाल, कान्तिपुर,असोज २२)  । खनाल जस्ता वौद्घिक ब्यक्तिहरुसमेतले यसरी तथ्यलाई तोडमोड गरेर कम्युनिस्टकरण गर्ने अफवाह फैलाउनु निश्चयनै चिन्ताको विषय हो । उनैले सोही लेखमा भनेका छन्— सिद्धान्ततः नयाँ शक्ति कम्युनिस्ट पार्टी होइन । यदि होइन भने किन चिन्ता ? झन् खुशी हुनुपर्ने हैन र ? गैर कम्युनिष्टसमेत सहभागी भएपछि कसरी कम्युनिष्टकरण हुन्छ ? 
नेकपा एमालेको वहुदलीय जनवादलाई अलिकता पनि वुझ्ने प्रयास गर्ने हो भने यस्ता वाहियात कुराको टेको समाएर अनुचित रोदन गनुृपर्ने आवश्यकतानै पर्ने थिएन । ‘ माक्र्सवाद एउटा जडसूत्र होइन भन्दाभन्दै पनि त्यसलाई जडसूत्रका रूपमा अपनाउने र असफल सिद्धान्तहरूलाई सिद्धान्तनिष्ठताको नाममा अवलम्बन गर्ने गरियो । ..........मलाई लाग्छ– हरेक चिज परिवर्तनशील छ, कम्युनिस्ट आन्दोलन पनि परिवर्तनशील छ । गैरकम्युनिस्ट विचारहरू पनि एउटै ठाउँमा रहन सकेका छैनन्, परिवर्तनशील छन् । जहाँ–जहाँ मौलिकढङ्गले आफ्नो परिस्थिति, समय, समाज र सम्भाव्यतालाई ध्यानमा राखेर कम्युनिस्टहरू अघि बढे, ती सफल भए । त्यसो गर्न नसक्नेहरू असफल भए ।”( के.पी. ओली, नेकपा एमालेको मुखपत्र ‘नवयुग’ले २०७१ कात्तिक २२ गते एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा चलाएको एउटा राउन्ड टेबलमा ब्यक्त विचार ) । मौलिकढङ्गको कुरा भनेकै कम्युनिण्टहरुको लोकतान्त्रिकरणको विषय हो । मदनभण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवादको सारसंक्षेप भनेकै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिीकरण गर्ने हो । 
माओवादीले २१ औं शताब्दीको जनवाद भनेर लोकतान्त्रिकरणलाइनै प्रश्रय दिन खोजेको छ । चुनाववाट श्रेष्ठता प्राप्त गर्ने र वहुमतको आधारमा सत्ता सञ्चालन गर्ने, वाक तथा प्रकाशन स्वतन्त्रताको ग्यारेण्टी , मानव अधिकारको सम्मान, स्वतन्त्र न्यायपालिका जस्ता आधारभूत विषय प्रति असहमत हुन सकिन्न भन्ने कुराले कम्युनिस्टकरण हुन्छ भने त्यो गर्नैपर्छ । नेपाली कांग्रेससँगको सहकार्य तोडेर वामपन्थीहरु बीच भएको एकताले दिल्लीमा भएको बाह्रबुँदे सम्झौता समाप्त भएको निष्कर्ष दाहलको छ । कांग्रेसले हिजो एमालेसंग एकता गर्न हुने । आफैले भन्ने गरेको एमाले भन्दा वढ्ता क्रान्तिकारी शक्ति माओवादीसंग पनि कांग्रेसले सहकार्य गर्न हुने अनि एमालेले गर्न नहुने ? यस्तो कुतर्क पनि हुन सक्छ  ? आश्चर्य के छ भने एमालेले कम्युनिष्ट सिद्घान्त छोडेर हिड्यो भन्नेहरुनै अहिले एमालेलाई सच्चा कम्युनिष्ट भनेर धारे हात लगाइरहेका छन् । वाम गठवन्धनले दुई तिहाई मत ल्याएर संविधान संसोधन गरि संविधानको मूलभूत चरित्र संसदीय प्रणाली हटाएर प्रत्यक्ष निर्र्वािचत कार्यकारी प्रमुख र सम्पूर्ण निर्वाचन समानुपातिक प्रणालीमा लैजाने कुप्रचार पनि गरेका छन् । भर्खरै हैन, संविधान संसोधन जरुरी छैन भनेर संसोधनलाई रोक्ने काममा एमालेले सफलता प्राप्त गरेको । वरु कांग्रेस माओवादी संसोधनको पक्षमा थिए । यति छिटै यस्तो हावादारी कुरा गरेर दिनलाईनै रात पार्न खोज्नेको निहितार्थ के होला ? यतिवेला समाजवाद भन्ने शब्दसंग पनि कांग्रेस तर्सेको छ । संविधानमा भएको समाजवादको उल्लेखनै नगर्ने हो भने यो संविधानको स्वामित्व किन र कसरी लिने ?
वाम एकताको दिन ब्यक्त विचारलाई दाहालले ब्याख्या गर्दै भनेका छन्—‘बडी ल्याङवेज’ ले भनिरहेको थियो नेपालमा पनि फिलिपिन्सका राष्ट्रपति दुटेर्टेजस्तै व्यक्ति चाहियो । दुटेर्टे राष्ट्रपति हुनासाथ लागूपदार्थ सेवन गरेको अभियोगमा पक्राउ पर्नेहरूलाई सीधै गोली हान्ने अधिकार प्रहरीलाई दिएका थिए । ‘बडी ल्याङवेज’को भाषा उनले कसरी वुझे र यस्तो अर्थ लगाए होलान् ? के उनी ज्योतिष हुन् ?
 प्रा.कृष्ण खनालका अनुसार वाम एकताले नेपालस्थित अन्तर्र्रािष्ट्रय समुदाय पनि चकित भएका छन् । के यो चकित हुनपर्ने विषय हो र ? सोही लेखको अर्को ठाउमा उनैले लेखेका छन्— विकल्पमा अर्को कम्युनिस्ट पार्टीचाहिं रहँदैन भन्ने कुरा होइन । वैद्य र विप्लव समूह छँदै छन् । चर्को कम्युनिस्ट कुरा गर्ने र असहमतहरूका लागि यो अरू धारिलो प्लेटर्फम साबित हुन पनि सक्छ । त्यसो हो भने चर्को कुरा गर्नेका विरुद्घ नरम कुरा गर्ने र चर्काहरुले संसोधनवादी भन्नेको एकतावाट किन तर्सन्छन् स्वघोषित लोकतन्त्रवादीहरु ?  वरु खतरा के हो भने तिनै वैद्य र विप्लव समूहलाई  भोलि कांग्रेसले मलजल गरेर हुर्काउने काम गर्न सक्छ । आखिर हिजो भारतले माओवादीलाई मलजल गरेकै हो । एमाले विरुद्व माओवादीलाई कांग्रेसले प्रयोग गरेकै हो भने त्यो सम्भावना अझै पनि छ । एउटा न एउटा हतियारधारी कम्युनिष्ट शक्ति वनाएर वामपन्थीहरुको वदनाम गर्ने काममा कांग्रेस नलाग्ने हो भने उसको स्थान असुरक्षित हुन्छ । त्यसैले एमालेलाई जवरजस्त हिंसामा विश्वास गर्ने कम्युनिष्ट वनाइरहन चाहन्छ कांग्रेस ।
कांग्रेसको वैठकमा वाम एकतालाई वदनाम गर्ने रणनीति वनेछ । वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिनेसम्मको चलखेलका रूपमा जनमानसमा लैजान भनेर वैठक डाकिन्छ र यो कुरालाई उनीहरु सार्वजनिक गर्दछन् । यसको अर्थ के हुन्छ ? वदनाम गर्ने भन्नुको अर्थ अफवाह फैलाउनु हो ।  अफवाह भनेको नभएको हल्ला गर्नु हो । यसको अर्थ उनीहरु स्वयम्लाई पनि अहिलेका वामहरुले कम्युनिष्ट सत्ता सञ्चालन गर्छन् भन्ने कुरामा विश्वास छैन । आफैलाई विश्वास नभएको काम किन गर्दैछन् कांग्रेसहरु ? यो अहिलेको ज्वलन्त प्रश्न हो ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल ‘यो गठबन्धन चुनाव लड्नका लागि मात्रै बनेको हो भन्नेमा कांग्रेस विश्वास गर्दैन’ भन्छन् । यो भनिरहन केन्द्रीय सदस्य हुन पर्दैन । यो कुरा त स्वयम् ओली र प्रचण्डलेनै भनेका छन् । यद्यपि यो त्यति सहज छैन । यसका लागि धेरै कशरत गर्नुपर्ने छ र यसवारेमा शायद कांग्रेसहरुले चिन्ता लिन पनि पर्दैन ।
यसवाट के थाहा हुन्छ भने वामपन्थीहरु वीचको एकताले धेरैको निंद्रा हराम भएको छ । वामहरुको स्थायी सरकार वन्ला र हामी सत्तावाट वञ्चित हुनुपर्ला भनेर वदनाम गर्ने काम भएको छ । विदेशी शक्ति खासमा भारत चीनको प्रभाव वढ्ला भनेर चिन्तित छ । भारतबाट निस्कने ‘समकालीन तीसरी दुनियाँ’का सम्पादक आनन्दस्वरुप वर्माको विष्लेषण भने फरक छ ।  उनले लेखेका छन्—भारतीय शासक वर्गको ‘चिन्ता’ नेपाल चीनसँग नजिकिन्छ भन्नेमात्र होइन, कतै त्यो देश आर्थिक दृष्टिबाट आत्मनिर्भर पो भइहाल्छ कि भन्नेमा बढी ‘चिन्ता’ हो । (कान्तिपुर २०७४ आश्विन २३) । वास्तवमा यी दुई पार्टीको एकताको चर्चा चलेपछि र चुनावी एकता हुने भएपछि भारतको विदेश मन्त्रालय र ‘रअ’का अधिकारीहरूको दौडधुप ब्यापक भयो  । यस अर्थमा वाम एकताले तहल्कानै मच्चाएको छ । उनीहरुले मुखले जे भनेपनि खासमा चुनावमा पराजित भइन्छ कि भन्नेनै कुरा हो । 
विगतको नाकावन्दीको समयमा ओलीले लिएको अडानवाट भारत तर्सेको छ । त्यही अडानका कारण ओलीको उचाई वढेको छ र उनीप्रति नेपाली जनताको भरोसा वढेको छ । जसलाई घटाउने पक्षमा भारत छ भन्ने कुरा सवैले वुझेका छन् । यस अवस्थामा भएको तालमेलले वामपन्थीहरुको स्थायी सरकार वन्ला भन्ने चिन्तावाट ग्रस्त छ भारत शायद । निश्चयनै आफू अनुकुल सरकार वनेमा भारतको त्यति टाउको दुखाई हुदैन । वरु आनन्दस्वरुप वर्माले भनेजस्तै कतै नेपाल आर्थिक दृष्टिबाट आत्मनिर्भर पो भइहाल्छ कि भन्ने हुन सक्छ । यस्तो हुदा भारतलाई किन पनि टाउको दुख्छ भने आत्मनिर्भर हुने देशले भोलि भनेको वेलामा आफू अनुकुल काम गर्दैन । जसका कारण नेपालको अथाह प्राकृतिक श्रोत साधनको प्रयोगमा प्रतिकूलता थपिन्छ । जहांसम्म कांग्रेसको कुरा हो ऊ केवल चुनावको परिणामले तर्सेको छ ।  


 

0 प्रतिकृयाहरू प्राप्त

To Top