समाचार / बिचार

वर्तमान राजनैतिक आवश्यकता र चुनावी तालमेलबीचको अन्तरसम्बन्ध

कार्तिक ८ २०७४     .
Mohan bikram sinha

मोहनविक्रम सिंह

देशको विभिन्न राजनैतिक अवस्थामा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेल समेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ । अहिलेको तालमेलको प्रधान पक्ष राजनैतिक हो । अहिलेको देशको विशिष्ट प्रकारको राजनैतिक स्थितिमा नै त्यस प्रकारको चुनावी तालमेल हुन गएको छ । तर हामीले के बुझ्नु पर्दछ भने चुनाव वा चुनावी तालमेल हाम्रा प्रधान पक्षहरू होइनन् । अहिलेको प्रधान पक्ष्ँ जनआन्दोलन नै हो । चुनाव त्यसको एउटा अङ्ग मात्र हो । हामीले कुनै बेला चुनावको बहिष्कार गरी रहेका हुन्छौँ भने कुनै बेला त्यसको उपयोग गर्ने गर्दछौँ । तर चुनावप्रति बहिष्कार वा उपयोगको जुन नीति अपनाए पनि हाम्रो मुख्य जोड जनआन्दोलनलाई अगाडि बढाउने नै हुन्छ । जनआन्दोलनको उद्देश्य पुनः नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति, आधार वा जनमत तयार पार्नु हुन्छ ।
गत कालमा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने गरेका छौँ । त्यस प्रकारको नीति खालि चुनावी सन्दर्भमा मात्र अपनाउने गरिएको छैन । तत्कालीन राजा महेन्द्रले कोदारी राजमार्गको निर्माण गर्दा भारतीय विस्तारवाद वा भारतपरस्त तत्वहरूबाट त्यसको व्यापक विरोध गरिएको थियो । तर राजाले गर्न थालेको काम भए पनि हामीले कोदारी राजमार्ग र पूर्व–पश्चिम राजमार्गहरूको दृढतापूर्वक समर्थन गरेका थियौँ । त्यो हाम्रो एक प्रकारले तत्कालीन राजासित तालमेलको नीति नै थियो ।पछि महाकाली सन्धिको विरोधमा हामीले राप्रपासित कार्यगत एकता गरेका थियौँ । २०४६ साल वा २०६२–६३ को आन्दोलनको बेलामा हामीले नेपाली काङ्ग्रेससित तालमेल गरेका थियौँ । संविधान निर्माणको क्रममा ने.का. ले पनि भारतीय दबाबका विरुद्ध अडान लिएका कारणले त्यसको त्यो नीतिलाई हामीले समर्थन गरेका थियौँ । माओवादी वा एमालेसित पनि हाम्रो सङ्घर्ष वा कार्यगत एकता र तालमेलको पनि लामो इतिहास वा पृष्ठभूमि रहेको छ ।
अहिलेको चुनावको सन्दर्भमा हामीले बागलुङ र प्युठानमा उनीहरूसित चुनावी तालमेल गरेका छौँ । तर यो उनीहरूसितको हाम्रँे अन्तरसङ्घर्ष वा अन्तरसम्बन्धको लामो सिलसिलाको एउटा तात्कालिक कडी मात्र हो । उदाहरणका लागि एमालेसितको हाम्रँे अन्तरसङ्घर्ष वा अन्तर्विरोधको सिलसिलालाई नै हेरौँ । एमाले सरकारमा भएका बेलामा वा नभएका बेलामा पनि त्यससित हाम्रँे त्यस प्रकारको अन्तरसङ्घर्ष वा अन्तरसम्बन्धको नीति रहने गरेको छ । एमालेले संविधान निर्माणको क्रममा खेलेको भूमिकालाई हामीले समर्थन गरेका थियौँ र प्रधानमन्त्रीको चुनावमा हामीले केपी शर्मा ओलीलाई समर्थन पनि गरेका थियौँ । तर उनले प्रथम संविधान संशोधन विधेयकलाई संसदद्वारा पारित गराउन गरेको प्रयत्नको हामीले विरोध गरेका थियौँ । त्यो बेला कामरेड चित्र बहादुर केसी स्वयं सरकारको उपप्रधानमन्त्री हुनु हुन्थ्यो । कामरेड केसी सहित हाम्रा अन्य दुई सांसदहरू कामरेड दुर्गा पौडेल र कामरेड मीना पुनले समेत संविधान संशोधन विधेयकका विरुद्ध मतदान गर्नु भएको थियो । त्यसरी उहाँहरूले नेपालको संसदीय इतिहासमा नै एउटा महत्वपूर्ण पाना जोडनु भएको थियो । स्वयं सरकारमा भएर सरकारी विधेयकको विरोध सामान्य कुरा थिएन ।
एमाले सरकारबाट हटी सकेपछि दोस्रो संविधान संशोधन विधेयकका विरुद्ध एमाले समेतसित मिलेर लगातार सङ्घर्ष गर्ने नीति अपनाइएको थियो । विपक्षमा भएका राजनैतिक शक्तिहरूबीचको एकताका आधारमा नै सरकारले संसदमा पेस गरेको दोस्रो संविधान संशोधन विधेयक अस्वीकृत पनि भएको थियो । त्यसरी देशलाई एउटा ठुलो राष्ट्रघाती खतराबाट बचाउन सम्भव भएको थियो ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारबाट हटेर नेपाली काङ्ग्रेस सहितको गठबन्धन सरकार निर्माण गर्न जुन मद्दत पुर्‍याएको थियो, हामीले त्यसको विरोध गर्‍यौँ र त्यो कदमबारे पुनर्विचार गर्न माओवादी केन्द्रलाई बारम्बार सुझाव दिएका थियौँ । अन्तमा माओवादी केन्द्रले नेपाली काङ्ग्रेससँगको गठबन्धनको ठाउँमा प्रतिपक्षसँग गठबन्धन गर्ने निर्णय गर्‍यो । यसरी सरकारमा भएको पार्टीद्वारा प्रतिपक्षसित गरिएको त्यो गठबन्धन सामान्य कुरा होइन । त्यस प्रकारको क्रमभङ्गता एउटा साहसिलो कदम थियो र त्यसका लागि हामीले प्रचण्डलाई बधाइ दिएका छौँ । अहिले बनेको गठबन्धनद्वारा जस्तो कि दावी गरिएको छ, एकीकृत कम्युनिस्ट पार्टीको निर्माणका लागि सैद्धान्तिक वा सङ्गठनात्मक आधार छैन, तैपनि त्यसले नेपालको वामपन्थी आन्दोलन वा कम्युनिस्ट पार्टीको निर्माणमा केही सहयोग पुर्‍यायो भने त्यो सकारात्मक महत्वको कुरा हुने छ र त्यसका लागि हाम्रँे शुभकामना छ । त्यो कुरा जे भए पनि तात्कालिक राजनैतिक परिस्थितिमा त्यसले विशेष महत्व राख्दछ । त्यही सन्दर्भमा नै हामीले चुनावी तालमेललाई पनि हेर्नु र बुझ्नु पर्दछ ।
अहिले शेर बहादुर देउवाको नेतृत्वको सरकारद्वारा वा उनको नेतृत्वमा बन्न थालेको दक्षिणपन्थी शक्तिहरूको गठबन्धनद्वारा संविधान कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्ष्ँतामा समेत गम्भीर प्रकारको खतरा पैदा भएको छ र त्यो बढ्दै गई रहेको छ । उनीहरूको शक्तिको मुख्य स्रोत भारतीय विस्तारवाद नै हो । त्यसले उनीहरूलाई विस्तारवादी उद्देश्यहरूको पूर्तिका लागि उपयोग गरी रहेको छ र उनीहरूलाई बल दिई रहेको छ । यदि त्यो गठबन्धनले चुनावमा बहुमत वा दुई–तिहाइ बहुमत प्राप्त गर्‍यो भने देशमा कुन प्रकारको स्थितिको सिर्जना हुने छ वा त्यसका कति गम्भीर परिणामहरू हुनेछन् ? कसैले पनि त्यो कुराको अन्दाज गर्न सक्दछ । त्यो अवस्थामा चुनावमा त्यो गठबन्धनलाई पराजित गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता समेत बनेको छ ।
अहिले देशमा दुई प्रकारका गठबन्धनहरू छन् ः एउटा, माओवादी केन्द्र र अर्को नेकाको नेतृत्वमा बनेको गठबन्धन । ती दुवैलाई समान स्तरमा राखेर हेर्नु वा एउटालाई अर्काको विकल्पको रूपमा हेर्नु निश्चित रूपले गलत हुने छ । कुन गठबन्धनसित मिल्दा चुनावमा हामीलाई कति फाइदा हुन्छ ? चिजलाई त्यसरी मात्र हेर्नु सही राजनैतिक सोचाइ होइन । कुन गठबन्धनको जित वा हारबाट देशलाई कति राजनैतिक लाभ वा क्षति पुग्दछ ? हामीले चिजलाई मुख्य रूपले त्यो दिशाबाट नै हेर्नु पर्दछ र त्यस अनुसार नै चुनावसम्बन्धी आफ्नो नीति निश्चित गर्नु पर्दछ । यो कुरा सत्य हो कि माओवादी केन्द्र वा एमालेसित गत कालमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू थिए, अहिले पनि छन् र भविष्यमा पनि रहने छन् । तर कुनै पक्षसित कार्यगत एकता वा तालमेलको नीति अपनाउँदा कुन पक्ष्ँसित हाम्रँ कति मतभेदहरू छन् भन्ने आधारमा होइन, देशको आवश्यकता के हो ? त्यसका आधारमा नै हामीले कुनै पक्षसित कार्यगत एकता वा तालमेलका नीतिहरू निश्चित गर्ने गर्दछौँ । गत कालमा त्यस प्रकारको दृष्टिकोणका आधारमा नै हामीले एमाले र माओवादी केन्द्र मात्र होइन, राजा, नेपाली काङ्ग्रेस वा मधेशवादीहरूप्रतिका नीतिहरू पनि निश्चित गर्ने गरेका थियौँ । त्यस अर्थमा हाम्रँे पार्टीको कार्यशैली देशका अन्य सबै राजनैतिक शक्तिहरूकोभन्दा बेग्लै, विशिष्ट र उच्च छ । हामीले कहिले पनि कुनै राजनैतिक शक्तिप्रति पूर्वाग्रह राखेर नीति निश्चित गर्दैनौँ । तर देशको वस्तुस्थिति वा राजनैतिक आवश्यकताहरूमाथि ध्यान दिएर नै आफ्ना नीतिहरू निश्चित गर्ने गर्दछौँ । त्यही अर्थमा हाम्रँे पार्टीको कार्यशैली अन्य सबै राजनैतिक शक्तिहरूकोभन्दा बेग्लै विशिष्ट र उच्च पनि छ ।
अहिले चुनावमा एमाले र माओवादी केन्द्रसित बागलुङ र प्युठानमा गरिएको चुनावी तालमेलबारे तीन वटा प्रश्नहरू व्यापक रूपले उठाएको पाइन्छ । प्रथम, नेपाली काङ्ग्रेससितको तालमेललाई किन अस्वीकार गरियो ? द्वितीय, बागलुङको संसदीय सिटलाई किन छाडियो ? तृतीय, दुर्गा पौडेललाई किन प्युठानमा उम्मेदवार बनाइयो ? जहाँसम्म नेकासितको चुनावी तालमेललाई किन अस्वीकार गरियो भन्ने प्रश्नको सम्बन्ध छ, त्यो प्रश्नको जबाफमाथि नै गई सकेको छ । अहिलेको देशको विशिष्ट अवस्थामा, खास गरेर नेका नेतृत्वको गठबन्धनद्वारा संविधान, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर खतरा पैदा भएको अवस्थामा नेकासित चुनावी तालमेल गर्नु राष्ट्रघाती र गम्भीर प्रकारको अदूरदर्शितापूर्ण कार्य हुन्थ्यो । त्यसैले हामीले दृढतापूर्वक काङ्ग्रेससितको चुनावी तालमेललाई अस्वीकार गर्नु परेको हो ।
चुनावमा कुनै शक्तिसित कति तालमेल हुन्छ र कहाँ तालमेल हुन्छ ? त्यो कुरालाई कुनै पक्षको सङ्गठनात्मक स्थितिले पनि गम्भीर प्रकारले निर्धारित गर्दछ । यो कुनै लुकेको कुरा होइन कि देशका धेरै भागहरूमा हाम्रँे सङ्गठनात्मक स्थिति वा जनाधार धेरै कमजोर छ । ती स्थानहरूमा चुनाव जित्ने सम्भावना नभए तापनि राजनैतिक प्रचार, सङ्गठनको विस्तार वा जनाधारको निर्माणका दृष्टिकोणले नै हामीले चुनावमा भाग लिने निर्णय गरेका छौँ । तर जहाँसम्म बागलुङ र प्युठानको सम्बन्ध छ, त्यहाँ जित्नका लागि पनि चुनावमा भाग लिने हाम्रँे नीति रहेको थियो र अहिले पनि छ । तर वास्तविकता यो हो कि ती दुई जिल्लाहरूमा एमाले र माओवादी केन्द्रले विगत २०७० को संविधान सभा चुनाव र गत स्थानीय निर्वाचनमा समेत प्राप्त गरेको मत हामीले प्राप्त गरेको मतभन्दा बढी छ । त्यो अवस्थामा ती दुई जिल्लाहरूमध्ये कुनैमा पनि एक्लै चुनाव लडेर जित हासिल गर्ने सम्भावना धेरै नै कम थियो । त्यसले गर्दा या त चुनावमा विजयको कुरालाई गौण बनाएर हामीले देशका अन्य भागहरूमा जस्तै खालि प्रचारात्मक उद्देश्यले मात्र त्यहाँ पनि चुनावमा भाग लिनु पर्दथ्यो वा अर्को पक्षसित तालमेलको नीति अपनाउनु पर्दथ्यो । चुनावमा तालमेल गर्दा एकातिर, कुनै पक्षको सङ्गठनात्मक दृष्टिले पनि काफी हदसम्म असर पार्दछ भने अर्कातिर, तालमेल सधै एकतर्फी रूपमा आफ्नो सर्तमा मात्र हुँदैन । त्यो कुराको अन्तिम निर्णय दुई पक्षका बीचमा कायम हुने समझदारीका आधारमा नै हुन्छ । प्युठान र बागलुङबारे विचार गर्दा प्युठानमा एउटा संसदीय र प्रादेशिक सिट तथा बागलुङमा एउटा संसदीय र एउटा प्रादेशिक सिट प्राप्त हुनु पर्छ भन्ने कुरामा हाम्रो जोड थियो । तर त्यसमा दुवै पक्ष्ँको सहमति हुन सकेन । त्यो अवस्थामा हाम्रँ अगाडि खालि एउटा मात्र विकल्प बाँकी रहेको थियो ः या त कुनै तालमेल नगरिकन एक्लै चुनाव लड्ने या सीमित रूपमा भए पनि केही उपलब्धि सुनिश्चित गर्न तालमेल गर्ने । प्रथम अवस्थामा देशमा कही पनि चुनाव जित्ने सम्भावना रहँदैनथ्यो । दोस्रो अवस्थामा त्यस प्रकारको केही सम्भावना रहन्थ्यो । त्यसको अर्थ चुनावमा हाम्रँे जित सुनिश्चित नै हुन्छ भन्ने होइन । किनभने एमाले र माओवादी केन्द्रसित तालमेल गरी सकेपछि पनि नेकासित कडा प्रतिस्पर्धा गर्नु पर्ने आवश्यकता बाँकी नै रहन्छ । अर्कातिर, चुनावी तालमेलबाट असन्तुष्ट एमाले, माओवादी केन्द्रका कतिपय पक्षहरूबाट अन्तरघातको सम्भावना रहन्छ, तैपनि चुनावी तालमेलबाट हामीलाई बढी फाइदा पुग्ने कुरा निश्चित छ ।
हामीले बागलुङ र प्युठान दुवै जिल्लाहरूमा हाम्रँ सर्तहरूमा चुनावी तालमेल हुन नसकेपछि हामीलाई कतै वा कतै केही छाड्नु पर्ने बाध्यता थियो र त्यही अवस्थामा हामीले प्युठानको केन्द्र लिएर प्रदेशको कुनै सिट नलिने तथा बागलुङमा केन्द्र छाडेर प्रदेशका दुई सिटहरू लिने सहमति गर्‍यो । आखिर हामीले कतै न कतै केही छाड्नु पर्ने बाध्यता थियो र त्यही अवस्थामा नै हामीले त्यस प्रकारको निर्णय गरेका हौँ । त्यस प्रकारको निर्णयलाई बागलुङका विरुद्ध प्युठान र प्युठानका विरुद्ध बागलुङका रूपमा बुझ्नु वा प्रस्तुत गर्नु सही हुने छैन । विभिन्न समयमा पार्टी वा जनवर्गीय सङ्गठनहरूमा यस्ता अवस्थाहरू उत्पन्न हुन्छन्, जब हामीले व्यक्तिहरूका बीचमा चुनाव गर्नु पर्ने आवश्यकता हुन्छ । कुनै कमिटी वा पदबारे चुनाव गरेर एउटालाई चुन्नु पर्ने आवश्यकता हुन्छ । त्यसो गर्दा नचुनिएका सबै व्यक्तिहरूप्रति भेदभाव गरेको निष्कर्ष निकाल्नु सही हुन्न । त्यही प्रकारले बागलुङ र प्युठानका सन्दर्भमा पनि अनावश्यक रूपले विवाद उठाउनु सही हुन्न । यदि हाम्रो सङ्गठनात्मक स्थिति धेरै बलियो भएको भए हामीले बागलुङ र प्युठान मात्र होइन देशका अरू पनि धेरै स्थानहरूमा दावी गर्न सक्थ्यौँ । दश, बीस वा पचास स्थानमा पनि दावी गर्न सक्दथ्यौँ वा चुनाव लडेर त्यति स्थानहरूमा विजय प्राप्त गर्न सक्दथ्यौँ । तर हाम्रँे कमजोर अवस्थाका कारणले हामीले दुई जिल्लाहरूमा केन्द्रको दावी गरेको भए पनि एउटा छाड्नु पर्‍यो ।
दुर्गा पौडेललाई चुनावमा किन उठाइयो ? त्यो विवाद अनावश्यक छ । उनलाई चुनावमा उठाउने कार्यको विरोध दुई वटा कारणले हुन सक्दछ ः प्रथम, उनीसित मेरो पति–पत्नीको नाता भएकाले, द्वितीय, उनको कुनै राजनैतिक पृष्ठभूमि वा सङ्गठन या आन्दोलनमा कुनै योगदान नभएकाले । मसितको नाताका कारणले उनी पार्टीको कुनै काम, पद वा कुनै प्रकारको उम्मेदवारीका लागि अयोग्य हुन्छिन् भन्न मिल्दैन । यसभन्दा पहिले पनि उनलाई पार्टीले कतिपय जिम्मेवारी दिएको छ, पार्टीको उपाध्यक्ष बनेकी छन् वा सांसद पनि बनेकी थिइन् । त्यो अवस्थामा उनी अहिले चुनावमा उम्मेदवार बनेको कुरामा विवाद उठाउनुका पछाडि कुनै आधार देखिन्न । निश्चय नै उनी पार्टीको सङ्गठन वा आन्दोलनमा नलागेको भए उनीबारे कुनै विवाद नै उठ्ने थिएन । त्यसो भए उनी पार्टीमा वा आन्दोलनमा नलाग्नु नै सही हुन्थ्यो ? वास्तवमा उनी सांसद नभएको अवस्थामा पनि लगातार सङ्गठन वा आन्दोलनमा सक्रिय हुँदै आएकी छिन । उनलाई उम्मेदवार बनाउने कार्य पनि पार्टीको निश्चित प्रक्रिया अनुसार नै गरिएको छ र मसितको उनको सम्बन्धको आधारमा मात्र उनलाई उम्मेदवार दिइएको होइन । यससित सम्बन्धित अर्को प्रश्नबारे पनि केही विचार गरौँ । उनी गत तीन दशकदेखि लगातार सङ्गठन वा आन्दोलनमा सक्रिय हुँदै आएकी छिन् । सांसद भएको अवस्थामा मात्र वा प्युठानमा सांसदको उम्मेदवार बन्ने अवसर आएको बेलामा मात्र होइन, पार्टीको भूमिगत अवस्था वा सामान्य अवस्थामा पनि पार्टीले उनलाई दिएका जिम्मेवारीहरू पुरा गर्ने उनको लगातार प्रयत्न हुँदै आएको छ । त्यस प्रकारको पृष्ठभूमिमा नै पार्टीले उनलाई प्युठानको उम्मेदवार बनाएको हो । अहिलेको संसदीय चुनावमा उनको उम्मेदवारीले विशेष अर्थ र महत्व राख्दछ । अहिलेको चुनावमा राष्ट्रिय जनमोर्चाले विजय प्राप्त गर्ने सम्भावना भएको जिल्ला भनेको प्युठान नै हो । अन्यत्र त्यस प्रकारको सम्भावना अत्यन्त कम छ भन्न सकिन्छ । त्यो अर्थमा हाम्रँे विजय भएन भने केन्द्रीय संसदमा हाम्रो कुनै प्रतिनिधि हुने छैन । त्यसैले उनको जीत र हारको प्रश्न उनको व्यक्तिगत प्रश्न भएको छैन । त्यो प्रश्न हाम्रँे पार्टीको सम्पूर्ण प्रतिष्ठाको विषय भएको छ । त्यो अवस्थामा उनलाई चुनावमा विजयी बनाउन सम्पूर्ण पार्टीको प्रतिष्ठासँग जोडिएको छ । त्यस कारण उनलाई विजय बनाउनका लागि देशभरका पार्टी सदस्य वा हाम्रा मतदाताहरूको जिम्मेवारी बन्न जान्छ । जहाँसम्म प्रदेश स्तरका चुनावहरूको प्रश्न छ, बागलुङमा प्रदेश सभाका दुई सिटहरूमा विजयको सम्भावना छ भने समानुपातिकतर्फ पनि कैयौँ प्रदेशहरूमा हाम्रँे विजयको सम्भावना छ । ती सबै स्थानहरूमा पार्टीलाई विजयी बनाउनका लागि हामीले योजनाबद्ध र सङ्गठित प्रकारले प्रयत्न गर्नु पर्दछ । ती स्थानहरूमा हाम्रो पराजयको अर्थ काङ्गे्रसको विजय हुने छ । प्युठानमा संसदको सिटमा दुर्गालाई विजयी बनाउन मात्र होइन, प्रादेशिक चुनावमा हामीले समर्थन गरेका एमाले वा माओवादी केन्द्रका उम्मेदवारहरूलाई जिताउन पनि हामीले इमान्दारीतापूर्वक प्रयत्न गर्नु पर्छ । बागलुङमा पनि हामीले हाम्रा उम्मेदवारहरूलाई मात्र होइन, हामीले समर्थन गरेका एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई जिताउनका लागि पनि पुरा प्रयत्न गर्नु पर्दछ । प्युठान वा बागलुङमा हाम्रा वा हामीले समर्थन गरेका उम्मेदवारहरूको पराजयको अर्थ नेपाली काङ्गे्रसका उम्मेदवारहरूको विजय हुने छ र त्यसबाट राजनैतिक रूपले धेरै क्षति पुग्ने छ ।
हामीले बागलुङ र प्युठानमा एमाले र माओवादी केन्द्रसित तालमेल गरेका छौँ । त्यो बाहेक अन्य जिल्लाहरूमा पनि आवश्यकता अनुसार एउटाको समर्थनबाट अर्कोलाई प्रभाव पर्ने वा मद्दत पुग्ने सम्भावना भएका जिल्लाहरूमा पनि सम्भव भएसम्म तालमेल गर्ने समझदारी बनेको छ । निश्चय नै त्यो कुरा दुवै पक्षहरूको कार्यकुशलता र दूरदर्शितामाथि निर्भर गर्ने छ । हाम्रो स्पष्ट विचार छ कि हामीले आपसमा सही र सन्तुलित समझदारी बनाउन नसक्दा विरोधीहरूलाई, स्पष्ट शब्दमा भन्ने हो भने नेका वा त्यसको नेतृत्वमा बन्ने गठबन्धनलाई मद्दत नपुगोस् भन्नका लागि हामीले बुद्धि पुर्‍याउनु पर्दछ । अहिले अत्यन्त कडा प्रतिस्पर्धाको अवस्थामा त्यो बाहेक त्यसले सत्ताको ठुलो पैमानामा दुरूपयोग गर्ने, आचार संहिताको उल्लङ्घन गर्ने वा विदेशी शक्तिहरू पनि उनीहरूलाई मद्दत गर्ने अवस्थामा केन्द्र वा प्रदेशमा एक दुई सिटको अन्तरले पनि कसको सरकार बन्ने छ ? त्यो कुराको फैसला गर्ने छ । त्यो प्रश्नमा खालि कसको सरकार बन्ने छ भन्ने कुरासम्म मात्र सीमित छैन । त्यसले देशको राजनैतिक भविष्यमा नै गम्भीर प्रकारको अन्तर ल्याउन सक्छ । देउवाले चुनावमा दुई–तिहाइ बहुमत ल्याएर दोस्रो संविधान संशोधन विधेयकलाई पारित गर्ने धम्की दिई रहेका छन् । राजावादीहरूले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने दिशामा लगातार काम गरी रहेका छन् । ने.का.भित्र पनि त्यस प्रकारको कट्टरपन्थी र राजावादी सोचाइ राख्ने मानिसहरूको ठुलो सङ्ख्या छ । मधेशवादीहरूले तराईलाई नेपालबाट छुट्टाउन र राष्ट्रिय विखण्डनका लागि योजनाबद्ध प्रकारले काम गरी रहेका छन् । नेपाली काङ्ग्रेसको नेतृत्वमा त्यस प्रकारका सबै तत्वहरूको गठबन्धन बनेको छ र त्यसलाई भारतीय विस्तारवादको पुरा समर्थन छ । त्यो अर्थमा त्यो गठबन्धनको विजय कति घातक हुने छ ? त्यो कुराको सजिलैसित अन्दाज गर्न सकिन्छ । त्यस प्रकारको परिणामलाई रोक्नका लागि अहिलेको चुनावले निर्णयात्मक महत्व राख्दछ । त्यस अर्थमा नै अहिलेको चुनाव वा तालमेललाई सफल पार्न हामीले पुरा प्रयत्न गर्नु पर्दछ । त्यसरी नै अहिलेको चुनावलाई सफल पार्ने हाम्रँे प्रयत्न हुनुपर्दछ ।
माथि जे भनियो, त्यसको अर्थ अहिलेको व्यवस्था, संविधान, सङ्घीयता वा अहिले हाम्रो तालमेल भएका राजनैतिक शक्तिहरूसित हाम्रो मतभेद छैन वा उनीहरूसित विरोध वा सङ्घर्षको नीतिलाई हामीले त्याग गरेका छौँ भन्ने पनि होइन । तर त्यस प्रकारका मतभेद विरोध वा सङ्घर्षलाई कायम राख्दै अहिलेको चुनाव र त्यस सन्दर्भमा हामीले गरेको तालमेललाई इमान्दारिता वा दृढतापूर्वक अगाडि बढाउने हाम्रँे प्रयत्न हुनुपर्दछ ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top