समाचार / स्वास्थ्य

बुटवलमा डेेंगुको संक्रमण बढ्यो : एक सातामै १५४ मा संक्रमण

कार्तिक २१ २०७४     .
Dengue 285x185

बुटवल
केही दिनयता बुटवलमा डेेंगुको संक्रमण ह्वात्तै बढेको छ । संक्रमण बढेपछि स्वस्थ्यसँग सम्बन्धित संघसंस्थाले सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै डेंगु फैलिन नदिन विभिन्न कार्यक्रमलाई तीव्रता दिइएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक महिनामा रुपन्देहीमा साढे तीन सयजनामा डेंगुको संक्रमण भएको छ ।

चालू आर्थिक वर्षको साउनयता १५ असोजसम्ममा २५ जनामा संक्रमण भएकोमा पछिल्लो एक महिनामा साढे तीन सयमा डेंगु संक्रमण देखिएको छ । १६ असोजदेखि १८ कात्तिकसम्ममा ३ सय ५४ जनामा संक्रमण थपिएको अञ्चल अस्पतालले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि १८ कात्तिकसम्ममा रुपन्देहीमा ३ सय ७९ जनामा डेंगु संक्रमण देखिएको छ ।

रेकर्ड अधिकृत रेग्मीका अनुसार पछिल्लो एक सातामा मात्रै डेढ सय संक्रमित भएका छन् । १२ देखि १८ कात्तिकसम्ममा १ सय ५४ जनामा संक्रमण भेटिएको रेग्मीले बताए ।

७५ प्रतिशत संक्रमित बुटवलका

डेंगु लागेका बिरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगरका छन् । त्यसैले बुटवल डेंगुको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताए । अञ्चल अस्पतालका रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार बुटवलकै मात्रै २ सय ५ जनामा डेंगु फेला परेको छ । धेरैजसो तिनाउ खोलाआसपासका बस्तीमा बस्नेमा संक्रमण पाइएको उनले बताए । संक्रमण भएकामध्ये बुटवलको ११ नम्बर वडाका धेरै छन् ।

२१ दशमलव ५ प्रतिशत यसै वडाका संक्रमित रहेको र वडा नम्बर १, २, ६ वडामा पनि डेंगु संक्रमित भेटिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ३० देखि ३५ जनासम्म उपचाररत रहेको रेग्मीले जानकारी गराए । उनका अनुसार पछिल्लो एक सातामा मात्रै झन्डै डेढ सय संक्रमित भेटिएका छन् । १२ देखि १८ कात्तिकसम्ममा १ सय ४७ जनामा डेंगु संक्रमण भेटिएको रेग्मीले बताए ।

रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सबैको सहयोग र जागरुकता आवश्यक रहेको आइतबार आयोजित कार्यक्रममा जनाइएको छ । असोजदेखि सुरु भएको डेंगु संक्रमण प्रकोपको रूपमा फैलिन थालेकाले तत्काल रगत परीक्षणका लागि किटको व्यवस्थापनमा सजगता अपनाउन आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देही, बुटवल उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा आइतबार बुटवलमा आयोजित अन्तरसंवादका सहभागीले डेंगु नियन्त्रणमा जोड दिएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले डेंगुको प्रकोप नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । तर, जथाभावी फालिएका सवारी साधनका टायर व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताइन् । उनले डेंगुको समस्या सबैको साझा समस्या भएकाले अन्य संघसंस्थासँग हातेमालो गरेर उपमहानगरले काम गर्ने प्रतिबद्धता जनाइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बारेमा जनस्वास्थ्यले सचेत गराउनेलगायत कार्यक्रम गरिरहेको बताए । उनले जनस्वास्थ्य एक्लैको प्रयासले डेंगु नियन्त्रण नहुने र यसका लागि सबै तह र निकायले सहयोग आवश्यक रहेको बताए ।

0 प्रतिकृयाहरू प्राप्त

To Top