समाचार / समाज

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनी

कार्तिक २३ २०७४     .
Rail toli

लुम्बिनी, कात्तिक २३

केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको  चिनियाँ टोली  लुम्बिनी पुगेको छ।

परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो।

चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय अभावका कारण उनीहरु आधा बाटोबाट फर्किए । बुधबार टोलीले पोखरा पुगेर स्थलगत अध्ययन गरेको छ।

‘अहिले हामी लुम्बिनी आइपुगेका छौं,’ बिहीबार दिउँसो रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भने, ‘आज यहाँको अध्ययन सकेर काठमाडौं फर्किन्छौं।’

उनका अनुसार चिनियाँ टोलीले रेलमार्गका केही निश्चित स्थानको भौगोलिक र भौगर्भिक अध्ययन गरिरहेको छ।

‘उहाँहरू सकारात्मक देखिनु भएको छ, विस्तृत रिपोर्टका लागि विभागसँग पनि केही डाटा माग्नु भएको छ,’ उपाध्यायले भने, ‘हामीसँग भएको डाटा दिन्छौं उहाँहरुले पछि हामीलाई रिपोर्ट पठाइदिनु हुन्छ।’

यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो।

पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो।

चिनियाँ टोलीले पोखरा– लुम्बिनी रेलमार्ग मुग्लिन हुँदै नारायणगढबाट बनाउनेबारे अध्ययन गरेको उपाध्यायले जानकारी दिए।

‘मुग्लिनमा काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको जोड्दा सजिलो हुनसक्ने उहाँहरुको धारणा छ,’ उनले भने।

शुक्रबार टोलीले अध्ययनबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसँग छलफल गर्दैछ। सचिवसहित बिहान साढे १० बजे मन्त्रालयमा छलफल हुनेछ।

छलफल सकेर चिनियाँ टोली भोलि नै फर्कने छ।

चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्‍याउने गरी काम गरिरहेकोे छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो।

सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top