समाचार / समाज

 चिनियाँ टोलीको निष्कर्ष,काठमाडौं– पोखरा–लुम्बिनी रेल ल्याउन सकिन्छ

कार्तिक २४ २०७४     .
Chinease rail team


काठमाडौं, कात्तिक २४ 
 
चिनियाँ टोलीले स्थलगत अध्ययनपछि केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष दिएको छ । 

केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भीक रिपोर्ट उक्त टोलीले दिएको हो ।

चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले मंगलबारदेखि बिहीबारसम्म रेलमार्गको स्थलगत अध्ययन गरेको हो।

अध्ययनपछि टोलीले शुक्रबार बिहान नेपाली अधिकारीहरूसँग छलफल गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित बिहान साढे १० बजे मन्त्रालयमा दुई पक्षीय छलफल भएको थियो।

स्थलगत अध्ययन र बैठकमा सहभागी रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार झन्डै डेढ घन्टा चलेको छलफलमा चिनियाँ पक्षले दुबै रेलमार्ग बनाउन सकिने तर समस्या भने धेरै रहेको बताएको छ।

‘यसअघि रेलमार्ग बनाउन सकिन्छ कि सकिन्न भन्ने थियो उहाँहरूले दुबै रेलमार्ग बनाउन सकिने बताउनुभयो,’ उपाध्यायले भने, ‘तर धेरै भौगोलिक, प्राविधिक र व्यवस्थापकीय समस्या छन् यसलाई समाधान गर्न तपाईँहरूको ठूलो भूमिका हुन्छ भन्नुभयो।’

चिनियाँ टोलीले हिमाल छिचोलेर केरूङबाट काठमाडौं आउने रेलमार्गमा मुख्य समस्या जमिनको बनावट बताएको छ। ‘स्याप्रुवेशीदेखि केरूङसम्म जमिनको चढाइ एकदमै उकालो छ, हिउँ पर्ने यस्तो ठाउँमा रेलमार्ग बनाउन महंगो र मर्मत गर्न पनि गाह्रो हुन्छ भन्ने उहाँहरूको कुरा थियो,’ उपाध्यायले भने।

चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोलीले रेलमार्ग बनाउन नेपालमा रहेका वन कटानी, जग्गा अधिग्रहण लगायतका विषयले पनि समस्या ल्याउन सक्ने   बताएको छ।

नेपाली पक्षले रेलमार्ग बनाउन आफूहरू चीन सरकारसँग सहकार्य गर्न तयार रहेको जवाफ दिएका थिए। परराष्ट्र मन्त्रालयको अनुरोधमा चिनियाँ टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो।

टोलीले मंगलबार केरुङ बुधबार पोखरा र बिहीबार लुम्बिनी पुगेर स्थलगत अध्ययन गरेको थियो।

टोली अाज चीन फर्कने र केही समयपछि अध्ययनको विस्तृत रिपोर्ट तयार पार्ने उपाध्यायले जानकारी दिए।

यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो। पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो।

चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्‍याउने गरी काम गरिरहेकोे छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो।

सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।

0 प्रतिकृयाहरू प्राप्त

To Top