समाचार / समाज

प्रदेशसभावारे अन्यौल, अस्थायी राजधानीको टुंगो पनि लाग्न सकेन 

कार्तिक २६ २०७४     .
216633421nxt map


बुटवल,कार्तिक २६ 
चुनाव हुने दिन नजिकिंदै छ । तर, प्रदेशसभा प्रमुख र अस्थायी राजधानीको टुंगो लाग्न नसकेकोले निर्वाचित प्रदेश सभासद्हरु कहां वस्लान् भन्ने र राजधानीको टुंगो लगाउलान् ? यो चिन्ता गर्ने फुर्सद शायद दलहरुलाई यतिवेला छैन । 
संविधान कार्यान्वयन भएर देशमा पहिलो पटक प्रदेशसभा सदस्यहरु चुनिने दिन नजिकै आइसक्दा समेत प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानीको टुंगो नलाग्दा प्रदेशका जरुरी काम प्रभावित हुनसक्ने भन्दै विज्ञहरुले भने चिन्ता व्यक्त गर्न थालेका छन् ।
प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखलाई सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर मन्त्रीहरुको चुनावी व्यस्तताबीच सात प्रदेशबारेका यस्ता निर्णय कहिले हुने हो त्यो अझै प्रष्ट छैन ।
मंसिर १० र २१ गते हुने चुनावमार्फत् संघीय संसद्को प्रतिनिधिसभा सदस्यसँगै नेपालको इतिहासमै पहिलोपल्ट सात प्रदेशका प्रदेशसभा सदस्यहरु चुनिएर आउँदैछन् । तर अहिलेसम्म न त प्रदेशसभाको नेतृत्वको जिम्मेवारी लिनुपर्ने प्रदेश प्रमुखहरु नियुक्त हुनसकेका छन् न त सात प्रदेशका अस्थायी राजधानीकै टुंगो लागिसकेको छ । यो विषयको टुंगो लगाउन सरकारलाई त्यति सहज पनि छैन । 
हालै वीवीसीसंगको अन्तर्वार्तामा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आफू चुनावप्रचारमा व्यस्त भएको जनाउ दिदै यी विषयलाई चाडै टुंग्याउनु पर्छ भनेर लागेको भनेका थिए । उनी लगायत प्रायः सबै मन्त्री चुनाव प्रचारमा व्यस्त भएकाले प्रदेशबारे मन्त्रिपरिषद्ले कुनै निर्णय लिन सकिरहेको छैन ।
यद्यपि उनको भनाइमा प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी चयनका विषयमा केही दिनअघि मन्त्रीहरुबीच भएको समझदारी अनुसार मन्त्रिपरिषद्ले छिट्टै आवश्यक निर्णय गर्नेछ । त्यस्तो समझदारी के हो भन्नेवारेमा उनले मुख खोलेका भने छैनन् ।
स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्षसमेत रहेका पूर्व सचिव बालानन्द पौडेलका विचारमा प्रदेश प्रमुखको नियुक्ति र कर्मचारी खटनपटनका विषयमा छिट्टै निर्णय हुन नसके प्रदेश र प्रदेशसभाका शुरुवाती काम कारवाही प्रभावित हुन सक्छन् ।
प्रदेशसभा निर्वाचित भइसकेपछि त्यसको बैठक कहाँ राख्ने हो त्यो थाहा पाउन जरुरी छ । कर्मचारी खटाइएको भए तयारी गर्न सजिलो हुने थियो । सँगसँगै प्रदेश प्रमुख नियुक्ति छिटो गर्न जरुरी देखिन्छ ।
नेपालमा पहिलोपटक गठन हुन लागेका प्रदेशसभा आफैमा विशिष्ट कुरा हो तर, त्यसप्रति खासै सरोकार राखेको भने देखिदैन । राजनीतिक दलहरुले पनि खास महत्व दिएको पाइदैन । किनकि प्रदेशमा उम्मेदवार वनाउन पनि उपल्लो तहका नेताहरुलाई हम्मे हम्मे भएको थियो । प्रदेशसभाले धेरै नौला लाग्ने कामहरु प्रारम्भ गर्नुपर्ने भएपनि त्यसप्रतिको सम्वेदनशीलता कम छ ।
हाललाई अस्थायी राजधानी तोकिने भएपनि चुनावपछि गठन हुने प्रदेशसभाका बैठकले आफ्ना प्रदेशको नाम र स्थायी राजधानीको नाम तोक्ने संवैधानिक व्यवस्था गरिएको छ ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top