समाचार / खेल

भारतविरूद्ध नेपालको ऐतिहासिक जीत

कार्तिक २६ २०७४     .
Crick


काठमाडौं, कात्तिक २६
 
मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ।

कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको खेलमा नेपालले भारतमाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।

नेपालको ऐतिहासिक र महत्वपूर्ण जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । ब्याटिङमा ८८ रन बनाएका कप्तान ऐरीले बलिङमा भारतको ४ विकेट झारेका थिए ।

नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो।

भारतका लागि हिमांशु रानाले ४६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै भारतका मन्जोत कलराले ३५ रन बनाए । अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि पवन सर्राफ र शाहव आलमले समान २–२ विकेट लिए । त्यस्तै कमल सिंह ऐरी र सन्दिप लामिछाने समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको इनिङ्स खेले । ओपनर जितेन्द्र सिंहले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

भारतका आदित्य थकारेले ४ विकेट लिएका थिए । विवेकानन्द तिवारीले ३ तथा शिव सिंह र अभिषेक शर्माले समान २–२ विकेट हात पारेका थिए । मन्दिप सिंह, शिव सिंह र आथरभा तैडेले समान १–१ विकेट हात पारेका थिए ।

जितसँगै नेपालले अर्काे चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो अन्तिम खेलमा आयोजक मलेसियासँग खेल्न बाँकी छ । नेपाल र मलेसियाबीचको खेल मंगलबार हुँदैछ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top