समाचार / राजनीति

माओवादीले ४० सिटसम्म जित्छ, मेराे प्रतिस्पर्धी जिल्लामा कोही छैन : अध्यक्ष दाहाल

कार्तिक २७ २०७४     .
Dahal


 
चितवन,कार्तिक २७,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् ।

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले साेमबार चितवन पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए ।

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे ।

चितवनका जनताले चितवनको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय भएका उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।

चितवनमा उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे रहेका छन् । पाण्डेले पनि चुनावी अभियान तीव्र पारेका छन् ।

 माओवादीले ४० सिटसम्म जित्छ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिटसम्म जित्ने दाबी गरेका छन् ।

चितवनमा सोमबार बिहान भएको पत्रकार सम्मेलनमा दाहालले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् । ‘शतप्रतिशत जित्ने प्रयास त हुन्छ नै,’ उनले भने, ‘तर ३० भन्दा माथि ४० सम्म जित्न सकिन्छ ।’ जिल्लागत रिपोर्ट लिने काम भइरहेकाले आन्तरिक प्रक्षेपण गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग ६०/४० को भागबण्डा गरेको माओवादीले ६६ सिटमा उम्मेदवार बनाएको छ ।

दाहालले गठबन्धनले दुई तिहाई बहुमत ल्याउन कठीन भए पनि सुविधाजनक बहुमत आउने दाबी गरेका छन् ।

चितवन– ३ मा प्रतिनिधिसभा उम्मेदवार दाहालले प्रतिस्पर्धी राप्रपा नेताको पृष्ठभूमि ठेकेदारको रहेकाले त्यही पेसामा रहन सुझाव दिए । उनले पाण्डेसँग आफ्नो प्रतिस्पर्धा नहुने बताए ।  ‘कांग्रेसको उम्मेदवार भएको भए चर्कै प्रतिस्पर्धा हुने थियो तर कांग्रेसले एकजना ठेकेदारलाई समर्थन गरेपछि प्रतिद्वन्द्वीताको अवस्था छैन,’ उनले भने, ‘उहाँले युवाहरुलाई परिचालन गरेको भन्ने सुनेको छु, उहाँ राम्रो ठेकेदार हो, ठेकेदारी नै गरे राम्रो, राजनीतिज्ञलाई राजनीति गर्न दिन मेरो सुझाव छ ।’

एमाले र माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहे पनि चुनावी घोषणापत्रमै राख्दा चुनाव भाडिने र संसदमा तत्कालै संविधान संशोधन प्रस्ताव लैजानुपर्ने नैतिक अप्ठ्यारोमा परेको दाहालको भनाइ छ । चुनावपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा अगाडि बढ्ने उनले जानकारी दिए ।

दाहालले चुनावमा सुरक्षा चुनौति नरहेको उल्लेख गर्दै तर रोल्पा रुकुममा कांग्रेसले विप्लव समूहसँग ‘तालमेल’ गरेर आपराधिक गतिविधि बढाएको प्रतिक्रिया दिए ।


 

0 प्रतिकृयाहरू प्राप्त

To Top