समाचार / राजनीति

विकासको जिम्मा एमालेले लिन्छः पौडेल

कार्तिक २८ २०७४     D.R. Ghimire
Shankarnagar


तिलोत्तमा, २७ कात्तिक ।
नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समग्र रुपन्देहीको विकासको जिम्मा एमालेले लिने बताएका छन् । उनले अव मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै यो यात्रालाई कसैले रोक्न नसक्ने बताए ।
रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ को निर्वाचन परिचालन कमिटीको बैठकलाई संबोधन गर्दै क्षेत्र नम्बर २का प्रतिनिधिसभाका उम्मेदवार पौडेलले यस्तो बताएका हुन् । एमाले र माओवादी केन्द्रबीचको बाम गठबन्धन कसैका विरुद्ध नभएको उल्लेख गर्दै पौडेलले यो केवल मुलुकको स्थिरता र आर्थिक समृद्धिका लागि भएको दावी गरे । 
आगामी पुसपछि  बापन्थीहरुको बहुमतको सरकार बन्ने र त्यसपछि विकासका ठूला ठूला आयोजना सञ्चालन हुने उल्लेख गर्दै उनले रुपन्देहीको विकासका लागि पनि अब ठूला आयोजनाहरु सञ्चालन गरिने उल्लेख गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले आफूले बिगतमा जनप्रतिनिधि हुँदा गरेका कामबारे यस क्षेत्रका नागरिक जानकार रहेको उल्लेख गर्दै आफ्नो एकमात्र सपना विकास र समृद्धि रहेको बताए । “अव व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर विकास गर्नुपर्ने बेला आएको छ”–उनले भने–“यसका लागि हामी सबैसँग सहकार्य र हातेमालो गर्दै विकासको गतिलाई अगाडि बढाउँछौं ।” मुलुकमा सुशासन प्रदान गरी भ्रष्टाचारको अन्त्य गर्न पनि बाम गठबन्धनले बहुमत ल्याउनैपर्ने गिरीले बताए ।
बैठकमा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश १ का निर्वाचन परिचालन कमिटीका संयोजक मोहन चापागाईंले प्रदेश १ अन्तर्गत गर्ने बुटवल र तिलोत्तमाका १० वटै वडाहरुमा निर्वाचन परिचालनका लागि विभिन्न उपसमितिहरु गठन भैरहेको जानकारी दिंदै मंसिर १ गतेदेखि घरदैलो अभियान सुरु गर्ने तयारी भैरहेको बताए । माओवादी केन्द्रका नित्यानन्द डुम्रेले बामपन्थी गठबन्धन पार्टी एकतासम्म पुग्ने भएकाले यसलाई दीगो बनाउने गरी योजना बनाइएको बताए ।
त्यस अवसरमा निर्वाचन परिचालन कमिटीका सहसंयोजकहरु गोपाल राना, क्रृषि पाण्डे, सुदिप न्यौपाने, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा १० वटै वडाका वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । सोमबारै प्रदेश १ को निर्वाचन प्रचार प्रसार कार्यालयको पनि उदघाटन गरिएको संयोजक चापागाईले बताए ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top