समाचार / खेल

आइसिसी महिला विश्व टी-२० एसिया छनोटमा : नेपालद्वारा हङकङ ३६ रनले पराजित

मंसिर ११ २०७४     ekhabarnepal
1964318698nepal women

काठमाडौं– आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको छ। सोमबार भएको तेस्रो स्थानको प्ले अफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो। 

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको हङकङ १ बल खेल्न बाँकी छँदा ५८ रनमा अलआउट भयो। हङकङलाई कम रनमा रोक्ने क्रममा नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। शवनम राई, सीता रानामगर, ऋतु कनौजिया र नेरी थापाले १–१ विकेट हात पारे। नेपालले हङकङका ३ ब्याट्सवुमेनले रनआउटको सिकार बनायो। 

हङकङका लागि चाउ सान हारले सबैभन्दा बढी रन जोड्ने क्रममा १३ रन जोडिन्। कारी चानले ११ रनको योगदान गर्दा हङकङका अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

त्यसअघि थाइल्यान्डको टेडथाई मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन जोड्यो। नेपालका लागि नेरी थापाले ३८ रन जोडिन्। नेरीले ३४ बलमा ५ चौका प्रहार गरिन्। करुणा भण्डारीले नटआउट १४ तथा कप्तान रुबिना क्षेत्री बेलबासेले नटआउट १५ रनको योगदान गरिन्। करुणाले २१ बलमा बाउन्ड्री प्रहार गर्न सकिनन्। रुबिनाले १० बलको सामना गर्दा २ चौका हिर्काइन्। काजोल श्रेष्ठले पनि १२ रन बटुलिन्। 

बलिङतर्फ हङकङकी मारिको हिल र मारिना लापलगले २–२ विकेट लिए।

यसअघि लिग चरणका नेपाल तेस्रो स्थानम सीमित बनेपछि विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन असफल भएको थियो। 

प्रतियोगिताबाट युएई र थाइल्यान्ड छनोट भएका छन्। युएईले ५ खेलबाट ८ अंक बटुल्यो। आइतबार युएई र मलेसियाबीचको खेलमा मलेसिया विजयी भएको भए नेपालको छनोट हुने सम्भावना थियो। तर, युएईले ३४ रनले मलेसियालाई पराजित गरेपछि नेपालको सम्भावना तुहियो।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top