समाचार / अर्थ

मोतिपुर औद्योगिक क्षेत्रको डिपिआर अन्तिम चरणमा

मंसिर १५ २०७४     .
Motipur

 

बुटवल, १४ मंसिर ।

रुपन्देहीमा निर्माण प्रस्ताव गरिएको ५ नम्बर प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सातै वटा प्रदेशमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले डिपिआरका लागि बजेट बिनियोजन गरेपछि रुपन्देहीमा पनि प्रदेश नम्बर ५ को औद्योगिक क्षेत्र निर्माणको लागि डिपिआरको काम शुरु भएको थियो ।

मोतिपुर, तिलोत्तमा, शुद्धोधनको क्षेत्रमा ८ सय १४ बिगाहाको जमिनमा पहिलो चरणको नापजाच भएको छ । सो क्षेत्रभीत्र परेका स्थानीयको भोगचलनको जग्गा छ्ुट्याएर मात्रै औद्योगिक क्षेत्र बन्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताए । ‘स्थानीयको घर जग्गा, विद्यालय, मठमन्दिर, खेलमैदान छाडेर बचेको जग्गामा औद्योगिक क्षेत्र बन्छ, उनले भने–‘औद्योगिक क्षेत्र निर्माणपछि कोही पनि विस्तापित हुनुपदैन ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जोतभोग जग्गा, विद्यालय, मन्दिर, मसानघाट लगायतका संरचना रहेका क्षेत्र छाडेर मात्रै औद्योगिक क्षेत्र बनाउने काम शुरु गरेको हो ।

रुपन्देहीको बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका तथा शुद्धोधन गाउपालिकामा पर्ने ८ सय १४ विगाहा क्षेत्रफलमा ओद्योगिक क्षेत्र निर्माणको प्रस्ताव सरकारले गरेको थियो ।

सो क्षेत्रमा चार महिनादेखि डिपिआरका लागि नापजाचको काम चलिरहेको छ । डिपिआरको काम केही समयमै सकिने बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर रानाले बताए ।

‘केही दिनमा डिपिआरको पहिलो प्रतिवेदन आउछ, उनले भने,–‘त्यसपछि कति क्षेत्रफलमा कस्तो संरचना बनाउने विषयमा छलफल शुरु हुन्छ ।’

तिनाउको नदि उकास क्षेत्रमा निर्माण हुन थालेको औद्योगिक क्षेत्र निर्माणमा करिव १५ अर्व लाग्ने आकलन गरिएको छ । औद्योगिक क्षेत्र आधुनिक हुने भएकाले प्रदुषण निकै कम हुने लिमिटेडले जनाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको फोकल पर्सन समेत रहेका प्रमुख रानाले औद्योगिक क्षेत्रले थप जग्गा अतिक्रमण गर्ने भ्रम स्थानीयमा रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणमा सहयोगका लागि लिमिटेडले निजी क्षेत्रको सहभागीतामा निर्माण समन्वय समिति समेत गठन गरेको छ । समितिका संयोजक नवराज श्रेष्ठले औद्योगिक क्षेत्रले रुपन्देहीको मात्रै नभई मुलुककै आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

‘यो रुपन्देहीको महत्वपूर्ण योजना हो, उनले भने, मध्य नेपालमा बन्ने औद्योगिक क्षेत्रले आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।’ पूर्वि नेपालका उद्योगीहरु पनि रुपन्देहीमा आर्कषित भएकाले सरकारले औद्योगिक क्षेत्र निर्माणमा मोतिपुरलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

औद्योगिक क्षेत्र नहुदा उद्योग सञ्चालन गर्न नसकेका उद्योगीहरु मोतिपुर औद्योगिक क्षेत्र बन्ने प्रक्रिया शुरु भएपछि उत्साहित भएका छन् । रुपन्देहीमा बुटवल औद्योगिक क्षेत्र बाहेक अन्य औद्योगिक क्षेत्रहरुक खोलिएका छैनन् । बुटवल औद्योगिक क्षेत्रमा ६५ उद्योगहरु सञ्चालनमा छन् । मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आए यहा करिव ५ सय नया उद्योग स्थापना हुने अपेक्षा गरिएको छ ।

रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष गणेश अधिकारीले उद्योगीहरुले औद्योगिक क्षेत्रमा उद्योग खोल्न चाहिरहेकाले सरकारको प्राथमिकताको योजनामा यसलाई पारिनुपर्ने बताए ।

डिपिआर निर्माण भएपछि औद्योगिक क्षेत्रको विस्तृत गुरुयोजना शुरु गरेर भौतिक संरचनाहरु बनाउने योजना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रहेको छ ।

निर्वाचनमा रहेका उम्मेदवारहरुले मोतिपुर औद्योगिक क्षेत्रलाई चुनावी एजेण्डा बनाएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ का बामगठबन्धनका उम्मेदवार घनश्याम भुसालले मोतिपुर औद्योगिक क्षेत्र अव बन्ने सरकारको प्राथमिकतामा पर्ने बताए ।

0 प्रतिकृयाहरू प्राप्त

To Top