समाचार / विश्व

'खतरनाक परिणाम' भोग्नु पर्ला - विदेशमन्त्री सफादी

मंसिर १८ २०७४     ekhabarnepal
Z

जोर्डनका विदेशमन्त्रीले अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिए त्यसको 'खतरनाक परिणाम' भोग्नुपर्ने चेतावनी दिएका छन्।

अयमान सफादीले त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउन सक्ने अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई भनेका छन्।चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो घोषणा गर्न सक्ने अड्कलबाजी बढ्दै गएको छ।ट्रम्पका ज्वाइँ जारेड कुश्नरले अहिलेसम्म त्यस्तो निर्णय भइनसकेको बताएका छन्।

जोखिम

ट्वीट गर्दै विदेशमन्त्री सफादीले भनेका छन्, "इजरेलको राजधानीका रुपमा जेरुसलेमलाई मान्यता दिँदा त्यसले निम्त्याउने खतरनाक परिणामबारे अमेरिकी विदेशमन्त्री टिलर्सनसँग कुराकानी गरेँ। त्यस्तो निर्णयले अरब र मुस्लिम जगतमा आक्रोश निम्त्याउनेछ, तनाव बढाउने र शान्ति प्रयासलाई जोखिममा पुर्‍याउनेछ।"

त्यसबारे अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन।

जोर्डन

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले त्यस्तो घोषणा नगर्नका निम्ति ट्रम्पलाई फकाउन अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन्।अब्बासको कार्यालयका अनुसार आइतवार उनले फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र टर्कीका राष्ट्रपति रेजेप ताय्यीप एर्दोआनसहितका विश्व नेताहरुलाई टेलिफोन गरेका थिए।

समाधान

अब्बासका सल्लाहकार माज्दी अल-खालिदीले समाचार संस्था एएफपीलाई भने, "अमेरिकी दूतावास जेरुसलेममा सार्ने अथवा जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने कुनै पनि निर्णयले निम्त्याउने खतराबारे उहाँले जानकारी गराउने प्रयास गर्नुभयो।"

प्यालेस्टिनी नेताहरुले यसअघि नै त्यस्तो कदमले 'दुई राज्य'सम्बन्धी समाधानमा खतरा निम्त्याउन सक्ने बताइसकेका छन्।इजरेलले सन् १९६७ मा भएको मध्यपूर्व युद्धपछि पूर्वी जेरुसलेममाथि कब्जा गरिआएको छ।सन् १९८० मा इजरेलले उक्त क्षेत्रमाथि अतिक्रमण गर्‍यो र त्यसलाई उसले आफ्नो विशेष भूभागको रुपमा हेर्ने गर्छ।

0 प्रतिकृयाहरू प्राप्त

To Top