जिल्ला स्तरीय ६ अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

राजनीति असोज २ 2077 ekhabarnepal
Province 5

बुटवल, असौज २ 
५ नं. प्रदेश सरकार, मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले  जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । ती अस्पतालहरुमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन् । तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

त्यस्तै शब बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय भएको छ। रकम पाउने पालिकामा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिका रहेका छन् ।
वैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारौं तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको कामकाजमा खटाउने निर्णय पनि गरेको छ।

 यसैगरी असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्नुका साथै पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने भएको छ । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्नुका साथै वैठकले प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको छ । 

वैठकले रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने र त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top