लोकतान्त्रिक गणतन्त्र जीवनपद्धति र शैलीका रुपमा स्थापित ः मुख्यमन्त्री पोख्रेल

राजनीति असोज ३ 2077 ekhabarnepal
Shankar pokharel1

बुटवल, असौज ३
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ को कारण ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले यसपटकको संविधान दिवसको कार्यक्रममा घर घरमा दिपावली गरेर भव्य रुपमा मनाउन अनुरोध गर्नुभएको छ । 
 संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभएको छ—संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । 
नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो,विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा यस ऐतिहासिक अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । 
संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न सबैको साझा संकल्प हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभएको छ—यो संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ ।
 कोरोना भाइरसको महामारीले जनजीवन संकटग्रस्त हुँदै गएको सन्दर्भमा सरकारले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन नागरिकको सार्थक सहयोग आवश्यक रहेको वताउँदै उहाँले भन्नुभएको छ— 
केही महिनादेखि हाम्रो दैनिकी खल्बलिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ (कोरोना भाइरस) को असरले सिंगो समाज पिल्सिएको छ । लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदैछन् । लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड—१९ नियन्त्रण भएको बुझ्नु हुँदैन् । कोरोनासंग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक छ । कोरोनाविरुद्ध सरकारले चालेका हरेक कदम नागरिकको जीवन रक्षाको लागि हो ।  कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन् । सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै यो माहामारीलाई जित्न सकिन्छ । 
विज्ञप्तिको अन्तमा जनताको समृद्धिको आकांक्षाप्रति उल्लेख गर्दै भनिएको छ—संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गरी मुहारमा उज्यालो छर्न सबैको सकारात्मक पहलकदमी र सहयोग आवश्यक छ । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने छ । राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

    
 

प्राप्त प्रतिकृयाहरू

To Top