सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको छः उपाध्यक्ष गौतम

राजनीति असार ७ २०७४ .
Bamdev

बर्दिया असार ७ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष गौतमले उक्त आरोप लगाउनुभएको हो । स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाप्रति इंगित गर्दै उपाध्यक्ष गौतमले कुनै समुदायको पार्टीलाई ल्याउनुपर्ने भन्दै सरकारले स्थानीय तहको निर्वाचन पटक पटक सारिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–हाम्रो संविधानमा कुनै समुदाय, जातजाति र भौगोलिक अवस्था अनुसार पार्टी खोल्न नपाइने स्पष्ट लेखिएको छ तर सरकारले त्यसलाई प्रश्रय दिएको छ । उहाँले मुट्ठीभरका व्यक्तिहरुको पार्टी तराई मधेशका जनताबाट बहिष्कृत भएको दावी गर्नुभयो । उहाँले स्थानीय निकाय चुनावमा एक स्थानमा पनि जित्न नसक्ने देखेपछि राजपा निर्वाचनबाट भागिरहेको समेत आरोप लगाउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले दोस्रो चरणमा हुने निर्वाचनमा पनि एमाले नै अगाडि आउने दावी गर्दै मंसिरपछि सातै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष गौतमले टिकापुर घटना आपराधिक भएकाले सरकारले मुद्दा फिर्ता लिन गरेको निर्णय गलत रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–टिकापुर घटना जघन्य आपराधिक घटना हो, एमालेलाई कुनै पनि हालतमा सरकारले गरेको निर्णय मान्य हँुदैन । सरकारले यो निर्णय कार्यान्वयन प्रक्रियामा लगेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने बताउनु भयो ।
स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा बर्दिया पुग्नुभएका गौतम आज दिनभर पार्टी निर्वाचन प्रचार प्रसारमा व्यस्त हुने नेकपा एमाले बर्दियाले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top