कांग्रेसबाट विकास र समृद्धि संभव छैन : नेतृ रामकुमारी

राजनीति असार ८ २०७४ .
Ramkumari jhakri

बुटवल, असार ८ । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले नेपाली कांग्रेसबाट विकास र समृद्धि संभव नरहेको बताएकी छिन् । विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै उनले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गरिन् ।
चुनावी प्रचारप्रसारका क्रममा बिहीबार तिलोत्तमा–८ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ झाक्रीले निर्वाचनको समयमा मात्र कांग्रेसले विकासका चर्का नारा लगाउने गरेको बताइन् । ‘सत्तामा बसेको बेला कुनै काम नगर्ने, चुनावका बेलामा मात्र विकासका सपना बाँडेर मात्र आर्थिक समृद्धि र परिवर्तन हुँदैन ।’ उनले भनिन्, ‘विकास र समृद्धिको नेतृत्व गर्ने सच्चा पार्टी नै एमाले हो ।’
उनले एमालेले सुरु गरेका विकास, सामाजिक रुपान्तरण र समृद्धिका कार्यक्रमले जनताको जीवनमा परिवर्तन ल्याएको बताइन् । आमजनताले अनुभूत गर्न सक्ने समृद्धिका कार्यक्रम स्थानीय तहमार्फत् एमालेले सञ्चालन गर्न चाहेको उनले बताइन् ।
सोही कार्यक्रममा एमाले तिलोत्तमा मेयर पदका उम्मेदवार बासुदेव घिमिरेले एमालेले पूरा गर्न सक्ने कुरा मात्र आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको बताए । एमालेले तिलोत्तमालाई मुलुककैं नमूना नगरपालिका बनाउन चाहेको उल्लेख गर्दै उनले पार्टीको यो अभियानमा सघाउन मतदातालाई आग्रह गरे । यस्तै उपमेयर पदकी उम्मेदवार जागेश्वरी चौधरीले एमालेले सबैखाले जातजाति, भाषाभाषी र समुदायलाई सम्मान गर्ने बताउँदै तिलोत्तमामा एमालेको जीत सुनिश्चित देखेर विपक्षीले कुनै नीति, सिद्धान्त र विचार नमिल्नेहरुसँग तालमेल गरेको बताइन् ।
यस्तै एमाले तिलोत्तमा नगर संगठन कमिटीका संयोजक यज्ञ गैरेले तिलोत्तमामा बनाउने भनिएको मेडिकल कलेज अहिले सरकारमा रहेका दलका नेताहरुले अन्यत्र लैजाने दुष्प्रयास गरिरहेको भन्दै एमालेले कुनै पनि हालतमा सरकारी मेडिकल कलेज तिलोत्तमामैं स्थापना गर्ने बताए । उनले सुकुम्बासी समस्याको समाधान एमालेले मात्र गर्न सक्ने बताउँदै विगतमा एमालेलाई काम गर्न नदिइएकाले यो समस्या समाधान हुन नसकेको बताए ।
कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद पौडेलले आफू वडा नं. ८ को विकासका लागि सधै क्रियाशील रहेको बताउँदै यहाँका समस्या समाधान गर्न सधै प्रतिबद्ध रहने बताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top