‘नीति बनाइदिनुस् देश विकासमा योगदान गर्न तयार छौं’:उद्योगी–व्यवसायीहरु

राजनीति असार ८ २०७४ .
Udoygi

बुटवल, असार ८ ।

यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र विकासको खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् । बुटवललाई प्रदेशको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको भन्दै एमाले निकटका ती उद्योगी–व्यवसायीहरुले आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।एमालेले बुटवललाई प्रादेशिक राजधानी बनाउने र महानगरका रुपमा विकास गर्ने प्रतिबद्धता गरिरहेका बेला उक्त पार्टी निकटका यहाँका उद्योगी व्यवसायीहरुले योजनाबद्ध विकास र सुशासनलाई प्राथमिकता दिन आग्रह गरे । उनीहरुले स्पष्ट र उचित नीति बनाइदिन आग्रह गर्दै आफुहरु देश विकासमा योगदान गर्न सदैब तयार रहेको बताए ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको जिल्ला घटक नेपाल उद्योग संघको आयोजनामा बिहिबार बुटवलमा भएको उद्योगी व्यवसायीहरुको वृहत्त भेलामा सहभागीहरुले आर्थिक रुपले सबल र पर्यटकीय केन्द्रका रुपमा लुम्बिनीको विकास गर्नुपर्नेमा जोड दिए । त्यसका लागि आफुहरु साझेदारी तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।कार्यक्रममा एमाले उप–महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, बुटवलका मेयरका एमाले उम्मेदवार शिवराज सुवेदी, उपमेयरका गोमा आचार्यसहितका विभिन्न तहका नेताहरु सहभागी थिए । एमाले नेतृत्व र उम्मेदवारहरुसित उद्योग, पर्यटन, होटल, व्यापार, यातायातलगायतका विभिन्न क्षेत्रका संगठनका अगुवाहरुले सुझाव दिएका थिए । व्यवसायीहरुले घरबहाल करदेखि पर्यटन क्षेत्रका समस्या समाधानका लागि पार्टी नेतृत्वलाई लिखित सुझाव दिइएको पनि बताएका थिए ।
लगानीको उचित वातावरण बनाउनुपर्ने, सेवामुलक र निर्यातजन्य उत्पादनमा रहेका उद्योगहरुलाई विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो । सार्वजनिक यातायात, पर्यटन व्यवसाय र स्वास्थ्यको क्षेत्रमा विशेष योजना बनाउन जरुरी रहेको उद्योगी व्यवसायीहरुले सुझाव दिए ।
सो अवसरमा एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र जिल्ला नै विकासको रोलमोडल बनाउने काममा एमाले जुटेको बताए । उनी अर्थमन्त्री भएका बेलामा रुपन्देहीमा राष्ट्रिय गौरवका धेरै आयोजनाहरु छनौट भएका छन भने बजेट पनि प्रयाप्त परेको छ ।विकास निर्माणका हिसाबले सुरु भएका कामहरुको अवस्थाका बारेमा र अब गर्नुपर्ने कामहरुको सूची बनाइएको उल्लेख गर्दै नेता पौडेलले बुटवललाई मात्रै होइन समग्र लुम्बिनीलाई ध्यानमा राखेर एमाले अग्रसर भएको बताए । त्यो आफु अर्थमन्त्री हुँदा छुट्टाएको बजेट र नीति तथा कार्यक्रमलाई हेरेर मूल्यांकन गर्न सकिने पनि उनले बताए ।
उद्योगी व्यवसायीहरुले उचित वातावरण बनाउन सकियो भने आफुहरुले रोजगारीको सिर्जना गर्ने केही न केही उत्पादनमा आत्मनिर्भर बन्न सकिनेगरी उद्योग विस्तार गरिने बताएका थिए । उनीहरुले अहिले पनि मुलुकमा लगानीको वातावरण बन्न नसकेको, जनशक्तिको अभाव रहेको, कच्चापदार्थको अभाव रहेको र समग्रमा निर्यातमुखी उद्योगका लागि नीति नै बन्न नसकेको भन्दै आफुहरु देश विकासमा योगदान गर्न तयार रहेको सामूहिक प्रतिबद्धता जनाएका थिए ।बुटवलको खानेपानी, फोहर व्यवस्थापन देखि प्रदुर्षण नियन्त्रका कामहरुलाई एमालेले प्राथमिकता दिएको र त्यो महानगर बनाउने लक्ष्यका साथ अगाडि बढेको नेता पौडेलले बताए । स्थानीय सरकारमा एमाले निर्वाचित भएपछि पहिलो वर्ष के गर्ने, तीन वर्षमा के–के गर्ने र पाँच वर्षमा के गर्ने भनेर योजना बनाएको उल्लेख गर्दै नेता पौडेलले भने–बुटवललाई प्रादेशिक राजधानी र महानगरको पूर्वाधार तयार पार्दै अगाडि बढिने छ ।’बुटवलका पूर्व मेयर तथा एमाले प्रदेश कमिटीका संगठन विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले एमालेले चुनाव जित्नेमा भन्दा पनि देश कसरी बचाउने र बनाउने भन्नेमा केन्द्रित रहेको बताए । उनले हिंजो प्रदेश विभाजन गर्ने कुरामा सहीछाप गर्नेहरु र विखण्डनकारीका सहायक बन्नेहरु अहिले फेरि विभिन्न बहानामा अग्रसर रहेको दाबी गरे ।हिंजोका सबै नाराहरु, पार्टीका विज्ञप्तिहरु र नेता–कार्यकर्ताका शैलीहरु सबै ताजै छन, कुन पार्टीले सामाजिक सद्भाव, एकता र राष्ट्रियताका विषयमा के ग¥यो भन्ने कुरा प्रष्टै छ’ नेता श्रेष्ठले भने बुटवललाई तराई–पहाड जोड्ने प्रदेशकै राजधानी र सुन्दर महानगर बनाउने अभियानमा लागेको एमालेलाई भोट दिने कि त्यो सबै भत्काउन लागेकालाई दिने भन्ने कुराको निक्र्यौल गर्ने क्षमता सचेत मतदातामा छ ।’
मेयरका उम्मेदवार शिवराज सुवेदी र उपमेयरका गोमा आचार्यले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र स्थानीय प्रतिबद्धतापत्रलाई कार्यान्वयन गर्नेतर्फ सबैको सुझाव र विषय विज्ञहरुको राय लिएर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा उम्मेदवारहरुले चुनाव जितेपछि नगरको गुरुयोजना तयार गराइ सर्वदलीय बैठक राखी नगरबासीको सहभागीतामा नगर विकासको प्राथमिकीकरण सहित काम अगाडि बढाउने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा नेताहरु केन्द्रीय विभागका बाबुराम भट्टराई, एमाले रुपन्देहीका उपसचिव गोपाल राना, नेताहरु कृष्ण पोखरेल, सूर्यबहादुर भट्टराई, उद्योगी कृष्णकुमार श्रेष्ठ, नेपाल उद्योग तथा व्यवसायी महासंघका हिराध्वज शाह, उद्योगी कृष्णप्रसाद पौडेललगायतले बोल्दै स्वाधीन अर्थतन्त्र निर्माणमा आफुहरुले योगदान गर्न तयार रहेको बताएका थिए ।
यसैगरी महासंघका केन्द्रीय सदस्य खेमप्रसाद लुइँटेल, अर्का केन्द्रीय विभाग प्रमुख बालाराम भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, लोकतकान्त्रिक यातायात व्यवसायी महासंघका नारायणप्रसाद घिमिरे, महासंघका प्रदेश कमिटी सचिव केशवराज पन्थी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, उद्योगी सतिषचन्द्र कसौधन, माधव पौडेल तथा अगुवा समाजसेवी किशोर ज्ञवालीलगायतले बोल्दै एमालेकै अगुवाईमा विकास निर्माणको प्रष्ट खाका आएको बताएका थिए ।
सो अवसरमा बुटवलका विभिन्न क्षेत्रका स्थापित व्यवसायीहरु कुलध्वज लामा, मोतिलाल सुवेदी, निरज श्रेष्ठ, आकास श्रेष्ठ, सलमान खान तथा मेघनाथ पौडेलसहित ५० जना एमालेमा प्रवेश गरेको संघका महासचिव बाबुराम बोहोराले जानकारी दिए । संघका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जविन कक्षपति र सञ्चालन महासचिव बाबुराम बोहोराले गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top