यस कारण सिद्धार्थ नगरमा एमालेको जित आवश्यक

राजनीति असार ८ २०७४ .
19243610 1405169852908920 400767800 o

भैरहवा, असार ८  ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरलाई पर्यटकीय र आर्थिक समृद्ध नगर बनाउन एमालेको जित आवश्यक भएको बताएका छन् । विभिन्न कालखण्डमा सिद्धार्थनगरले रुपन्देही जिल्ला र सिंगो राष्ट्रको नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा पनि हुनसक्ने घटना, दुर्घटना र उपलब्धीहरुको रक्षाका लािग एमालेले जित्नु पर्ने बताए ।
एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले नगर विकासको रोल मोडल एमालेसँग मात्रै भएको बताए । ‘अहिले हामी नेपाली राजनीतिको ऐतिहासिक मोडमा छौं । ठूलो त्याग, बलिदानी र निरन्तरको सामाजिक रुपान्तरणको आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महान उपलब्धी नेपालको संविधान कार्यान्वयन सँगसँगै राष्ट्रयको गहनाको रुपमा रहेको सिद्धार्थनगरको विकास गर्न एमालेको जित आवश्यक छ, भुसालले भने ।’
‘विगतमा एमाले सरकारका पालमा सिद्धार्थनरको विकास गर्न थुप्रै योजनाहरु ल्याएका छौं’, भुसालले भने– ‘प्रत्येक नगरमा वर्षेनी ५० करोड छुट्टै बजेट आउँछ, बेलहिया–बुटवल व्यापारिक मार्ग, लुम्बिनी परिक्रमा पथ, भैरहवा–लुम्बिनी ४ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती, विशेष आर्थिक क्षेत्र, औद्योगिक करण, सिंचाई योजनालगायतको क्षेत्रको विकास निर्माणको काम एमाले सरकारले सुरुवात गरेको हो ।’ उनले एमालेले जिते इतिहासले सम्झिरहने गरी काम गर्ने जनाए ।
मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारीले सिद्धार्थनगरमा आफूले जित्ने आधारहरु प्रस्तुत गरे । उनले पार्टी एकढिक्का भएर दुई २ महिना अगाडि नै उम्मेदवार चयन गर्नु, कार्यकर्ताको दिनरातको खटाई, आफू विगतमा वडा अध्यक्ष, उपमेयर भएको अनुभव, निरन्तर सामाजिक संघसंस्थामा काम गरेको र सफलतापूवर्क नेतृत्वदा सम्हालेको, घरदैलोका क्रममा मतदाताले दिएको आस्वासन, आर्थिक पारदर्शिता, हरेक सामाजिक, राजनैतिक, आर्थिक रुपान्तरणका आन्दोलनमा तथा अखण्ड ५ नम्बर प्रदेश, भारतीय नाकाबन्दी विरुद्धको आन्दोलन, निरंकुश शाहिकाल विरुद्धको आन्दोलनमा नेतृत्व लिएका कारण पनि निर्वाचन आफ्नो पोल्टामा पर्ने दावी गरे । त्यस्तै नगरबासीले अनुभबी नयां अनुहारको खोजी गर्नु, एमालेप्रतिको जनलहर, आशा, भरोसा र विश्वास नै सिद्धार्थनगरमा एमाले विजयी हुने आधार भएको बताए ।
आफू विजयी भएको प्रतिबद्धता पत्रमा जारी गरिएको ६५ बुँदालाई क्रमशः कार्यान्वयन गर्ने उनको भनाई । अधिकारीले विज्ञहरुबाट नगरको गुरुयोजना तयार गराइ सर्वदलीय बैठक राखी नगरबासीको सहभागीतामा नगर विकासको प्राथमिकीकरण सहित काम अगाडी बढाउने, भ्रष्टाचारमुक्त, प्रदुषणमुक्त, अपराध मुक्त नगर, नगरमा स्थायी प्रदर्शनी स्थलको  व्यवस्थापन, सार्वजनिक जग्गालाई उत्पादनमूलक बनाउने कार्यक्रम, फोहरबाट मोहर कमाऔं कार्यक्रम एवं पत्रकार, साहित्यकार, खेलाडी, कलाकारकोलागी छुट्टै कोष खडागरी विभिन्न कार्यक्रम सन्चालन गर्ने आफ्नो योजना रहेको बताए ।
त्यस्तै विद्यूत् समस्या हटाउन १३२ केभिए प्रसारणमा भैरहवा ल्याउन पहल गर्ने, बैकल्पीक उर्जाको व्यवस्थापन गर्ने, सिद्धार्थनगरमा रहेको बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न आधुनिक बसपार्क बनाउने , नगरमा छुट्टा छुट्टै ट्रक , ट्याक्सी, ई रिक्साको पार्किंग निर्माण गर्ने, बसपार्कमा ५० फुटको सिद्धार्थ गौतमको मूर्ति स्थापना, बेलहियामा आकर्षक लुम्बिनी प्रवेशद्धार तथा बेलहिया देखी लुम्बिनीसम्मको सडकको दायाबाया बुद्ध जीवन झल्कीने मूर्ति स्थापनामा पहल गर्ने, डण्डा नदीमा बोटिङ संचालनमा पहल गर्ने, सेज, अटोभिलेज, निर्माणाधीन अन्तर्राष्ट्रिय गौतबुद्ध विमानस्थललाई समयमै सम्पन्न गर्न पहल गर्ने, नगरका हरेक वडालाई पहिचानयुक्त वडाको रुपमा विकास गर्ने, महिला एवं गृहणी वर्गलाई आर्थिक रुपले आत्मनिर्भर गराउन विभिन्न सीपमूलक कार्यक्रम सन्चालन गर्ने, भैरहवालाई मेडिकल शिक्षा र औपचारिक शिक्षाको हब बनाउन विशेष पहल, खाद्य भण्डार स्थापना गर्ने, बृद्धवृद्धाहरुको सम्मानकोलागी घरमै गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, नगरका क्याम्पस तथा कलेजहरुको विस्तृत अध्ययन गरी भैरहवा बहुमुखी क्याम्पसलाई प्रादेशीक विश्वविद्यालयमा रुपान्तरण गर्ने, पक्लिहवा कृर्षी क्याम्पसमा डिनको कार्यलय स्थापना गर्ने, युसिएमएस भैरहवा, नेत्रविज्ञान अध्ययन संस्थान आंखा अस्पताल भैरहवालाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आफू दिनरात खटिएर लाग्ने प्रतिबद्धता जनाए ।
त्यस्तै उपमेयरकी उम्मेदवार उमा काफ्लेले नगरमा हुने सबै किसिमका योजनाहरुमा महिला सहभागिताको ग्यारेन्टी गरिने बताइन् । उनले अझै पनि दाइजो प्रथा, चेलिबेटी बेचविखन, महिला हिंसा, लागूऔषध दुव्र्यसनी, लैगिंक विभेद लगायतका समस्याले नगरमा जरो गाडेको बताउँदै आफू निर्वाचित भए तत्काल समस्या समाधानमा पहल गर्ने बताइन् ।
जेष्ठ नागरिक, बालबालिका, अपांक, पिछडा, सीमान्तृक, गरीब तथा असाहय वर्गले नगरमा सहज पहुँच राख्न सक्ने वातावरण नभएको बताउँदै आफू निर्वाचित भए सबै वर्ग, समुदाय, जातजाति, धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि पहल गर्ने बताइन् ।
नगरलाई महानगरपालिका बनाउन अग्रसरता लिने, गल्लामण्डीमा खाद्यान्नको केन्द्र बनाउने मात्रै होइन चीनको कोरला नाका हुदै भारतको बाटो मार्फत अन्य देशमा हुने व्यापारको मैत्री पूलको काम सिद्धार्थनगरले गर्नेगरी पूर्वाधार तय गर्ने काफ्लेको भनाई छ ।
कार्यक्रममा सभासद् आदित्यनारायण कसौधन, नेताहरु पुष्पाञ्जली उपाध्याय, जीवलाल अर्याल, भरतकुमार पोखरेल, डा.रामप्रसाद बश्याल, प्रेमकुमार सेन्चुरी, उमा काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top