एमाले तिलोत्तमाको योजना-राजमार्ग आसपासका घरमा एउटै रंग

राजनीति असार ३ २०७४ .
Tilottama 696x364

तिलोत्तमा, फराकिलो चिल्लो सडक । दायाँबायाँ हरियाली । बीचमा सौर्यबत्ती । ठाउँ–ठाउँमा आकाशे पुल ।’ अबको केही वर्षपछि निर्माण सम्पन्न हुने बुटवल–बेलहिया ६ लेन सडकका मुख्य विशेषता हुन् यिनी ।
यो सडक अहिले निर्माणको क्रममा छ । सडक निर्माणको झण्डै आधा काम सकिसकेको छ । यस्तो विशेषताको मुलुककैं नमूना बुटवल–बेलहिया ६ लेन सडकको परिवेशलाई अझैं थप आकर्षित बनाउन के गर्न सकिएला ? नेकपा एमाले तिलोत्तमाले यो सडकको परिवेशलाई अझै सुन्दर बनाउन आसपासका घरहरुमा एउटै रंग लगाउने योजना अघि सारेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गरेको प्रतिबद्धतापत्रमा यस्तो योजना उल्लेख छ ।
‘नगर क्षेत्रअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गका पूर्वपश्चिमका घरहरुमा आगामी दुई वर्षभित्र नगरले उपयुक्त रंग निर्धारण गरी एकरुपता कायम गर्ने नीति लिनेछ ।’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘नगरका अन्य क्लस्टरहरुमा समेत मास्टर कलर निर्धारण गरी कार्यान्वयन गरिनेछ ।’ एमाले तिलोत्तमा नगरपालिका मेयर पदका उम्मेदवार वासुदेव घिमिरेले मुलुककै नमूना सडकका छेउँछाउँका घरहरुमा उपयुक्त रंग निर्धारण गरी प्रयोग गरिँदा थप सुन्दरता बढ्ने बताउनुभयो । यसले धेरैको मन लोभ्याउने उहांले उल्लेख गर्नुभयो ।
एकरुपता कायम गराउन नगरपालिकाले सहुलियतमा स्थानीय बासिन्दालाई रंग दिन सक्ने बताउँदै उहांले भन्नुभयो, ‘सबैले एउटैं रंग प्रयोग गर्दा सडक आसपासको दृश्य आकर्षक हुनेमा कुनै शंका छैन, तिलोत्तमाको यो एउटा सुन्दर पक्ष हुनेछ ।’ विभिन्न मुलुकका सहरहरुमा यस प्रकारको अभ्यास भैरहेको अनुभव उहांले सुनाउनुभयो ।
तिलोत्तमा नगरपालिकाको विगतको एक सर्वदलीय बैठकमा एमालेका प्रतिनिधिहरुले सिद्धार्थ राजमार्ग आसपासका पूर्वपश्चिमका घरहरुमा एउटै रंग प्रयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर यो विषयमा छलफल भए पनि निष्कर्षमा नपुगिएकाले आफूहरुले यसलाई कार्यान्वयन गराउन स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्रमा यसलाई उल्लेख गरेको एमाले तिलोत्तमा नगर कमिटीका इन्चार्ज मोहन चापागाईंले बताउनुभयो । ‘हामीले यहाँको नेतृत्व गर्दाको अवस्थामा नगरको समग्र विकासका लागि कुनै कसर बाँकी राख्नेछैनौं । तिलोत्तमालाई कसरी विकासको बाटोमा अघि बढाउने भन्ने बारे हाम्रो स्पष्ट भिजन छ ।’ उहांले भन्नुभयो ।
एमालेले आगामी ५ वर्षभित्र वडाका उपयुक्त स्थानमा गुरुयोजना बमोजिमका स्याटेलाइट सिटीको पूर्वाधार तयार गरिने योजना समेत प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । छरिएका बस्तीहरुलाई एकीकृत बस्तीमा व्यवस्थित गरिने, तिलोत्तमाको समग्र विकासको गुरुयोजना निर्माणगरी गुरुयोजनाले निर्देश गरेका स्थानबाहेक जथाभावी घर निर्माणलाई निरुत्साहित गरिने पार्टीको योजना रहेको नगर संगठन कमिटीका संयोजक यज्ञ गैरेले जानकारी दिनुभयो। नगरको विभिन्न क्षेत्रका अव्यवस्थित बसोबास, सुकुम्बासी तथा सीमान्तकृत समुदायलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाइने मेयर पदका उम्मेदवार घिमिरेले उल्लेख गर्नुभयो ।
यसैबीच तिलोत्तमाको वडा नं. १३ मा घरदैलो अभियानका क्रममा काँग्रेस, माओवादी केन्द्र लगायतका दल छाडेर एमालेमा समाहित भएका १६ जनालाई एमाले उम्मेदवारहरुले स्वागत गर्नुभएको छ । यसरी समाहित हुनेहरुमा लक्ष्मी थारु, वसन्ती थारु, शान्ति थारु, असीमता थारु, पोल्टी थारु, अर्जुन थारु, प्रसिता थारु, लिलावती थारु, मालती थारु, रेणु थारु, मीना कोइरी, कमला थारु, सुन्दरदेव थारु, राधेश्याम कोइरी रहनुभएको छ ।
उहांहरुलाई एमालेका मेयरका उम्मेदवार वासुदेव घिमिरे, उपमेयरी उम्मेदवार जागेश्वरी चौधरी, नगर संगठन कमिटी संयोजक यज्ञ गैरे, एमाले जिल्ला सदस्य खुमाकान्त पौडेल, वडा नं. १३ का अध्यक्ष गणेश न्यौपानेलगायतले स्वागत गर्नुभएको थियो । एमालेले बिहीबार तिलोत्तमा १३ को बिसौलियामा घरदैलो गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top