बजेट रकमान्तर गरी भरतपुरमा रेणुलाई ६ अर्व चुनाव खर्च छुट्याइएको कांग्रेस सांसदको खुलासा

राजनीति साउन २ २०७४ .
Xsarvajanik lekha samiti baithak 281 29.jpg.pagespeed.ic.wi0oeob2tv

 काठमाडौं, साउन २ – स्थानीय तहको पहिलो चरणमै बैशाख ३१ गते चुनाव भएर हालसम्म पनि नतिजा रोकिएको भरतपुर महानगरपालिकामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाललाई राज्यकोषबाट ६ अर्व रुपैयाँ चुनाव खर्च छुट्याइएको सत्तारुढ दलका सांसदहरुले नै खुलासा गरेका छन् । बिहीवार बसेको संसदको लेखा समिति बैठकमा बजेट रकमान्तर गरी ६ अर्व रुपैयाँ भरतपुरमा खर्च गरिएको कांग्रेस सांसद रामहरि खतिवडाले वताउनु भएको हो ।

तत्कालीन प्रधानमन्त्री पुत्री रेणु उम्मेदवार भएको भरतपुर महानगरपालिकामा उहाँका पक्षमा मतदाता प्रभावित पार्न उक्त रकम खर्चिएको भन्दै लेखासमितिको बैठकमा कुरा उठेको हो । ‘सरकारले कुनै पनि क्षेत्रमा बजेट रकमान्तर गर्दा संसदको स्वीकृति लिनु पर्छ तर, चितवनमा विना स्वीकृति ६ अर्व रुपैयाँ रकमान्तर गरेर बाँडियो’ खतिवडाले भन्नुभयो, ‘त्यो पनि भरतपुरमा मात्रै घरघर सम्मको धाराका लागि भन्दै चुनावका मुखमा करोड करोड बाँडिएको छ ।’

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र बजेट महाशाखाका प्रमुख केबलकृष्ण भण्डारी समेत उपस्थित रहेको समितिको बैठकमा कांग्रेस सांसद खतिवडाले प्रत्येक घर र व्यक्तिलाई लक्षित गरी भरतपुरको चुनावमा बजेट बाँडिएको बताउनु भयो । ‘चितवनमा त कतिसम्म भएको छ भने फलानाका घरदेखि फलानो अर्यालका घरसम्मको बाटो पिच गर्न दुई करोड, धारोसम्म १ करोड भनेर बजेट दिइएको छ,’ कांग्रेस सांसद खतिवडाले भन्नुभयो, ‘यसरी रकमान्तर गर्न मिल्छ ? तर, त्यो भएको छ । हामीसँग प्रमाण छ ।’

भरतपुरमा यसरी बजेट रकमान्तर गरी तत्कालीन प्रधानमन्त्री पुत्रीको चुनाव खर्चमा राज्यकोष दुरुपयोग हुँदा तत्कालीन अर्थमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महराले झुठो बोलेको समेत उहाँले वताउनु भयो । ‘त्यसबेलै समितिमा सोधिएको थियो तर, तत्कालीन अर्थमन्त्री र सचिवले विवरण दिनु भएन’ खतिवडाले भन्नु भयो, ‘लगत्तै जानु भएका अर्थमन्त्रीलाई बोलाएर रकमान्तरको विषयमा सोधेका थियौं ।  तर उहाँ र अर्थ सचिवले कहिँकतै रकमान्तर भएको छैन भन्नुभयो ।’ मन्त्रीको भनाइमा विश्वास नलागेर अर्थ मन्त्रालयको तथ्यांक हेर्दा चितवनमा मात्रै ६ अर्ब रकमान्तर गरिएको भेटिएको खतिवडाले खुलासा गर्नु भयो ।

उहाँले चुनावका बेला चितवनमा मात्रै नभएर रुकुम, रोल्पालगायतका ठाउँमा आफूखुसी रकमान्तर गरिएको प्रमाण भेटिएको वताउनु भयो । ‘माथि आफ्नो मान्छे हुनेले चुनावमा राज्यकोषबाट रकमान्तर गरी बजेट पाउने तर नहुनेले नपाउने प्रवृत्ति नहोस्,’ खतिवडाले भन्नुभयो ।

राज्यकोषबाट ६ अर्व खर्च गरेर र सत्तारुढ दलहरुबीच गठबन्धन गरेर चुनाव लड्दा पनि तत्कालीन प्रधानमन्त्री पुत्रीले भरतपुरको मेयरमा मतगणनाका क्रममा अग्रता कायम गर्न सक्नु भएन । त्यसपछि मतगणना अन्तिम अवस्थामा पुगेका बेला मेयर उम्मेदवार दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको कसुरमा उहाँहरु सजायको भागीदार रहेको ठहर भए पनि निर्वाचन आयोगले कसुरदारकै माग अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो । पुन मतदान गर्ने आयोगको निर्णयलाई सर्वाेच्च अदालतले अन्तरिम आदेश मार्फत रोकेको छ भने अन्तिम फैसला अझै भएको छैन ।

भरतपुर महानगरपालिकामा वडा नम्बर १९ मा पुन मतदान गराउने कि मतगणना अघि बढाउने टुंगो लागेको छैन । २० नम्बर वडाको मतगणना हुन बाँकी नै छ । मतगणना सम्पन्न भएको नतिजामा एमाले उम्मेदवार देवी ज्ञवाली ७८४ मतले अगाडि हुनुहुन्छ ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार रहनु भएका दिनेश कोइरालाको उम्मेदवारी कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई पत्र लेखेर फिर्ता गराउनु भएको थियो । कांग्रेस–माओवादी तालमेल रहेको भरतपुरमा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई चुनाव खर्च समेत माओवादी मेयरका उम्मेदवार तथा तत्कालीन प्रधानमन्त्री पुत्री दाहालले दिनु भएको कांग्रेस कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत खुलासा गरिसकेका छन् । मेयरमा आफ्नो पक्षमा मत प्रभावित गर्न प्रत्येक वडाका कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई रेणुका तर्फबाट चुनाव खर्च दिइएको उनीहरुले सार्वजनिक गरेका हुन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top