कांग्रेसको लफडाले ५ बजे तय भएको सपथ स्थगित, सपथको तयारीमा रहेका माओवादी मन्त्री अलपत्र

राजनीति साउन १० २०७४ .
Pm office

काठमाडौं,साउन  १० –मंगलवार अपरान्ह ५ वजेका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरुको सपथग्रहण समारोह आयोजना गर्न औपचारिक जानकारी गराएर पनि मन्त्रालय भागबण्डामा कांग्रेसका दुई गुटको झगडा बल्झेका कारण सपथग्रहण स्थगित हुन पुगेको छ । मुख्यसचिवले मन्त्रिपरिषद् विस्तार र नयाँ मन्त्रीहरुको सपथग्रहणका लागि मंगलवार ५ बजेको समय राष्ट्रपति कार्यालयसँग माग गर्नु भएको थियो ।

सोही अनुसार राष्ट्रपति कार्यालयले ५ बजे नयाँ मन्त्रीहरुको सपथग्रहणका लागि कार्यक्रम समेत तय भएको जानकारी दियो । तर, कांग्रेसको भागमा परेका बाँकी १० मन्त्रालयमा देउवा समुह ४, पौडेल समुह ४ सिटौला र खुमबहादुर खड्का समुह १, १ गरी लगाइएको अनौपचारिक भागबण्डामा फेरि लफडा पर्यो । कांग्रेसको आन्तरिक लफडाका कारण नयाँ मन्त्रीहरुको सपथग्रहण कार्यक्रम सरेको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै आफ्नो गुटबाट तीनजनालाई मन्त्री बनाइसकेकाले बाँकी भागबण्डामा आफू चारवटा मात्रै मन्त्रालयमा सहमत हुन नसक्ने वताएपछि देउवा तनावमा पर्नु भएको हो । ‘यसअघि लिइसकेका मन्त्रालयमा शेरबहादुरजीले आफूखुसी निर्णय लिनु भएको हो, बाँकी १० मन्त्रालयमा ५ वटा हामीले सिफरिस गरे अनुसार हुनु पर्ने भनेका थियौं’ पौडेल पक्षका एक नेताले भन्नुभयो, ‘तर, त्यसलाई उल्लंघन गरियो हामीलाई यो मान्य छैन ।’

भागबण्डामा पौडेल समुहले चित्त नबुझाएपछि प्रधानमन्त्री देउवा पक्षको बैठक बालुवाटारमा र पौडेल पक्षको बैठक महामन्त्री शशांक कोइरालाको निवासमा बसिरहेको छ ।

यसअघि देउवा समुहबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत,  पौडेल समुहबाट बलबहादुर केसी, रामकृष्ण यादव राजन केसी र सरिता प्रसाईं,  सिटौला समुहबाट  भीमसेनदास प्रधान र खुमबहादुर खड्काको समुहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने नाम देउवाले तय गर्नुभएको थियो ।
मन्त्रालय भागबण्डा मिलाएपछि पनि कांग्रेसमा किचलो देखिएपछि माओवादीबाट सपथग्रहणको तयारीमा रहेका मन्त्रीहरु अलपत्र पर्नु भएको छ ।  सपथग्रहणमा जाने तयारी गरेका  गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली कांग्रेसको लफडाका कारण अलपत्र पर्नुभएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top