दाहालको पार्टी एकता प्रस्ताव भट्टराईद्वारा अस्वीकार

राजनीति साउन १४ २०७४ .
Baburam bhattarai and pushpa kamal dahal

काठमाडौं,  साउन, १४– माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि राख्नु भएको प्रस्ताव नयाँ शक्ति पार्टीले अस्वीकार गरेको छ । दाहालले माओवादीबाट विभाजित भएका मोहन वैद्य, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पुनः पार्टी एकतामा आउन अपिल गर्नुभएको थियो ।

संविधान जारी गरिएकोप्रति असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईले ०७२ असोज ९ गते माओवादी त्याग्नु भएको थियो । संविधान जारी गरेको ६ दिनपछि पार्टी त्याग्नु भएका भट्राईले नयाँ शक्ति पार्टी गठन गर्नु भएको थियो । माओवादीले सत्तामै बसेर गराएको स्थानीय चुनावमा पराजित भएपछि दाहालले पार्टी विघटनको समेत प्रस्ताव ल्याउनु भएको थियो भने माओवादीबाट फुटेर गएका समुहहरुलाई एकतामा आउन आग्रह गर्नुभएको थियो ।

तर, भट्टराईले दाहालको पार्टी एकताको प्रस्तावलाई पूर्ण रुपमा अस्वीकार गर्नुभएको छ । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकाररिणी समितिको बैठकमा भट्टराईले एकताको सम्भावना नभएको वताउनु भएको हो । उहाँले बैठक लगत्तै आयोजना गरेको पत्रकार सम्मेलनमा पनि दाहाललाई पार्टी एकताको सपना नदेख्न सुझाव दिनुभयो ।

साउन पहिलो साता बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले माओवादीबाट विभाजितहरूलाई पार्टी एकतामा आउन आग्रह गर्ने निर्णय गरेको थियो । संघीय समाजवादी फोरमसँगको एकता पनि वैचारिक राजनीतिक र सांगठनिक विषयमा कुरा नमिलेकाले रोकिएको भट्टराईले जानकारी दिनुभयो । नयाँ शक्ति पार्टीले पार्टीको केन्द्रीय कार्यकारी समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको छ ।
 

 

प्राप्त प्रतिकृयाहरू

To Top