डोकलाम विवाद : दुई छिमेकीको आँखा अब नेपालमा

विश्व साउन २२ २०७४ एजेन्सी
Sushma wang qksydowuc5

एजेन्सी, साउन २२। डोकलाम क्षेत्रमा भारत र चीनबीच देखिएको सीमा विवाद लम्बिँदै जाँदा दुई छिमेकी मुलुकले नेपालमा कुटनीतिक लबिङ शुरु गरेका छन् । एक अर्कालाई ‘काउन्टर’ दिनका लागि पछिल्लो समय नेपालमा दुवै देशका कुटनीतिक प्रतिनिधिहरु सक्रिय देखिएका छन् ।

विशेष गरेर चीनले नेपालसँग डोकलाम विवादको विषयमा छलफल गर्ने बताएपछि भारत सशंकित बनेको छ । विवादीत क्षेत्र नजिक नेपाल–चीन–भारतको त्रिदेशीय विन्दु पनि रहेका कारण चीनले नेपालसँग विवादबारे छलफललाई अघि बढाएको हो । पछिल्लो समय नेपालमा आफ्नो प्रभाव फितलो पर्दै गएकोमा भारतलाई यो चिन्ताको विषय बनेकोटाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

गत जुन २१ मा चिनियाँ उपविदेशमन्त्री कोङ जुवानयुले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा डोकलाम विवादको विषय उठाएको दाबी समाचारमा गरिएको छ । भेटका क्रममा चिनियाँ डेलिगेसनले नेपाललाई विवादमा आफ्नो पोजिसन प्रष्ट पारेको बताइएको छ ।

बेइजिङले नयाँ दिल्लीसँग डोकलाम विवादका विषयमा सार्थक वार्ता गर्न पहिले भारतीय सेना पछि हट्नुपर्ने बताउँदै आएको छ । यही बीचमा चिनियाँ अधिकारीहरुले काठमाडौँ र बेइजिङमा नेपाली अधिकारीहरुसँग छलफल गरेको समाचारमा उल्लेख गरिएको छ ।

चीनले आफ्नो कुटनीतिक लविङ सार्वजनिक गरे पनि भारत यस विषयमा मौन रहँदै आएको छ । केही हप्ताअघि भने भारतले अमेरिकी कुटनीतिज्ञहरुसँग यस विषयमा छलफल भने गरेको थियो ।

नेपालले पनि डोकलाम विवादबारे भारतीय अधिकारीहरुसँग छलफल नगरेको बताइएको छ । नेपाल–चीन–भारतबीच दुईवटा त्रिदेशीय विन्दु रहेका छन् एउटा लिपुलेक र अर्को झिन्साङ चुलीमा । यसले गर्दा पनि भारत र चीनबीच लामो विवाद भए यो काठमाडौँको हितमा नहुने विज्ञहरुले बताउँदै आएका छन् ।

कालापानी क्षेत्रमा रहेको लिपुलेक क्षेत्र यसअघि नै विवादीत रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा चीन भ्रमणको दौरान लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने सम्झौता गरेपछि नेपालमा त्यसको ठूलो विरोध भएको थियो । यो विषयले संसदमासमेत प्रवेश पाएको थियो र यसले नेपालको सार्वभौमिकतामा हस्तक्षेप भएको भन्दै दुई देशबीचको सम्झौताबाट यो बुँदालाई हटाउन माग गरिएको थियो ।

आगामी हप्ता नेपालमा दुई छिमेकीबाट हाइप्रोफाइल भ्रमण हुँदैछन् । बिमस्टेकका लागि अर्को हप्ता भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनेछिन् भने लगत्तै अगस्त १४ मा चिनियाँ भाइस प्रिमियर वाङ याङ पनि उच्चस्तरीय छलफलका लागि नेपाल आउनेछन् ।

दुवै नेताले नेपालमा छँदा डोकलामको विषय उठान गर्ने अनुमान गरिएको छ । त्यस्तै स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी गर्ने पनि बताइएको छ ।

वाङले भ्रमणका बेला वान–बेल्ट–वान–रोडमा नेपालको प्रतिबद्धताबारे पनि छलफल गर्ने बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top