‘रेलको डिब्बा उछिट्टिएर मेरो घरमाथि खस्यो, जस्तो फिल्ममा देखिन्छ’

विश्व भाद्र ४ २०७४ एजेन्सी
Railaccident

कुलदीप मिश्रा /बीबीसी
भदौ ४,
भारतको खतौलीमा भएको रेल दुर्घटना यात्रीका लागिमात्र नभई ट्र्याकको वरिपरि बनाइएका केही घर र एक इन्टरकलेजका लागि पनि समस्या बन्यो ।

कलिंग–उत्कल एक्सप्रेसको एस–५ डिब्बा निकै टाढासम्म उछिट्टिएर एक इन्टरकलेज र थुप्रै घर बज्रिन पुग्यो । इन्टरकलेजमा त्यति धेरै क्षतीको खबर आएको छैन तर पिन्टु चौधरी नामका एक किसानको घरमा एस–२ डिब्बा खस्यो र उनको घरमा निकै क्षती भएको छ ।

पिन्टु चौधरीले भने, ‘म, बुवा र आमा ग्यालरीमा बसिरहेका बेला उक्त दुर्घटना देख्यौं । यो यति ठूलो रेल दुर्घटना थियो कि सायद कसैले यस्तो दुर्घटना देखेका छैनन् होला । उक्त दुर्घटनाका कारण मेरो बुवाको खुट्टाको हड्डी टुटेको थियो । एक डिब्बा उछिट्टिएर मेरो घरभित्र छिर्यो । मेरो घर अगाडिबाट नराम्रोसँग फुटेको छ । भित्र पनि चिरा परेका छन् ।’

पिन्टुले भने, ‘करिब साढे पाँच बजे उक्त दुर्घटना भयो । पुरी–हरिद्वार एक्सप्रेस खतौलीमा रोकिएन किनभने त्यहाँ त्यसको स्टपेज छैन त्यसकारण त्यहाँ रेलको गती धेरै हुने गर्दछ । डिब्बा मेरो नजिकै आएर खसेको थियो  । उक्त डिब्बा मैले आफ्नो आँखाले उडिरहेको देखें जस्तो फिल्ममा देखिन्छ ।’

पिन्टुले पहिले त आफ्ना बुवालाई बचाए । उनी भन्छन्, ‘निकै अँध्यारो भइसकेको थियो र धुलो अत्यधिक उडिरहेको थियो । करिब १० मिनेटपछि जब धुलो हट्यो त्यतिबेलासम्म धेरै मानिसहरु मद्दतका लागि पुगिसकेका थिए र उनीहरुले यात्रुको मद्दत सुरु गरे । प्रशासन निकै बेरपछि त्यहाँ पुग्यो तर स्थानीयले मद्दत गरे ।’

जतिबेला उनको घरमा रेलको डिब्बा खस्यो त्यतिबेला मानिसहरुको चिच्याहट सुनिएको थियो ।

उनले भने, ‘ट्र्याकमा टुटेको भएर शनिबार पनि मर्मतको काम चलिरहेको थियो । डेढ, दुई महिना पहिले त्यहाँ दुर्घटना हुनबाट बचेको थियो ।’

 

प्राप्त प्रतिकृयाहरू

To Top