निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल सच्चाउन यादवको माग

राजनीति भाद्र १६ २०७४ रासस
Upendrayadav

काठमाडौं भदौ १६– संघीय समाजवादी फोरम नेपालले हालै निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणप्रति आपत्ति जनाउदै सच्चाउन माग गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो प्रतिवेदन संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरेको, मधेशमैं मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास भएको तथा मधेशी समुदायप्रति पूर्णरुपले विभेद गरेको भन्दै प्रतिवेदन विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको बताएका छन् ।
अध्यक्ष यादवले एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेशमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेशमा गैरमधेशी समुदायको वर्चस्व कायम गर्नेगरी अधिकांश क्षेत्रको पुनर्संचना गरिएको जनाएका छन् ।
त्यसैगरी, पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षड्यन्त्र गरिएको संघीय समाजबादी फोरमले आपत्ति जनाएको छ ।
आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा त्यसो नगरी नेपाली कांग्रेसको स्वार्थपूर्ति हुनेगरी क्षेत्र निर्धारण गरिएको भन्दै फोरमले प्रतिवेदन तत्काल सच्याउँन माग गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top