भारतले नेपाललाई सुरक्षाको दृष्टिबाट मात्रै हेर्‍यो, लगानी ल्याउँछ भन्ने लाग्दैन : डा. भट्टराई

राजनीति भाद्र २० २०७४ .
Babu ram 1

काठमाडौं,भदौ २० ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतले नेपालमा लगानी बढाएर समृद्ध देश बनाउन सहयोग गर्छ भन्ने आफूलाई लाग्न छाडेको बताए । भारतले नेपाललाई सुरक्षा चासोकै दृष्टिबाट हेरेको र आफू अनुकुल आन्तरिक राजनीतिमा खेलेर सुरक्षा चासो संबोधन गर्ने गरेको उनको भनाइ छ। 'यो कुरा मैले अर्थमन्त्री हुँदा नै महसुस गरेको थिएँ, उसले नेपाललाई सुरक्षा चासोकै रुपमा हेरेको पाइयो। उसको मानसिकता हिमालको सेरोफेरो सुरक्षा घेरो भन्ने मानसिकताबाट माथि उठेको देखिएन' सोमबार पत्रकारहरुसँगको छलफलमा भट्टराईले भने। भारतले नेपालमा लगानी बढाएर समृद्ध देश बनाएर आफ्नो सुरक्षा चासो संबोधन गर्नुभन्दा राजनीतिक र फौजी ढंगबाटै नेपाललाई नियन्त्रणमा राख्न खोजेको देखिएको भट्टराईले बताए।

'यो भारतकै लागि पनि काउन्टर प्रोडक्टिभ (प्रत्युत्पादक) हो। नेपालको हितमा त झन् छँदै छैन' उनले भने। भारतले नेपालमा शान्ति सुरक्षा र समृद्धि ल्याएर भन्दा पनि आन्तरिक राजनीतिमा खेलेर आफ्नो मित्रशक्तिलाई प्रयोग गरेर सुरक्षा चासो संबोधन गर्न खोजेको देखिएको भट्टराईको बुझाइ छ। 'त्यसैले अब म के निश्कर्षमा पुगेँ भने भारतको परनिर्भरताबाट मुक्त नभएसम्म हामी अगाडि जान सक्दैनौं।' भारत र चीनबीचको डोकलाममा देखिएको विवाद नेपालका लागि पनि गम्भीर खतरापूर्ण रहेको भट्टराईले बताए। 'हाम्रो लिपुलेक जस्ता क्षेत्र पनि डोकलामजस्तै हो। भोलि त्यस्तै घटना त्यहाँ पनि नहोला भन्न सकिदैन। त्यसैले डोकलाम नेपालका लागि गम्भीर विषय हो। हामी बेलैमा सचेत हुनुपर्छ।

' भारत र चीनको द्वन्द्वले नेपालको राजनीति नै ध्रुवीकृत हुन्छ उनले भारत र चीनबीचको बढ्दो द्वन्द्वले नेपालको राजनीति अबका दिनमा झन् पेचिलो हुने बताएका छन्। भारत र चीन दुबैले आफू अनुकुल बनाउन खोज्दा नेपाल आन्तरिक राजनीति तीब्र ध्रुवीकरण हुने खतरा देखिएको बताएका हुन्। 'पहिला भारत र चीनबीच कोअपरेसन (सहकार्य) र कम्पिटिसन (प्रतिस्पर्धा) को सम्बन्ध थियो। अहिले कम्पिटिसन भन्दा पनि कन्फ्रन्टेसन (मुठभेड) डोकलाममा देखियो' उनले भने, 'हाम्रो देशको राजनीति सुगौली सन्धीपछि त्यसबाट (भारत चीनको सम्बन्ध) निर्णायक ढंगले प्रभावित हुने गरेको छ। नेपालको आन्तरिक राजनीति पनि दुई ध्रुवमा बाँडिएला जस्तो छ। एउटा प्रो इन्डियन फोर्स, इन्डियाले पुस गर्न खोज्ने, एउटा इन्टी इन्डियन, स्वत नै प्रोचाइनिज हुनेछ।

' दुबै देशले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न नेपालको आन्तरिक राजनीति आफू अनुकुल बनाउन खोज्ने भट्टराईले बताए। भारत र चीनको प्रतस्पर्धाका कारण नै नेपालमा विदेशी लगानी आउन नसकेको र सरकार पनि अस्थिर भएको भन्दै उनले नेपालको हित गर्ने (प्रोनेपाली) राजनीति भने खतरामा पर्ने दावी गरे। आफूले भारत र चीनबीच यतिछिटै द्वन्द्व सुरु हुने अनुमान नगरेको भन्दै डा. भट्टराईले अमेरिकामा डोनाल्ड ट्रम्पको उदयले भारत र चीनबीचको सम्बन्धमा चिसोपना ल्याएको बताए। भारत र चीनबीचको द्वन्द्व हामीले सोचेभन्दा छिटो हुन थाल्यो' उनले भने, 'खासगरी ट्रम्प (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प) को आगमनपछि। त्यो कुरा डोकलाममा देखिइसक्यो।'

प्राप्त प्रतिकृयाहरू

To Top