भरतपुर कार्यपालिकामा एमालेले बहुमत

राजनीति भाद्र ३१ २०७४ .
Chitwan 768x461

चितवन भदौ,३१  । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो ।

५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले स्थिति उल्ट्याइदिएको हो । महानगरपालिकाको मतको ‘कम्पोजिसन’ एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र महिला ३/३ पदमा जितेर महानगरको मेयर रेणु दाहाललाई एमालेसँग सहकार्य नगरी अघि बढ्न नसक्ने ठाँउमा पुर्याएको छ ।

कार्यपालिका सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका १ महिला र २ दलित सदस्य पराजित बने । कांग्रेसका ४ महिला सदस्यमध्ये २ विजयी भए भने २ जना पराजित भएका छन् । कांग्रेसको १ दलित सदस्य पनि पराजित बनेका छन् । २ जना महिला शुरुमा नै निर्वाचित भए पनि कांग्रेस र एमालेका २/२ जनाको मत बराबर ७२–७२ भएपछि गोलाप्रथाबाट सदस्य चयन गरिएको थियो । गोलाप्रथामा एमालेका २ जना र कांग्रेसबाट १ जना महिला चयन भए ।
गोलाप्रथाबाट थपिएको १ महिला सदस्यकै कारण वोर्डमा एमालेले बहुमत जुटायो । कूल १४७ जनाले मतदान गरेका थिए ।

एमालेबाट वोर्ड सदस्यमा धनकुमारी विक, पार्वती विक, विना गुरुङ, चक्र रुचाल, टेकलाल विश्वकर्मा र मानबहादुर विश्वकर्मा विजयी भए । कांग्रेसबाट गीताकुमारी शर्मा र पवित्रा केसीले जितेका छन् । महानगरपालिकाको ३९ सदस्यीय बोर्डमा एमालेबाट २० र कांग्रेस माओवादी गठवन्धनबाट १९ सदस्य भएका छन् । एमालेबाट १४ जना निर्वाचित वडाध्यक्ष, कार्यपालिकाबाट थपिएका ६ जना सदस्य गरी २० जना भएका छन् ।
कांग्रेसका निर्वाचित १२ जना वडाध्यक्ष, कार्यपालिकामा निर्वाचित २ जना महिला सदस्य, माओवादीका ३ जना वडाध्यक्ष, एवम् मेयर र उपमेयर गरी १९ जना वोर्ड सदस्य बनेका छन् । भरतपुर महानगरमा २९ वडा छन् । एमालेले चितवनका सात स्थानीय तह मध्ये ६ स्थानीय तहको वोर्डमा वहुमत बनाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top