२ नम्बर प्रदेशमा मतदाताको उल्लासपूर्ण सहभागिता

राजनीति असोज २ २०७४ .
Matadan

काठमाडौं, असोज २– प्रदेश नम्बर २ का आठ जिल्लामा स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । मतदताहरु बिहानैबाट तोकिएको मतदान केन्द्रमा पुगेर मतदानमा सहभागि भइरहेका छन् । मतदानमा मतदाताको उत्साहपुर्ण सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।

केही मतदान केन्द्रबाहेक सवैजसो मतदान केन्द्रमा बिहान सातै बजेबाट सुरु भएको मतदानको डेढ घण्टामा १५ प्रतिशत मत खसिसकेको छ । प्रदेश नम्बर दुईका १३६ स्थानीय तहमा मतदान भएको हो । तेस्रो चरणमा प्रदेश नम्बर दुईमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा मतदान भइरहेको छ । मतदताले यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित गर्दैछन् ।

मतदानमा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई पनि सहजै मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

तेस्रो चरणको निर्वाचनमा जम्मा ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी परेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुष भन्दा महिला उम्मेदवारी बढी छन् । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् ।

निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र तोकिएका छन् । यो निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ । ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गरिरहेका छन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top