लकडाउन जेठ ३२ गतेसम्म, संक्रमित क्षेत्रमा सेना परिचालन,  हवाई उडान असार १६ सम्म बन्द

राजनीति जेठ १८ 2077 ekhabarnepal
5ed283380beb2 cabinate decision


काठमाडौँ, जेठ  १८ गते । सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको छ ।
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले जारी बन्दाबन्दी जेठ ३२ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यसअघि सरकारले जेठ २० गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न बन्दाबन्दी प्रभावकारी भएको निष्कर्ष सरकारको छ । चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी जारी छ ।
प्रवक्ता डा।खतिवडाले बन्दाबन्दीको स्वरुप परिमार्जनबारे समेत छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार, कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई बन्दाबन्दीको परिमार्जित स्वरुपबारे छलफलगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।
प्रवक्ता डा. खतिवडाले सङ्क्रमणको जोखिम सीमा पारीबाट बढेकाले सीमा प्रवेशमा कडाई गरिने समेत बताउनुभयो । त्यसका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।
उहाँले बजेटबारे सङ्क्षिप्त प्रतिक्रिया दिदै स्वास्थ्य क्षेत्रको चुनौतीलाई सम्बोधन गर्ने बजेट सरकारले ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकभित्रको बेरोजगारी र विदेशबाट आउने युवालाई कसरी रोजगारीमा आवद्ध गर्न सकिएला रु भन्ने विषयमा समेत बजेट केन्द्रित छ ।”
उहाँले थप्नुभयो, “श्रमिक, व्यवसायी, कृषक, निर्माण व्यवसायी सबै क्षेत्र अप्ठेरोमा छ । सबै क्षेत्रमा राहत र अनुदानको कार्यक्रम अगाडि बडाइएको छ ।”
उहाँले पूर्वाधारको क्षेत्रमा केही बजेट कटौती भएको तर कृषिमा लगानी बृद्धिसँगै सामाजिक र आर्थिक क्षेत्रमा बजेट केन्द्रित भएको बताउनुभयो ।


  संक्रमित क्षेत्रमा सेना परिचालनको निर्णय 

सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।

 मन्त्रिपरिषदको बैठकले सेनालाई थप जिम्मेवारी दिने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। दिनदिनै कोरोनाको संक्रमण बढ्दै गएको र विदेशबाट समेत नागरिक ल्याउनु पर्ने अवस्था भएकाले व्यवस्थापनको काममा सेनालाई अझ सक्रिय बनाउने निष्कर्षमा सरकार पुगेको हो।

मन्त्री त्रिपाठीले भने, ‘सेना परिचालन भन्नाले परम्परागत बुझाइ जस्तो होइन। कोरोनाको रोकथाम र नियन्त्रणका लागि सेनालाई थप जिम्मेवारी दिने निर्णय भएको हो।’

सरकारले विदेशमा रहेका नागरिकलाई प्राथामिकता तोकेर स्वदेश फर्काउने निर्णय गरेसँगै क्वारेन्टिनको निर्माण गर्ने, आएकालाई तोकिएको क्वारेन्टिनसम्म पुर्‍याउने, औषधिलगायत अन्य अत्यावश्यकीय सामाग्रीको व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिएको हो।

मन्त्रिपरिषद् बैठक अघि राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा समेत तीनवटै सुरक्षा निकायलाई परिचालन गर्ने विषयमा छलफल भएको थियो।

यस्तै सरकारले लक डाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने र हवाइ उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए।

 

प्राप्त प्रतिकृयाहरू

To Top