नेपाल हेपिन तयार छैन: प्रधानमन्त्री ओली 

राजनीति जेठ २८ 2077 ekhabarnepal
Pm oli

काठमाडौँ ,जेष्ठ २८
 प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई नहेप्न पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्मरण गराए ।
प्रधानमन्त्री ओलीले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’ योगी आदित्यनाथ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको भन्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीका हिसाबले बोलेको हो भने आलोचनायोग्य अभिव्यक्ति दिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँ मुख्यमन्त्रीका हिसाबले यदि त्यस्तो बोलेको हो भने बोल्नु भएको हो भने आलोच्य विषय हो । यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए । भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले ‘नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोऱ्याउन’ चेतावनी दिएका थिए ।
उनले भारत र नेपाल दुई अलग राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै शताब्दीदेखिको सांस्कृतिक, ऐतिहासिक र पौराणिक सम्बन्ध नेपालले बिर्सन नहुन बताएका थिए ।

उनले नेपाललाई राजनीतिक सीमा तय गर्नुभन्दा पहिले त्यसबाट पर्ने प्रभावका बारेमा ध्यान दिनु आवश्यक रहेको बताएका थिए । भारतसँगको सीमा विवादमा चीनको कुरा मानेर किचलो गरेपछि तिब्बतमा सिर्जित अवस्थाको प्रसंग कोट्याउँदै त्यस्तो गल्ती नगर्न नेपाललाई मुख्यमन्त्री योगीले चेतावनी दिएका थिए ।

 सीमा विवादको विकल्प नेपाली भूमि फिर्ता

 कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतसँगको सीमा विवाद समाधानको विकल्प नेपाली भूमि फिर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा भारतले सैनिक बसालेर कब्जा गरेको नेपालको भूमि फिर्ता गर्नु नै समस्याको समाधान रहेको बताएका हुन् । 

भारतसँगको सीमा विवाद प्रमुख रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको बताउँदै ओलीले उक्त भूमि फिर्ता हुनुपर्ने बताएका हुन् । 'कालापीनीमा भारतीय फौज बसेर त्यसभन्दा परको लिपुलेक र लिम्पियाधुरालाई भारतले कब्जा गरेको छ । हामीबाट त्यो भूमि भोगचलन गर्न सेना राखेर छुट्याइएको हो । सेना राखेर भोगचलन गर्न नदिइएको हो । यो कब्जा हो,' प्रधानमन्त्रीले थपे, 'यो उचित भएन भनेर हामी हाम्रो मित्रराष्ट्र भारतलाई भनिरहेका छौं । तथ्य, प्रमाणका आधारमा भनिहरेका छौं भूमि फिर्ता गर्नुपर्छ । कालापानी विवादको समाधान भनेको हाम्रो भूमि फिर्ता गर्नु हो ।'

प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन भारतका प्रधानमन्त्रीले नबुझ्नु असहज र अस्वाभाविक रहेको प्रधानमन्त्रीको भनाइ छ । सांसदहरूले भारतले ईपीजीको प्रतिवेदन कहिले बुझ्छ र कहिले कार्यान्वयन हुन्छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले भने, 'उहाँहरूले बुझ्नुभएको छैन । यो एउटा दुःखद् हो । दुई वर्षदेखि भारतको रुचि नदेखिनु सहज र स्वाभाविक कुरा होइन ।'

प्राप्त प्रतिकृयाहरू

To Top