संविधान संशोधन विधेयक आज पारित हुँदै,निशान छापमै लिपुलेकसहितको नक्सा

राजनीति जेठ ३१ 2077 ekhabarnepal
5ee41b0354903 5ed842f6917eb samsad parliament nepal 2 660x400 2x

काठमाडौँ, जेठ ३१ गते । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।
सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
 संविधान संशोधन विधेयकमाथि एक संशोधन प्रस्ताव पनि दर्ता भएको छ । पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन नै दिए पनि प्रस्ताव फिर्ता भएको छैन । प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ ।

शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् । 
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो । यसैबीच जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता केशव झाले बताउनुभयो ।  

सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै सरकारले निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले सरकारले प्रतिनिधिसभा विधेयक दर्ता गराएको हो।

यो विधेयक पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक ०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

दफाबार छलफलपछि उनीमार्फत नै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ। दार्चुलाको लिम्पियाधुरा, कुटी, गुन्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो।

नेपालको भूमिलाई नक्सामा समेट्ने सम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन्।

नेपालको नक्साअनुसारको निशान छाप परिवर्तनका लागि सरकारले ९ जेठमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। जनता समाजवादी पार्टीले पनि संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

जसपा नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको अध्यक्षतामा शुक्रबार बसेको पदाधिकारी बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

यसअघि समाजवादी र राजपा नेपालले विभिन्न २३ बुँदे माग राख्दै संसद सचिवालयमा छुट्टै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गराएका छन्। तर हालसम्म त्यो विधेयकको बारेमा कुनै निर्णय भएको छैन।

प्राप्त प्रतिकृयाहरू

To Top