गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीबाट आह्वान

राजनीति मंसिर २३ 2077 ekhabarnepal
Allparties meeting 4 scaled

काठमाडौँ, मङ्सिर २३ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पार्नुभएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेससहितका विपक्षी दलका नेताहरुले सरकार जनताको भावना विपरीत चलेको र जनता अपेक्षा अनुसार काम गर्न असफल भएको बताए ।

बालुवाटारमा भएको बैठकबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका नेता डा‍. प्रकाशशरण महतले भने, ‘हामीले सरकार कोभिड–१९ को महामारी नियन्त्रण तथा त्यससँग जोडिएका विषयमा सरकार पूर्ण रुपमा असफल भएको बतायौँ । रोकथाम र उपचारमा नागरिकको पहुँच दिन सकेको छैन । सचेतना अभियान कमजोर भयो । स्वास्थ्यकर्मीको सुरक्षा हुन सकेन ।’

सरकारको तर्फबाट भ्रष्टाचार तथा अनियमितता, विभेदकारी र मदनकारीसत्ता एवम् लोकतान्त्रिक संविधानको मर्म विपरित कमजोर बनाउने प्रयास भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।

हिन्दू राज्य तथा राजसंस्थाको पक्षमा सडकमा भइरहेका आन्दोलन पनि सरकारप्रति जनताको असन्तुष्टिकै परिणाम रहेको बताएको कांग्रेस नेता डा। महतले बताए । उनले भने, ‘त्यो वर्तमान सरकारप्रतिको असन्तुष्टि हो, विभिन्न कोणबाट आ–आफ्नो हित अनुकुल प्रयोग गर्ने प्रयास भएको छ । संविधान कार्यान्वयनमा सरकारले गम्भीर त्रुटि गरेको छ ।’
 राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भ्रष्टाचार तथा अनियमितता भएको बताएको जानकारी दिए । यस्तै सरकारको कार्यशैलीका कारण अहिले विभिन्न खालका जनताका असन्तुष्टि सडकमा देखिन थालेको बताएको उनले उल्लेख गरे ।
 राप्रपाका नेता दीपक बोहोराले आफ्नो पार्टीले वर्तमान संविधानप्रति प्रतिवद्धता जनाउँदै हाल भइरहेका प्रदर्शनहरुमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए । उनले भने, ‘हामीले यहि संविधान भित्र हिन्दू राज्य र राजसंस्थाको स्थानका सम्बन्धमा सर्वदलीय छलफल गर्न प्रस्ताव गरेका थियौँ । तर अरु कुनै दलले यसबारे कुनै कुरा उठाएनन् ।’

प्रधानमन्त्री ओलीले सबै आलोचना तथा सुझावलाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएको नेताहरुले जानकारी दिएका छन् । तर उनले केही आरोपहरु भने आधारहिन रहेको समेत बताएका थिए ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा‍. प्रकाशशरण महत सहभागी थिए ।


 

प्राप्त प्रतिकृयाहरू

To Top