सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६

समाज मंसिर २३ 2077 ekhabarnepal
2

काठमाडौं,मंसिर २३ 
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक भएको छ ।

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट मापन गरेर सार्वजनिक गरिएको हो ।
प्राविधिक टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ रहेको तथ्य पत्ता लगाएको हो । मंगलवार नापी विभागमाआयोजित कार्यक्रममा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

वि.सं. २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरू भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
सगरमाथाको नयाँ उचाई घोषणा गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा  नेपाल र चीनको सम्बन्धको प्रतिक भएको बताए।

उनले भने, ‘सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक हो। दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्तबाट मात्रै निर्देशित छैन। आपसी सद्भाव र विश्वासले पनि हाम्रो सम्बन्धलाई निर्देशित गरेको छ।’

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको बताए। उनी भिडियो कन्फ्रेन्समार्फत सहभागी भएका थिए।

उनले भने, ‘हामीले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको छ। त्यसबाट हामी  उत्साहित भएका छौँ। चीनले पनि सगरमाथालाई विश्वासको प्रतिकको रुपमा लिएको छ।’

विदेशमन्त्री वाङ यीले दुई देशबीचको सम्बन्ध यसैगरि विश्वासका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
 

प्राप्त प्रतिकृयाहरू

To Top