नेकपा बैठक ः शोक प्रस्ताव पारित,नारायणकाजीको बचाउमा प्रचण्ड, अर्को बैठक पुस १ गते

राजनीति मंसिर २८ 2077 ekhabarnepal
5fd5cb5ca52e3 cpn sthaisamiti28

काठमाडौं, मंसिर २८ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठकले लामाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामाको निधनको प्रसङ्ग जोडेर प्रवक्ता श्रेष्ठलाई अनावश्यक आक्षेप नलगाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुवैको अध्यक्षतामा बसेको थियो । अर्को बैठक पुस १ गते १ बजे बस्ने उहाँले जानकारी दिनुभयो ।

 कार्यकारी अध्यक्ष प्रचण्डले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताउँदै कमानसिंह लामाको परिवार र एउटा हाइड्रोपावरको विवाद मिलाउन आफूले पनि प्रयास गरेको बताएका थिए ।
‘अध्यक्ष प्रचण्डले शोकाकुल र दुःखी रहेको यस घडीमा कमानसिंह लामा र एउटा हाइड्रोको सामान्य विवादमा पार्टी प्रवक्तालाई मुछेर जे प्रचार भएको छ यो गलत भइरहेको छ भन्ने कुरा राख्नुभयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘बैठकलाई उहाँले आफूले समेत सम्बन्धित पोजेक्टको मान्छेलाई बैठक राखेर कुरा गरेको र प्रवक्ताले तपाईंहरू आफ्नै साथी भएकाले मिल्नुस् भनेकाले यस प्रकारको भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।’

बैठकमा सहभागी अर्का एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले बचाउ गरे पनि अरु नेता मौन बसेका थिए । 

नेकपा केन्द्रीय सदस्य एवं पूर्व राजदूत लामाको हाइड्रोपावरको शेयर विवादमा नारायणकाजीले मध्यस्थता गरेको भिडियो हालसालै बाहिरिएको थियो । 


 

प्राप्त प्रतिकृयाहरू

To Top