फागुन १ गतेको जनसभाले दिएका आठ सन्देश

राजनीति फागुन ३ 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
नेकपाका स्थायी कमिटीका सदस्य एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दुइ दिन अगाडि सामाजिक सञ्जालमा राजधानीका पत्रकारलाई सार्वजनिक आहन गर्दै भन्नुभयो–देशभरीको होइन एउटै प्रदेशका जनताको सहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ ।
धेरैलाई सो स्टाटसले सोंचनीय वनाए होला । राजनीतिमा कहिलेकाँही वढाई चढाई अवश्यै गर्नुपर्छ । तर, पोख्रलको सो आहन वास्तविकतामा आधारित थियो । उहाँलाई यस प्रदेशको पार्टी इन्चार्जका हिसावले सवै पार्टी कसरी परिचालित थियो भन्ने कुराको हेक्का हुनेनै भयो । सवै जिल्लाको रिपोर्टिङ्ग पनि थियोनै । त्यसवाहेक हरेक जिल्लाको सांगठनिक संरचनाको पनि जानकारी थियोे । यसै आधारमा पार्टीले सोंचेको जनसमुदाय बुटवलमा आयो ।
नेकपा टुटेको वा फुटेको अनुभूति फागुन १ गतेको जनसभा हेर्ने कसैले गरेनन् । पुस ५ गते यता विचलित र चिन्ताग्रस्त कार्यकर्तामा उत्साह थप्ने र फेरि पनि चुनावलाई डटेर सामना गर्ने अनुभूति गराएको छ । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यसले कार्यकर्ताको साथ र सहयोग छ भन्ने अनुभूति गराएको छ । यस जनसभाले पार्टी मात्र हैन सिंगो मुलुक, सत्ता वाहिर रहेका दल तथा बाह्य शक्तिलाई दिएका सन्देशलाई यसरी सूत्रवद्व गर्न सकिन्छ ।
१.कार्यकर्ता नेताको पछि मात्र लाग्दैनन् ः अहिलेसम्म के प्रचार गरिदै आएको छ भने कार्यकर्ता नेताका पिछलग्गु मात्र हुन् । उनीहरुमा विवेक हुँदैन । तर, यो सभाले सो कुरालाई अस्वीकार गरेका छ । नेकपामा नेताहरुको कमी थिएन । तीन जना पूर्व प्रधानमन्त्रीहरु एकातिर थिए । पार्टीको मुख्य पदमा पुगेका मुखिया पनि थिए । जनयुद्वका कमाण्डर थिए । झलनाथ जस्ता शालिन र माधव नेपाल जस्ता कुटनीतिक र सादगी नेता थिए । नेपाललाई अन्तर्राष्ट्रिय पहुँच भएका नेता पनि मानिन्छ । त्यसैले त विदेशीसंग हार गुहार गरेका समाचार पनि आइरहेका छन् । पार्टीको सचिवालयमा वहुमत थियो । स्थायी कमिटी र केन्द्रीय कमिटीमा वहुमत थियो । एक हदसम्म यी कुरा सत्यनै थिए । यसैको वलमा आधिकारिकताको दावी पनि रहि आएको छ । तर, कार्यकर्ता विवेकशील रहेछन् । उनीहरु सत्यको पछाडि सतिशाल झैं उभिदा रहेछन् । 
पाँच वर्षका लागि निर्वाचन गरेर पठाएका नेताहरु सत्ता स्वार्थमा अल्झेर राजनीतिक अस्थिरता निम्त्याउने खेललाई कार्यकर्ताले मन पराएका रहेनछन् । नेताहरु आपसमा मिलेर सत्ता चलाउ भनेर सन्देश दिएका छन् । यो सन्देशलाई मान्ने हो भने अव निर्वाचनमा जानुको विकल्प छैन । अझै पनि अलग थलग भएर वस्नुभन्दा आत्मालोचनासहित एउटै पार्टीमा रहने कोशिस गरे हुन्छ ।
 २.कार्यकर्तावाट चुनावको अनुमोदन ः

सरकारले चुनावको घोषणा गरिसकेको सन्दर्भमा यसको औचित्यमाथि प्रश्न उठाइएको छ । खासगरी प्रचण्ड–नेपाल समुहहरु प्रतिगमन भएको घोषणा गर्दै सडक तताइरहेका छन् । केही विपक्षीहरु पनि यसमा साथ दिइरहेका छन् । विकास र सम्वृद्विको नेतृत्व गरेको यो सरकारका विरुद्व अरु कुनै मुद्वा नहोला भनेर यसैमा टेकेर जान खोज्दैछन् । तर, सरकारले गरेको चुनाव घोषणा लुम्विनी प्रदेशका कार्यकर्ता पंक्तिवाट अनुमोदित भएको छ । हुन पनि पहिलो अनुमोदन कार्यकर्तावाटै हुनुपथ्र्यो । भएको छ ।
३.अन्यौलमा रहेकालाई स्पष्ट हुने सन्देशः  पार्टीमा यस प्रकारको विग्रह आएपछि कैयौं कार्यकर्ता निरास छन् । पिडावोधमा छन् । यता कि उता भनेर अन्यौलमा छन् । निष्क्रिय हुनेको संख्या वढेको छ । विभिन्न गलत सन्देशको कारण भ्रममा पनि छन् । कतिपयले अदालतको फैसला कुरेर वसेका छन् ।  कसैले निर्वाचन आयोगको निर्णय कुरेर वसेका छन् । कतिपयले सूर्य चिन्हलाई पर्खेका छन् । यो जनसभाले ती सवै निरास, निष्क्रिय र यो वा त्यो निर्णय कुरेर वसेका नेपाल कम्युनिष्ट पार्टीका तमाम कार्यकर्तालाई आफ्नो वाटो तय गर्न स्पष्ट सन्देश दिएको छ । उनीहरुको पिडामा थोरै भएपनि मल्हमपट्टी लागेको छ । 
४.विर्सायो मंसीर ४ लाई ः बुटवलले खास खास अवसरमा राष्ट्रिय मुद्वामा नेतृत्वदायी भूमिका निर्वाह गर्छ भन्ने कुरामा कसैको विमति छैन । चाहे ०४६÷४७ को जनआन्दोलन होस्, चाहे ०६२÷०६३ को जनक्रान्ति होस् वा एकिकृत लुम्विनीको सवालमा होस् । कुरा त्यतमिात्र हैन विकासका सवालमा पनि रुपन्देहीले अगुवाई गर्दै आएको छ । प्रादेशिक संरचनामा गएपछि सिंगो लुम्विनी प्रदेशले यस प्रकारको अगुवाई गरेको छ भन्दा अन्यथा हुने छैन । राजाले सत्ता हातमा लिएपछि ०६३ सालमा पहिलोपटक बुटवलमा निस्केको विरोधसभाले मुलुकनै तताएको थियो । सो सभाले इतिहास रचेको थियो ।
यो पटक बहुचर्चित मंसीर ४ को सभालाई विर्साएको छ । अर्थात् बुटवलमा शायदै यति ठूलो सभा निस्केको थियो । कार्यक्रम सकिएपछि हामी (जिल्ला पार्टीका सहसंयोजक तेजेन्द्र केसीसमेत) घरतर्फ जाँदै थियौं । बुटवलवाट ५ किमिको सडक पार गर्न साढे दुई घण्टा लाग्यो । दोश्रो दिन पार्टी कार्यालयमा कुरा हुँदै गर्दा थाहा भयो कैयौं गाडीवाट जनसभामा आएका कार्यकर्ताहरु उत्रन सकेनन् । यो वाकीटाकीवाट प्रहरीले दिएको जानकारी थियो । कसै गरी कार्यक्रमस्थलमा आउँदै गरेकाहरु पनि सभामा पुग्न सकेनन् । भित्र वाहिर सवैतिर मान्छेको भिडनै भयो । पहिला आउँदैनन् भनेर खिसीट्युरी गर्नेहरुले पछि यति ठूलो खर्च गरेर मान्छे आसार्ने काम किन भनेर प्रश्न गरे । केही मिडियाले सुकुम्वासीलाई पूर्जा दिने लोभ देखाएर ल्याएकोसम्म भने ।
   आधारहिन कुरा गरेर मान्छेको मनोविज्ञानलाई मोड्न खोजे पनि त्यसको कुनै तुक रहेन । यो सभाले पार्टी निर्माण गर्न जनताका वीचमा जानुपर्छ भन्ने देखाएको छ । पार्टी एकीकरण पश्चात् जिम्मा नपाएका कार्यकर्ताहरु पहिलोपटक घरदैलोमा गएर वास्तविकता बुझाउने अवसर पाए ।
५. मूल पार्टी ओली नेतृत्वको नेकपा ः यो सभाले कम्युनिष्टको मूल पार्टी ओली नेतृत्वको पार्टीनै हो भन्ने कुरा स्थापित गरेको छ । अव कसलाई मुल मान्ने भनेर शंका गर्नुपर्ने अवस्था छैन । विशाल कार्यकर्ताको पंक्ति भएको पार्टी भएकोले अव यसैले नेतृत्व गर्छ । आगामी चुनावमा यसकै नेतृत्व स्थापित हुन्छ । चुनाव चिन्ह सूर्य भए वा नभए यसलाई कुनै फरक पर्दैन । यद्यपि सूर्य चिन्ह कतै जाँदैन भन्ने कुराको संकेत निर्वाचन आयोगले दिइसकेको छ । किन कि पार्टी अध्यक्ष र महासचिव जुन पार्टीमा छन् त्यही पार्टी आधिकारिक हुन्छ । जहाँसम्म वहुमत र अल्पमतको सवाल हो अन्तरिम विधानले त्यस कुरालाई खण्डित गरेको छ । महाधिवेशन सम्म सहमतिमा जाने निर्णयले सोही कुराको पुष्ट्याई गर्दछ ।
६. निर्वाचन हुन्छ ः यो जनसभाले निर्वाचन हुन्छ र हुँदैन भन्ने कुरालाई एकहदसम्म टुंग्याएको छ । सरकारले चुनाव घोषणा गरेपछि स्वभावैले सरकार चुनावको पक्षमा हुनेनै भयो । शुरुदेखिनै सरकारले तदनुसारको तयारी गरेको छ । कांग्रेस आमरुपमा निर्वाचनको विरोधी छैन । मधेसका अधिकांश पार्टीहरु पनि चुनावको पक्षमा छन् । बाबुराम भट्टराई अहिलेको आन्दोलनका प्रणेता हुन् । त्यसवाहेक जो छैनन् उनीहरु अनिर्णयको वन्दी छन् । ढिलो चाँडो सहमतिमा आउन बाध्य हुनेछन् । प्रचण्ड–नेपालहरुको पार्टीनै वनेको छैन । अव निर्वाचन आयोगमा गएर पार्टी दर्ता गराए भने त्यतिवेला उनीहरुको पार्टीले के गर्छ भन्न सकिदैन । अहिले समुहको रुपमा चुनावको विपक्षमा छन् । यसो गर्नु उनीहरुको बाध्यता हो । जसको पार्टीनै वनेको छैन उनीहरु कसरी चुनावको पक्षमा हुन्छन् ? पार्टी बनि हाले पनि संगठन निर्माण गर्ने कुरा धेरै टाढाको कुरा भयो । त्यसैले हार्ने चुनावको पक्षमा हुन पर्ने जरुरी छैन । त्यस अर्थमा अव चुनाव नहुनु पर्ने कारण एउटै छ, त्यो हो अमुक पार्टीले हार्ने चुनाव किन गर्ने भनेर तदनुसारको वातावरण वनाएमा । सम्भवतः यसो गर्नु सम्भव छैन । त्यस अर्थमा चुनाव हुने वातावरण वन्दै गएको पाइन्छ ।
७. प्रतिवद्व कार्यकर्ता साइवर स्याल मात्र  हैनन् ःकतिपय नेताहरुले नेकपाका प्रतिवद्व कार्यकर्तालाई साइवर सेनाको स्यालहुइया भनेर उछितो काडेका छन् । उनीहरुले टुटु फुट र विभाजनलाई स्वीकारेनन् । पद प्रतिष्ठालाई लिएर हुने संघर्षलाई पनि अनुमोदन गरेनन् । बरु त्यस्ता गलत क्रियाकलापलाई डटेर सामाना गरिरहेका छन् । नेताहरुका वोली भाषणलाई मिडियाले प्राथमिकता दिनेनै भए । बाँकी कार्यकर्ताले कहाँ गएर आफ्नो गुनासो सुनाउने ? सधैभरी आफ्ना कुरा सुनाएर आनन्द लिने नेताहरुलाई कार्यकर्ताले वोलेको, औला ठडाएको चित्त बुझेन । त्यसैले सामाजिक सञ्जालको माध्यमवाट अभिब्यक्ति दिएका कार्यकर्तालाई साइवर सेना भनेर होच्चाउने काम पनि भएका छ । यो जनसभाले उनीहरु साइवर स्याल मात्र हैनन् । वास्तविक सूचनाका वाहक हुन् र उनीहरुले भनेका कुराको अर्थ रहन्छ भन्ने कुराको सन्देश दिएको छ ।
८. लुम्विनी प्रदेशमा पार्टी विभाजन भएको छैन ः लुम्विनी प्रदेश पार्टीका महासचिव विष्णुप्रसाद पौडेल र प्रभावशाली तथा वैचारिक स्थायी कमिटी सदस्य लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको कर्मभूमि हो । पार्टी एकीकरणमा महासचिव पौडेलको भूमिका निर्णायक थियो । त्यति मात्र हैन पछिल्ला संकटग्रस्त दिनमा पार्टीलाई एक ढिक्का वनाउन पौडेल र पोख्रेल उत्तिकै लागे । दुवै नेता विवाद समाधान समितिमा रहेर प्रतिवेदन पेश गरे । जसलाई आत्मसात गरेको भए यो दुर्भाग्यपूर्ण अवस्था आउनेनै थिएन । संघीय सरकारको रुपमा पौडेल लोकप्रिय अर्थमन्त्रीको रुपमा स्थापित हुनु भएको छ । सातवटै प्रदेशमध्ये पोखैलले नेतृत्व गरेको यो प्रदेशनै उत्कृष्ट रहि आएको छ । आ–आफ्ना ठाउँमा अब्बल दर्जा कायम गरेका यी दुवै नेताको कर्मभूमिमा पार्टी विभाजन भएको छैन भन्ने सन्देश जनसभामार्फत दिन सक्नु आफैमा सुखद कुरा हो । यसले राष्ट्रिय रुपमै विशेष अर्थ राखेको छ ।
२०७७ फागुन २ गते
 

प्राप्त प्रतिकृयाहरू

To Top