बुटवलवाट चल्दैछन् एकैपटक दुइवटा केबलकार, रुपन्देही विकासको रोलमोडल

समाज फागुन ९ 2077 ekhabarnepal
12


बुटवल, फागुन ९ 
बुटवलवाट पाल्पा नुवाकोट र वसन्तपुर गरी एकैपटक दुईवटा केबलकार सञ्चालनमा आउने भएका छन् । संयोग दुइवटा केवलकार रुपन्देही र पाल्पाका एउटै पालिकामा वन्दैछन् ।
आइतवार सिद्धबाबा केबलकार प्रालिले बुटवल—नुवाकोटमा चल्ने गरीे निर्माण गर्न लागिएको केवलकारको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिलान्यास गर्नुभएको छ ।
बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाईने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पौडेलले पछिल्लो तीस वर्षमा रुपन्देहीमा भएका बिकास प्रयासलाई अध्येता र पत्रकारहरुले अध्ययन गर्नुपर्ने अवस्था छ भन्दै रुपन्देही जिल्लाले बिकासको रोल मोडलको भूमिका खेल्ने दावी गर्नुभयो । उहांले विकास हेर्न र सिक्न रुपन्देही जानुपर्छ भन्ने भावनाको विकास गर्न निजी क्षेत्रको उत्तिकै भूमिका रहनेतर्फ पनि ध्यान आकर्षण गराउनुभयो ।


 अन्तर्राष्ट्रिय बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडक, बुटवल पोखरा डेडिकेटेड डवल लेन सडक, बुटवल नारायणगढ सडक, र डिपीआर बनिसकेको बुटवल गोरुसिंगे सम्मको सडक निर्माण पूरा हुँदा यो प्रदेशको कायापलट हुने विश्वास पनि ब्यक्त गर्नुभयो । 
उहांले तिनाउ र दानव नदीमा वन्ने करिडोर, लुम्बिनीको गुरुयोजना, बुटवल मेडिकल कलेज, कृषि प्रशोधन केन्द्र लगायतका राष्ट्रिय महत्वका आयोजना पूरा हुंदा यस क्षेत्रको मुहार फेरिने अवस्था आउँछ भन्नुभयो ।
पौडेलले कालिगण्डकी डाईभर्सनको डिपीआर आगामी असार मसान्तसम्म सम्पन्न हुने उल्लेख गर्दै यो आयोजना विकासको अनुपम नमुना बन्ने बताउनुभयो । लुम्बिनी प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउन लागिएको यसले सेवा प्रवाहमा सहजता ल्याउने अवस्था छ, पौडेलले भन्नुभयो । 
 विकासका काममा रुपन्देहीका बासिन्दा एकठाउँ हुन सके अरु कसैले जित्न नसक्ने दावी अर्थमन्त्री पौडेलको छ । 
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले रुपन्देहीमा निर्माण थालिएका आयोजनाबाटै यहांको आर्थिक विकासको ढोका खुल्ने बताउनुभयो । श्रेष्ठले यहां शुरु गरिएका आयोजनाहरु प्रदेशको राजधानी बन्न नसकेको बुटवलको लागि क्षतिपूर्ति र बुटवललाई केन्द्र बनाउने आफुहरुको योजना पुरा गर्ने महत्वपूर्ण आधार हुने बताउंनुभयो । निजी क्षेत्रले लगानी गरेका यी परियोजनालाई सरकारले महत्वका साथ अगाडी बढाउन सक्ने हो भने बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने बाटो खुल्ने उहांको भनाई छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउं गाउंपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले शिलान्यास गरिएका दुवै केबलकारको निर्माणसंगै रुपन्देही र पाल्पाको विकासले शिखर चुम्ने बताउनुभयो । सिद्धबाबा केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरि करिब १ सय जनाको ७५ करोड भन्दा बढि लगानी रहेको जानकारी दिनुभयो । गुरुङले बुटवल तथा यस आसपासका ब्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सरकारले परियोजना भित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि भोगाधिकारको स्वीकृती दिएको छ । १.९४ किलोमिटर लम्बाईको केबुलकारको लागि ८० करोड २५ लाख लागत अनुमान गरिएको गुरुङले जानकारी दिनुभयो । सिद्धार्थ केबलकार प्रालिका संचालक तथा होटल व्यवसायी माधव नेपाल नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकिय विकासमा ठूलो टेवा पुग्ने बताउंनुहुन्छ । नेपालले नुवाकोटमा जितगढी युद्धको झल्को दिनेगरि कुनैपनि कला देखाउन सके पर्यटकहरुको आकर्षण बढ्न सक्ने उहांको भनाई छ ।
बुटवलको जीतगढी किल्लादेखि मणिमुकुन्द सेन उद्यान हुँदै नुवाकोट गढीसम्म पुग्ने सो केबुलकारबाट तराई, पहाड र हिमालका मनोरम दृष्यहरु एकैसाथ अवलोकन गर्न सकिने छ । त्यस्तै नुवाकोट डांडाबाट भारतको नौतनहवामा रेल गुडेकोसमेत स्पष्ट रुपमा देख्न सकिने स्थानीय बताउंछन् ।
बुटवलदेखि नुवाकोटसम्म केबुलकार सञ्चालन पछि बिशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । शुरुआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ ।
पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको नुवाकोट गढीमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रुद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशूल तथा ऐतिहासिक रानीकुवा समेत रहेको छ । कर्णेल उजिर सिंह थापाले यही नुवाकोट गढीमा मोर्चावन्दी गरेर अंग्रेज फौजलाई परास्त गरेका थिए ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण र रमणीय रहेको नुवाकोट क्षेत्रमा सरकारले सडक निर्माण गरेसंगै निजी क्षेत्रबाट गुरुयोजना सहित अर्बौंका योजना अगाडि सारिएका हुन् । छोटो दूरीको यात्राबाटै बुटवलको चर्को गर्मीबाट उन्मुक्ती मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिने लक्ष्य रहेको यहाँका लगानीकर्ता बताउंछन् ।
नुवाकोट विकास समितिका अध्यक्ष समेत रहेका होटल व्यवसायी माधव नेपाल नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकिय विकासमा ठूलो टेवा पुग्ने बताउंछन् । नेपालले नुवाकोटमा जितगढी युद्धको झल्को दिनेगरि कुनैपनि कला देखाउन सके पर्यटकहरुको आकर्षण बढ्न सक्ने बताउंछन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top