पहिरोका कारण बुटवलको ज्योतिनगर हुँदैछ वँदेलपोखरी

समाज जेठ २४ 2078 ekhabarnepal
2

डी.आर. घिमिरे
बुटवल उपमहानगरपालिका वडा नं. १३ को वँदेलपोखरी क्षेत्रको भैरव टोल कुनैवेला पहिरोका कारण बुटवलको बहुचर्चित ज्योतिनगरको हालतमा गयो भने आश्चर्य मान्नुपर्ने छैन । बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्मको क्षेत्र सोही पहिरोका कारण अहिले पनि असुरक्षित मानिन्छ । 
यो उदाहरण मैले यस कारणले दिएको हुँ कि सहज ढंगले सवै जनाले बुझ्न सकुन् । आजभोलि हामीहरु (तेजेन्द्र केसी र कृष्णवहादुर कुँवरसमेत) साँझ पख घुम्न निस्कने गर्छौ । वँदेलपोखरीदेखि उत्तरको डाँडो जहाँ भैरव मन्दिर छ । त्यो भन्दा माथि पोखरी पनि छ । गतसाल यो पोखरी जितेश्वरी सामुदायिक वन उपभोक्ता समुहले वनाएको थियो । यसवाट पानीको पुनर्रभरण हुने विश्वास गरिएको छ । यस्ता काम केही समय यता वढ्दै गएका छन् र यो वर्ष पनि वजेट भाषणमा पोखरी खन्नेगरी योजना वनाइएको छ ।
प्रसंग हिजो त्यही डाँडामा हामी गयौं र वाटो परिवर्तन गरी नगिचै जोडिएको अर्को तर्फबाट झर्ने कोशिस गर्यौं । केही तल झरेपछि ठूलो पहिरो फेला पर्यो । तेजेन्द्रजी नसकेर फर्कने विचारमा हुनुहुन्थ्यो । उहाँले मलाई त घुमायो भन्दै हुनुहुन्थ्यो । मैले यो अवस्थाकोवारेमा जानकारी हुनु पनि एउटा उपलब्धि हो भनें । कृष्णवहादुर कुँवर अगाडि लाग्नु भयो । जेनतेन हातले समाउँदै पहिरो पार गरेपछि क्रमसः हामीहरु पनि त्यसरीनै गयौँ । 


यो पहिरो एक प्रकारले लुकेको छ र तल सडकमा वर, पिपल र स्वामीका विरुवा छन् । यही नमुना आमा समुहको भवन छ । यता उता पूरै हरियाली देख्न सकिन्छ र तर, अलिकता उक्लेर हेर्दा सुख्खा डाँडो छ ।
हामीले एकछिन नियालेर हेर्यौं । पूरै डाँडो खस्केको रहेछ । अवको वर्षामा त्यसलाई रोक्न नसक्ने हो भने टम्म मिलेको समथर भैरव टोल वगाएर लैजान सक्ने देखियो । शायद यस्तै कारणले होला आजभोलि वर्षामा सुखौरा खोला भरिएर वरपरको वस्ती डुवाउन थालेको छ । यही रुपले पहिरो आइरह्यो भने भैरब टोलका अतिरिक्त जोडिएका टोलहरु सत्यनास हुने छन् । धेरै ठूलो मूल्य चुकाउनु पर्नेछ ।
विडम्वना यति ठूलो समस्या हुँदा पनि वडा समिति, सामुदायिक वन, टोल समितिहरु कसैले पनि यस विषयलाई उठान गरेका छैनन् । यो चुरे क्षेत्र भएकोले गेग्रेटोयुक्त माटो छ । धैरो वाहेक अरु रुख विरुवा छैनन् । यसको विस्तृत अध्ययन गरी समाधानका लागि यथोचित पहल गर्नु जरुरी छ । यो काममा राष्ट्रपति चुरे संरक्षण आयोजना, उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारकोसमेत ध्यान आकृष्ट हुनुपर्छ ।
सामुदायिक वनले यस क्षेत्रमा हुर्कन सक्ने विरुवा के हुन सक्छन् भनेर अध्ययन गर्नुपर्छ । जसका लागि डिभिजन वन कार्यालयले सहयोग गर्नसक्छ । त्यसो भयो भने अहिलेवाटै विरुवा लगाउने काम प्रारम्भ गर्न सकिन्छ । जतिसुकै रुखो भएपनि निम हुने रहेछ भन्ने उदाहरण देखिएको छ । त्यसवाहेक बाँस रोप्न सकिन्छ । सामुदायिक वन समुहका सचिव नेतन गुरुङ्गका अनुसार अम्रिसो पनि हुन्छ । त्यसवाहेक विच विचमा चेक ड्याम वनाएर माटो नवग्ने वनाउन सकिन्छ कि । जुनसकै हिसावले पनि यसको ब्यवस्थापनमा सवैभन्दा पहिला यसै वार्डका जनप्रतिनिधि, वन समुहका पदाधिकारी, सम्वन्धित टोल समितिहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु र भविष्यमा यसको विभत्स रुप आँकलन गर्नसक्ने सवै जनाले आवश्यक पहल गर्नुपर्छ ।
हालै उपमहानगरपालिकाले टोल समितिमार्फत् योजना छनौट गरिसकेको छ तर, यति ठूलो समस्यालाई कुनै टोल समिति वा वडा समितिले सम्वोधन गरेजस्तो लाग्दैन । समय घर्केको छैन । तत्काल वडा समिति र वन समितिले पहल गरेर निकास दिने वातावरण वनाओस् ।

प्राप्त प्रतिकृयाहरू

To Top