मसालमा रडाको ःसन्तवहादुरको जवाफ एमबीलाई

राजनीति असार ९ 2078 ekhabarnepal
Shanta nepali

सन्तबहादुर नेपाली
नेकपा (मसाल) का महामन्त्री का. मोहनविक्रम सिंहले हालै “ने.का.को हौवा वा प्रतिगमनको सेवा ?” शीर्षकमा एउटा लामो लेख लेख्नु भएको छ । लेखमा हाम्रो विरुद्ध कैयौं झूठा आरोपहरु लगाइएको छ । कुनै एउटा गलत कुरालाई सय पटक दोहोराए पछि त्यो सत्य जस्तो देखिन थाल्छ । त्यो कुरा यस भन्दा  अघि “पार्टीको सम्पत्ति जफत गरेको” “राष्ट्रिय जागरण अभियान एउटा पार्टी बनाएको” जस्ता झुठा कुरा बारम्बार लेखेर सत्य जस्तो बनाउन खोजेको देखियो तर जो वास्तवमा सत्य थिएनन् । यस्ता कैयौं झूठा विषयहरुको बारेमा हामीले बारम्बार लेख तथा वक्तव्यमा उल्लेख गर्दै आएका छौं । त्यो उहाँको विगत लामो समयदेखिको प्रवृत्ति हो । कसैले सत्यता यो हो भनेर खण्डन ग¥यो भने कहिलेकांही गल्ती स्वीकार गर्नु भएको पनि छ । कसैले कुरा नउठाएमा त्यो गलत चीज रेकर्ड हुने गरेकै छन् । अहिले रेकर्ड भए पनि कालान्तरमा गलत कुरो गलतै भएर छाड्छ । कहिले कांही त उहाँ स्वयंले ८÷१० वर्षपछि गल्ती सच्चाएका उदाहरणहरु पनि छन् । इतिहासलाई जस्ताको तस्तै राख्यो भने मात्र लेखकीय इमान्दारीता देखिन्छ र त्यो सर्वमान्य हुन्छ । 
क. मोहनजीले लेख्नु भएको छ,“प्रतिगमनको सेवा गर्नका लागि उनीहरुले हाम्रो पार्टीका विभिन्न निर्णयहरुलाई टिपटाप गरेर वा तोडमोड गरेर प्रस्तुत गर्दछन् र त्यसरी ओलीको प्रतिगमनको विरुद्धको हाम्रो संघर्षलाई कमजोर पार्ने प्रयत्न गर्दछन् ।”
अर्को स्थानमा लेख्नु भएको छ, “यहाँसम्म कि उनीहरुले हाम्रो त्यसप्रकारको नीति हाम्रो पार्टीको आठौं महाधिवेशनको लाइन विपरीत भएकोसम्म बताउने गरेका छन् । तर उनीहरुको त्यसप्रकारको विरोधका पछाडिको मूल उद्देश्य ओलीको प्रतिगमनको सेवा नै हो ।”
लेखमा क. मोहन जीले समग्रमा राष्ट्रिय जागरण अभियान तथा संयोजक सन्तबहादुर नेपालीलाई ओलीको प्रतिगमनलाई समर्थन गरेको भन्ने आरोपका साथ “प्रतिगमनको सेवा” बताउनु भएको छ । क. मोहनजीले हाम्रा विरुद्ध त्यसप्रकारका आरोप लगाउनु कुनै अनौठो भएन । उहाँको जीवनको अधिकांश समय आफ्ना नजिकका साथीहरु विरुद्ध नै खर्चिनु भएको छ । त्यो उहाँको “स्थायी  सम्पत्ति” हो ।  तर यथार्थ के हो ? राष्ट्रिय जागरण अभियान प्रतिगमनको सेवामै लागेको हो ? के जागरण अभियान कै विश्लेषणले  उहाँको प्रतिगमन विरोधी आन्दोलन कमजोर बनाएकै हो ? हामी तथ्यमा जानु पर्दछ । 
यो सत्य हो कि केपी ओलीले पहिलो प्रतिनिधिसभा विघटन गरेका बेला हामीले प्रतिगामी कदम बताएका थियौं । तर संसद पुनस्र्थापना भएपछि देश यथावस्थामा फर्केको हुनाले प्रतिगामी भनिरहन आवश्यक नभएको बताएका थियौं । दोस्रो पटक विघटन गर्दा संविधानका धारा दुरुपयोग गर्ने काम भएको छ तर नागरिकका मौलिक अधिकार निलम्वन भएका छैनन् । पार्टी माथि प्रतिबन्ध लगाइएको छैन । संसदीय व्यवस्था नै समाप्त पारेको वा कुनै तानाशाही व्यवस्था कायम गरिएको छैन । त्यो अवस्थामा प्रतिगमन नभनिएको मात्र हो । तर ओलीको तानाशाही, अधिनायकवाद, असंवैधानिक, राष्ट्रघाती, लोकतन्त्र विरोधी, जनविरोधी जुन क्रियाकलाप छन्, त्यसले देशमा प्रतिगमन नल्याउला भन्न सकिदैन । त्यसकारण ओलीको अलोकतान्त्रिक कार्यका विरुद्ध हामी आफ्नो स्थानबाट आवाज उठाइरहेका छौं । तर क. मोहनजी कुन संसारमा हुनु हुन्छ कुन्नी यो सबै कुरा देख्न सक्नु भएन । “प्रतिगमन” शब्दमा किन खेलिरहनु भएको छ भन्ने कुरा मैले पछि स्पष्ट पार्नेछु । तर सर्वप्रथम उहाँले जुन प्रतिगमन भनिरहनु भएको छ, उहाँकै विचारमा के प्रतिगमन भएकै हो त ? स्वयं आफूले नै “प्रतिगमनको दिशामा लागेको” भन्नु भएको छ । “प्रतिगमन भैसक्यो” भन्नु भएको छैन । प्रतिगमनबारे उहाँका विचार हेरौं !
उक्त लेखमा उहाँ लेख्नुहुन्छ, “त्यो अवस्थामा ओलीले देशलाई एकातिर प्रतिगमन र अर्कातिर राष्ट्रघाततिर लैजाने कुरामा कुनै शंका छैन ।”
“प्रथम, उनीहरुले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई सैद्धान्तिक रुपले नै खण्डन गर्ने प्रयत्न गरेका छन् ।”
“ओली सरकारले देशलाई योजनाबद्ध प्रकारले प्रतिगमनतिर लगिरहेको छ ।”
“तर यो स्पष्ट छ कि ओली सरकारले निश्चित रुपले प्रतिगमन र राष्ट्रघातको बाटो समातेको छ ।”
एक ठाउँमा होइन, कैयौं ठाउँमा त्यही कुरा दोहोराउनु भएको छ । यसबाट के बुझिन्छ भने उहाँ स्वयं प्रतिगमन भैसक्यो भन्ने निष्कर्षमा पुग्नु भएको छैन । तर हामीले “प्रतिगमन भैसक्यो” भनेर नभनिदिएका कारण “प्रतिगमनको सेवा” भनेर आरोप लगाउनु भएको छ । यस्तो हाँस्यास्पद तर्क गरेर क. मोहनजीले आफ्नो स्तर गिराउनु भएको छ । हामी चाहान्छौं, उहाँ जस्तो सम्मानित व्यक्तित्वले यस्ता हाँस्यास्पद तर्कहरु नगर्नु नै बेस हुनेछ । 
प्रतिगमन बारेको विश्लेषणका हिसाबले क. मोहनजी र हामी एकै ठाउँमा छौ । मेरो लेख “पार्टी ह्वीप वा पार्टी लाइन उल्लंघन ?” (२०७८ जेठ २७ गते मार्गदर्शन अनलाइनमा प्रकाशित) मा लेखिएको छ, “उनको (ओलीको) यो कार्यशैलीले देशमा राष्ट्रघात  गर्ने र प्रतिगमन ल्याउने कार्य गर्दैनन भन्न सकिंदैन । तर पनि केपी ओलीले आज संसद, संविधान, पार्टी, विपक्षी र आम जनताको भावना विपरीत गईरहेको हुनाले त्यसका विरुद्ध संघर्ष गर्नु आजको आवश्यकता हो । उनी प्रम पदमा जालझेल, षडयन्त्र गरेर भए पनि टाँसिईरहेका छन् । उनी पदबाट हट्नै पर्छ, नहटे आन्दोलनले हटाउनु पर्छ भन्ने मान्यतामा राष्ट्रिय जागरण अभियान दृढ छ ।” उहाँले पनि प्रतिगमनको खतराको आशंका गर्नु भएको छ । हामी पनि प्रतिगमनको खतराको आशंका गरेका छौं र त्यसका विरुद्ध अहिले देखि नै संघर्षमा जोड दिएका छौं । 
त्यसो भए उहाँले किन “प्रतिगमन” को हौवा उठाउनु भएको छ त ? त्यसबारे छलफल गरौं । आठौं महाधिवेशनमा सरकारमा जाने सवाललाई कार्यनीति बनाउनु पर्छ भनेका थियौं तर उहाँले “सरकारमा जाने हाम्रो नीति खुल्ला छ” भनेर त्यसलाई रणनीति बनाउनु भयो । आठौं महाधिवेशन पछि केन्द्रको एउटा बैठकमा “संसदीय प्रणालीको रक्षाका लागि हामी अग्रपंक्तिमा उभिनु पर्छ ।” भन्नु भएको थियो ।  त्यसै बैठकमा एक जना अहिलेका पीवीएम कमरेडले थप्नुभएको थियो “अझै १५ वर्षसम्म यही कार्यनीति नै सही हुन्छ ।” आठौं महाधिवेशनको निर्णय अनुसार उहाँहरु रणनीतिकरुपले संसदीय अभ्यासमा लागि सक्नु भएको छ । ओलीले प्रतिनिधिसभा विघटन  गर्नु भन्दा पहिले उहाँहरु भन्नु हुन्थ्यो “राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई बचाउने एक मात्र व्यक्ति केपी ओली हुन” त्यसैले गर्दा उहाँहरुले रणनैतिक समर्थन गर्नु भयो । एउटा वक्तव्यमा क. मोहनजीले भन्नुभयो, “यदि संसदमा एमसीसी टेवुल भयो भने हाम्रो पार्टीले त्यसलाई विरोध गर्नेछ । तर एमसीसी पारित भयो भने त्यसको विरोध कायम राख्दै ओली सरकारलाई हाम्रो समर्थन यथावत कायम रहनेछ ।” ओली राष्ट्रघाती हुन भन्ने जान्दा जान्दै पनि निर्वाचन तथा सरकारमा जाने प्रश्नमा नेकपासित नजिक रहनु उहाँको रणनीति थियो । ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी चरित्र नांगो रुपमा देखाए पछि समर्थन फिर्ता लिनु प¥यो । समर्थन र्फिता लिएपछि भावि चुनावी सफलता र सरकारमा सहभागिताका लागि मसाल नेतृत्वलाई ने.का. को नेतृत्वमा सरकार बनाउनुको विकल्प देखा परेन । हिजो ओलीको विकल्प नदेख्ने मसाल नेतृत्वले अहिले काँग्रेसको विकल्प देख्न सकेन । जबकि केही समय अगाडिसम्म वामपन्थीहरुको नेतृत्वको सरकारको पक्षमा पार्टी नीति सार्वजनिक गर्दै आएको थियो । नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलाल पार्टी हो भन्ने जान्दा जान्दै पनि कांग्रेससित गठबन्धनमा त्यही चुनावी तालमेल र सरकारमा सहभागिताका लागि कांग्रेस नेतृत्वको सरकार बनाउन पार्टी होमिएको छ । त्यसक्रममा एउटा निष्ठावान सांसदलाई समेत पार्टीबाट निष्काशन गरेको छ । प्रतिक्रियावादी कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्नुको औचित्यता पुष्टि गर्न ओली सरकारलाई प्रतिगामीको हौवा खडा गर्नु भएको छ । यसबाट ओलीको अलोकतान्त्रिक, असंवैधानिक, राष्ट्रघाती र अधिनायकवादी चरित्रलाई ओझेल पार्ने वा गौण बनाउने काम भएको छ । ओलीलाई प्रतिगामी भनेकोमा हामीलाई कुनै फरक पार्दैन । हामी प्रतिगामी भन्नु हुँदैन भनेर कसैको  विरोध गरिरहेका पनि छैनौं । हाम्रो त खाली विश्लेषणको कुरो मात्र हो । मुल कुरो त ओली सरकारको विरुद्ध संघर्षको प्रश्न प्रमुख महत्वको कुरो हो । क. मोहनजी ओली सरकार विरुद्ध प्रतिगामी भनेर वा नभनेर, जे भनेर भए पनि संघर्षमा उत्रनु भएकोमा हामी सकारात्मक मान्छौं । तर कांग्रेसको नेतृत्वमा सरकार बनाउन निर्माण गरिएको गठबन्धनमा पार्टीलाई लैजानु दक्षिणपन्थी अवसरवादी नीतिको परिणाम हो । यो गठबन्धन आगामी निर्वाचनसम्म कायम राख्ने निर्णय गरिएको छ । प्रतिनिधिसभा विघटन हुनुभन्दा एक दिन अगाडि संसदमा सांसद दुर्गा पौडेलले ओलीको बहिर्गमन र बामपन्थीहरुको नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राख्नु भएको थियो । तर आगामी चुनावका दृष्टिले त्यो नारा फाइदाजनक नहुने र तत्काल सरकारको समीकरणमा कांग्रेसको नेतृत्व हुने देखेपछि कांग्रेसी गठबन्धनमा पार्टी सामेल भएको छ । अन्य संसदवादी राजनीतिक दलहरुले गठबन्धन परिवर्तन गरेर पार्टीलाई मन्त्री पद हात पार्ने  संसदीय भद्दा खेल खेलिरहन्छन् । त्यसलाई संसदीय प्रणालीमा स्वाभाविक रुपमा लिने गर्दछन् । किनकि उनीहरु वर्गसमन्यको सिद्धान्त मान्ने गर्छन् । वर्गको अस्तित्वलाई नै अस्वीकार गर्छन । तर हाम्रो जस्तो क्रान्तिकारी उद्देश्य बोकेको भनिने पार्टीले वर्गसंघर्षको बाटो छाडेर वर्गसमन्वयको बाटोमा लाग्नु र संसदीय फोहोरी खेलमा सामेल हुनु दुःखद कुरो हो । यसबाट पार्टीको क्रान्तिकारी परम्परा र गौरवशाली इतिहासलाई नै धमिलो पार्ने काम भएको छ । 
अर्को पक्षबारे पनि विचार गरौं । क. मोहनजी लेख्नु भएको छ, “हाम्रो पार्टीले जब २०४६ साल वा २०६२÷६३ सालमा नेकासित सहकार्य वा कार्यगत एकता गर्ने नीति अपनायो, राजावादीहरुले हाम्रो त्यो नीतिको व्यापकरुपले आलोचना गरेका थिए । .................अहिले पनि जसले नेकाको कुरा उठाएर हाम्रो विरोध गरिरहेका छन् , त्यसको उद्देश्य पनि वास्तवमा ओली सरकारको प्रतिगामी नीतिको समर्थन नै हो ।” आज आएर क. मोहनजीले “राजावादीहरुले आलोचना गरेको” कुरो उठाउनु भएको छ । राजावादीले हामी आन्दोलनमा जाँदा किन आलोचना गरे ? भन्ने कुरा गम्भीर छ । आलोचना त मित्र शक्तिहरुले गर्ने गर्छन् । हामी आन्दोलनमा जाँदा राजावादीको आलोचनासित के सरोकार रहन्छ ? हामी पार्टीका थुप्रै कमरेडहरुलाई राजावादीहरुले कांग्रेससित सहकार्य गरेको भनेर आलोचना गरेको थाहा छैन । पार्टी इतिहासलाई क. मोहनजीले किन बदनाम गर्न खोज्नु भएको हो ? तथ्य यो हो कि ०४६ सालको आन्दोलनमा कांग्रेससँग सहकार्य भएको थिएन । संयुक्त राष्ट्रिय जनआन्दोलन, वाममोर्चा र नेपाली कांग्रेस तीन वटा शक्तिहरुबीच आन्दोलनमा तालमेल गर्ने निर्णय भएको थियो । ०६२÷६३ को आन्दोलनमा पनि ०६२ साल चैत्र २४ मा एमाले कांग्रेसहरुले आन्दोलन शुरु गर्ने घोषणा गरेका थिए । हाम्रो त्यही चैत्र २४ गते मेची महाकाली अभियान समापनको दिन थियो । हामी आन्दोलनमा संयुक्त जनमोर्चाको तर्फबाट सहभागी भएका थियौं । केही समय पछि ने.क.पा. (मसाल) ले क. चित्रबहादुर के.सी. को नेतृत्वमा संघर्ष समिति बनाएको थियो । किनकि त्यतिबेला एकताकेन्द्रसित न सम्बन्ध न सम्बन्धविच्छेदको अवस्था थियो । यो धेरै लामो विषय भएको हुँदा त्यस विषयमा कुनै बेला लेखिने छ । हाम्रो पार्टी राजतन्त्रका विरुद्धको संघर्षमा होमिएको पार्टी थियो । हाम्रो पार्टीको संगठनात्मक संरचना भूमिगत थियो । त्यो अवस्थामा आन्दोलनमा कांग्रेससित सहकार्य भए कै भए पनि राजावादीहरुले आलोचना गर्नुपर्ने स्थिति त्यस्तो के थियो ? क. मोहनजीले स्पष्ट पार्नु होला । हामीलाई के मात्र थाहा छ भने हामी पंचायती व्यवस्थाको विरोध गर्दा हामी माथि दमन भएको थियो । पञ्चायती निरंकुश व्यवस्थाको दौरानमा आन्दोलन गर्दा कैयौं साथीहरुको मृत्यु भएको थियो । साथीहरु जेलमा थुनिनु भएको थियो । तर राजावादीहरुले हामी काँग्रेसहरुसँग सहकार्य गरेको भनेर आलोचना गरेको हामीलाई थाहा छैन । राजावादीहरुलाई देखाएर क. मोहनजीले हाामीलाई ओलीको समर्थन गरेको आरोप लगाएर राजावादी जस्तै हुन भन्ने सावित गर्न खोज्नु भएको छ । यो त हदैसम्मको लाजलाग्दो कुरा भयो । दोस्रो कुरा यदि मानिलिउँ कांग्रेससित सहकार्य नै भएको रहेछ भने पनि त्यतिबेला गणतन्त्रको लागि राजतन्त्रका विरुद्ध सहकार्य गर्नु आवश्यक थियो । त्यो राष्ट्र र जनताको हितमा हुन्थ्यो । राष्ट्र र जनताको हितमा आन्दोलनमा कांग्रेससित सहकार्य गर्नु र कांग्रेस नेतृत्वको  सरकार बनाउन सहकार्य गर्नु एउटै कुरा हो र ? 
महाधिवेशनका निर्णयहरुको उल्लंघन गरेपछि क. मोहनजीले एउटा नयाँ सिद्धान्त प्रतिपादन गर्नु भएको छ, “न्यूनतम कार्यक्रम वा विधानमा जुन निर्णयहरु गरिएका हुन्छन्, ती आधारभूत वा रणनीतिक प्रकारका हुन्छन् । तिनीहरुमा कुनै परिवर्तन महाधिवेशनद्वारा नै गर्न सकिन्छ ।  तात्कालिक नीतिहरुबारे जुन निर्णयहरु गरिएका हुन्छन्, तिनीहरुमा परिवर्तनका लागि महाधिवेशनलाई पर्खनु पर्ने आवश्यकता हुँदैन । पार्टीका विभिन्न सम्मेलन, राष्ट्रिय भेला, केन्द्रीय समितिका बैठक आदिद्वारा पनि तिनीहरुमा आवश्यकतानुसार परिवर्तन गर्न सकिन्छ ।”
क. मोहनजीले माथि उल्लेखित उहाँका विचारका आधारमा राजनैतिक दस्तावेज त जतिबेला पनि परिवर्तन गर्न सकिन्छ भन्ने कुरा उठाउनु भएको छ । कुनै राष्ट्रिय सम्मेलन, भेला, बैठकले परिवर्तन गर्ने कुरा पनि अमूर्त रुपमा भनेर हुँदैन । के आधारभूत नीति पनि परिवर्तन गर्न सकिन्छ त ? प्रधान अन्तरविरोध, संघर्षको स्वरुप, राजनीतिक शक्तिहरुको विश्लेषण, नेपाली समाजको वर्गविश्लेषण, क्रान्तिको कार्यभार, क्रान्तिमा मित्र र दुश्मन शक्तिको किटानी, संयुक्त मोर्चा नीति, पार्टीको संरचनागत नीति आदि जस्ता आधारभूत कुरालाई सम्मेलन, भेला, बैठकद्वारा परिवर्तन गर्नु भनेको स्वेच्छाचारिता हो । त्यसैले गर्दा महाधिवेशन ४÷५ वर्षभित्र गरिन्छ । रुसमा बोल्सेभिक पार्टीको महाधिवेशन एक वा दुई वर्षमा गरिन्थ्यो । स्टालिनको पालामा भने समाजवादी निर्माण तथा बाह्य आक्रमणका कारण ढिलो गरिएको थियो । क. मोहनजीले महाधिवेशन ४÷५ वर्षमा सम्पन्न गर्न कहिल्यै चासो देखाउनु भएन । सम्मेलन र भेलाबाट नयाँ निर्णयहरु गरियो तर आधारभूत नीतिमा परिवर्तन गरिएको थिएन । महाधिवेशन लम्बाउने र आफ्नो स्वेच्छाचारी नीति लागु गर्ने गर्दा आज पार्टी यो अवस्थामा आएको हो । त्यसै विषयलाई उहाँले पार्टीको आम नीति बनाउँदै हुनुहुन्छ । कांग्रेस र नेकपा सम्बन्धी नीतिमा जुन परिवर्तन गर्नु भएको छ, त्यो आधारभूत परिवर्तन हो । २।३ महिनामा कुनै पार्टीको आधारभूत स्वरुपमा परिवर्तन भई हाल्दैन । यदि नीतिमा परिवर्तन गर्नु नै छ भने महाधिवेशनद्वारा गर्न सकिन्छ । नेकपा (एकताकेन्द्र) लाई माक्र्सवादी–लेनिनवादी ठहर गर्न राष्ट्रिय सम्मेलन बोलाउनु परेको थियो । 
क. मोहनजीले आफ्नो स्वेच्छाचारितालाई वैधानिकता दिन नयाँ सिद्धान्त प्रतिपादन गर्नु उहाँको कार्यशैलीको निरन्तरता हो । यसभन्दा अगाडिका केही विषयहरुलाई केलायौं भने त्यो कुरा छर्लङ हुनेछ ः
(क) आठौं महाधिवेशनमा अल्पमतको विरोध रहँदा रहँदै मसौदा दस्तावेजको न्युनतम कार्यक्रमको एउटा बुँदा “लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, समाजवाद उन्मुख तथा प्रगतिशील नीतिमा जोड दिंदै, जनवादी व्यवस्था स्थापना गर्ने” भन्ने महाधिवेशनबाट  पारित बुँदालाई दस्तावेज प्रकाशन गर्दा आफै हटाउनुभयो । दस्तावेजमा सयौ ठाउँमा आफू अनुकूल संशोधनहरु गर्नुभयो । अहिले त्यो पार्टी भित्रको विवादको विषय बनेको छ । आफूलाई लाग्यो भने सम्मेलन, भेला वा बैठक पनि होइन उहाँ एक्लैले यति गम्भीर र आधारभूत नीति पनि परिवर्तन गर्न सक्नुहुन्छ । वास्तवमा त्यो बुँदा ख्रुश्चेवी संशोधनवादी लाइन थियो । अल्पमतको कडा विरोध हुँदा हुदै त्यो नीति महाधिवेशनले पारित गर्यो । तर दक्षिणपन्थी संशोधनवादी भएको पोल खुल्ने डरले त्यो बुँदा प्रकाशन गर्दा हटाउनु भयो । तर आफ्नो दक्षिणपन्थी विचारलाई तात्कालिक राजनीतिक परिस्थिति शिर्षकमा यसरी राख्नु भयो “कुनै खास परिस्थतिमा कुनै देशको स्थिति अुनसार सशस्त्र संघर्षको सट्टा शान्तिपुर्ण आन्दोलन वा संसदीय प्रणालीलाई पनि उपयोग गर्नु पर्ने आवश्यकता हुन्छ ।” (पेज ३८) 
(ख) मधेश केन्द्रित दलहरुले नेपालको नक्साबारे संविधानमा संशोधन गर्दा चुच्चे नयाँ नक्सालाई समर्थन गरेका थिए । त्यसैका आधारमा उहाँले कतै निर्णय नगरी दलाल भनिएका पार्टीहरुलाई “राष्ट्रवादी” बताउनुभयो ।
(ग) सातौं महाधिवेशनले भारतीय विस्तारवादलाई दुश्मनशक्ति र भारतीय जनतालाई मित्र बताएको थियो । तर क. मोहनजीले एउटा वक्तव्यमा , “भारतसित शत्रुतापूर्ण होइन, हाम्रो सम्बन्ध मित्रतापूर्ण हुनेछ” लेख्नुभयो । त्यो कहीं निर्णय भएको थिएन । 
(घ) हाम्रो पार्टीले नेकपा (एमाले) लाई दक्षिणपन्थी संशोधनवादी बताउँदै आएको छ । आठौं महाधिवेशनको एक वर्ष अगाडि एमालेसित पार्टी एकताका लागि दुई पक्षबीच कार्यदल बनाउने निर्णय गर्नुभयो । त्यो कतै निर्णय भएको थिएन ।
(ङ) आठौं महाधिवेशनद्वारा पारित विधानले पार्टी शुद्धिकरण गर्नु भन्दा अगाडि त्यससम्बन्धी निर्णय राष्ट्रिय सम्मेलन वा भेलाले गर्ने भनेको छ । तर उहाँले भेला सम्मेलन नगरिकनै पीवीको अनलाइन बैठकबाट निर्णय गरेर शुद्धिकरण कार्यक्रम शुरु गर्नुभयो । सम्मेलनद्वारा निर्वाचित क्षेत्रीय तथा जिल्लास्तरीय समितिहरु विघटन गरियो । 
समग्रमा हेर्दा सम्मेलन, भेला,  बैठक भने पनि स्वेच्छाचारिता नै क. मोहनजीको निर्णय पद्धति हो । कुनै पनि कार्यनीतिले दिर्घकालीन लक्ष्यलाई त्यसले के असर गर्छ भन्ने कुरा नेतृत्वले सोंच्नु पर्दछ । कार्यनीति २४ घण्टामा परिवर्तन हुन सक्छ भन्ने यान्त्रिक तथा जडसुत्रवादी निर्णय गर्दा त्यसले क्रान्तिको  सेवा गर्दैन । त्यो कुरा हामीले उठाइरहँदा मसाल नेतृत्वले पार्टीमाथि आक्रमण गरेको हामीमाथि आरोप लगाएको छ । एउटा दक्षिणपन्थी सुधारवादी दृष्टिकोण निर्माण भएपछि त्यस्तो लाग्नु स्वाभाविक हुन्छ । तैपनि हाम्रो प्रयास दक्षिणपन्थी भासमा डुब्न लागेको नेतृत्वलाई त्यो दिशामा जान नदिन मैत्रीपूर्ण प्रयास गरिरहने छौं । हामीले त्यो प्रयास गर्दा प्रतिगमनको सेवा नै भयो भन्ने आरोप आयो भने पनि कुनै फरक पर्दैन । हामीलाई प्रतिगामीको सेवा गरेको आरोप लगाउने कमरेडहरुले हामीले प्रतिगमनको सेवा गरेको प्रमाणित गर्न सके हामी आफुलाई सुधार गर्न अवसर मिल्ने छ तर शब्दमा खेलेर हामीलाई प्रतिगमनको सेवा गरेको ठहर गर्न प्रयास गर्नुभन्दा सरकारमा एउटा मन्त्री र आगामी निर्वाचनमा एक दुई वटा सांसद सिटका लागि कांग्रेस जस्तो विदेशी दलाल पार्टीको पुच्छर बनेर सेवा नगर्नु नै पार्टी र क्रान्तिको हितमा हुनेछ ।  मिति २०७८ असार ७
 

प्राप्त प्रतिकृयाहरू

To Top