अग्रज पत्रकारिता तथा सृर्जनशिल पत्रकारिता पुरस्कारबाट लुम्विनी प्रदेशका ४ पत्रकार सम्मानित 

राजनीति असार २४ 2078 ekhabarnepal
Puraskar

बुटवल ,असार,२४। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस प्रदेशका ४ पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।दाङका वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी ६७ वर्षिय शुशिल गौतमलाई अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित गरिएको छ भने कोरोना संक्रमणबाट मृत्युभएका रुपन्देहीका हिक्मत चौधरीलाई मरणोपरान्त ‘सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७७’बाट सम्मान गरिएको छ । त्यस्तै बाँकेकी महिला पत्रकार अक्षरी पोखरेल र गुल्मीका पत्रकार जनार्दन घिमिरे  ‘सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७७’ वाट सम्मानित हुनुभएको छ । 

मुख्यमन्त्री कार्यालय बुटवलमा विहिबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो । अग्रज पत्रकारिता पुरस्कारको राशी एक लाख रुपैयाँ र  सृजनशील  पत्रकारिता पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ थियो । स्व. चौधरीको पुरस्कार उहाँकी जीवन संगिनी श्रीमती उदयदेवि कँवरले ग्रहण गर्नुभएको थियो ।
प्रदेश सरकारले विगत २ वर्षअघिदेखि प्रदेशका पत्रकारहरुलाई सम्मान गर्ने भनेपनि पहिलो पटक यो वर्ष देखि कार्यान्वयनमा आएको हो । 
 लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । 

सो अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने पक्षमा प्रदेश सरकार नरहेको तथा केही कमजोरीहरु छन् भने पनि त्यसलाई सच्याउन तयार रहेको उल्लेख वताउनु भयो । 
मन्त्री चौधरीले बास्तविक तथा व्यावसायिक पत्रकाहरुले आफ्नो पेसाबाट जीविको पार्जन गर्न सक्ने अवस्था नरहको भन्दै यसका लागि सरकारले सहयोग पुग्नेगरी नीतिहरु ल्याउन तयार रहेको पनि वताउनुभयो । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सञ्चार विधेयकमा भएका कमजोरीहरु सच्याउनका लागि सरकार तयार हुँदाहुँदै पनि दिगभ्रमित पारेर विरोधमा उत्रिएकोमा असन्तोष व्यक्त गर्नुभयो। आफूमन्त्री हुनुभन्दा पहिले नै मन्त्रिपरिषदले निर्णय गरिसकेको विधेयक फिर्ता लिन नमिल्ने बताउँदै उहाँले त्यसमा भएका कमजोरीहरुलाई सच्याउनका लागि आफू तथा सरकार तयार रहेको स्पष्ट पार्नुभयो। विषयवस्तुलाई अतिरञ्जित बनाएर अनावश्यक विरोधमा नआउँन आग्रह गर्दै उहाँले विधेयमा भएका कमजोरीहरुलाई बुँदागत रुपमा छलफल गरी सच्याउन सकिने विश्वास ब्यक्त गर्नुभयो । 

मन्त्री आचार्यले सबै सञ्चारगृहहरुलाई समेट्नेगरी प्रदेश सरकारले छिट्टै विज्ञापन निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउने तयारी गरेको वताउनु भयो । 
 पत्रकार सम्मानका लागि वरिष्ठ पत्रकार डी.आर. घिमिरेको संयोजकत्वमा बाँकेकी विमला चौधरी र दांगका केपी घिमिरे सदस्य रहने गरी ३ सदस्यीय सिफारिस समिति आन्तरिक तथा कानुन मन्त्रालयले वनाएको थियो । सो अवसरमा संयोजक घिमिरेले पहिलोपटक छनौट गर्दा केही समस्या भएपनि यसको मापदण्डसमेत आफै वनाई टुंगोमा पुर्याउन पाउँदा सन्तोष लागेको वताउनुभयो । एक हिसावले पत्रकार सम्मानको फाउण्डेशन वनाउने अवसर प्राप्त भएकोमा मन्त्रालयप्रति आभार प्रकट गर्नुभयो । उहाँले यो पुरस्कारलाई विवादरहित वनाउन अथक मेहनत गर्नुपरेको र सो हिसावले उचित निष्कर्षमा पुग्न समितिका सदस्यहरुको प्रशंसनीय भूमिका रहेको जानकारी पनि गराउनु भयो । 
सम्मानित भएपछि बोल्दै अग्रज पत्रकार शुशील गौतमले प्रेस स्वतन्त्रताप्रति आफ्नो अविच्छिन्न आस्था रहने स्पष्ट पार्दै सम्मानले थप जिम्मेवारी बढेको उल्लेख गर्नुभयो । मुलुकका विभिन्न आन्दोलन र परिवर्तनहरुमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको पक्षमा अविचलित रहने प्रतिवद्वता ब्यक्त गर्नुभयो । गौतमले पछिल्लो समय नेपाली पत्रकारीतामा जिम्मेवारी बोध हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 
त्यस्तै सम्मानित पत्रकार अक्षरी पोखरेलले पुरस्कारले आफूमा थप जिम्मेवारी आइलागेको उल्लेख गर्दै जीवनभर सञ्चारको क्षेत्रमा रहेर योगदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सञ्चार विधेयकमा भएका कमजोरीहरुलाई सच्याएर स्वतन्त्र प्रेसलाई बचाईराख्न सरकारसँग आग्रह गर्दै प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने विधेयकप्रति महासंघको विरोध रहेको र संसदमा प्रस्तुत सञ्चार विधेयक फिर्ता गरी पुनःलेखन गर्नु पर्ने वताउनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top