बुटवलमा गर्भवती र सुत्केरीलाई पोषिलो खुराक वितरण

समाज असार ३० 2078 ekhabarnepal
Sutkeri posan ubnm5bv0ex

बुटवल,असार ३० 
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोसिलो खाद्य र सुत्केरी मसला वितरण गरेको छ । सुत्केरी मसाला (न्युट्री माँ), अण्डा, घीउ आदि वितरण गरिएको कार्यक्रमले लक्षित समुदायलाई खुशी वनाएको छ । करिव ३५ वटा जडिबुटी मिश्रित सुत्केरी मसला गर्भवती र सुत्केरीका लागि असाध्यै उपयोगी रहेको चिकित्सकहरुको भनाई छ । यो मसला रुपन्देही, गुल्मी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची लगायत विभिन्न जिल्लाका पालिकाहरुले वितरण गरिहेका छन् । यसले महलिको दुध वढाउने, शरीर कसिलो वनाउने काम गर्छ ।

महामारीविरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले ती सामग्री प्रदान गरेको हो । 
सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पुर्‍याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । 

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । 

बुटवलले मुलुकमै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य स्वास्थ्यकर्मीहरू लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री प्रदान गर्दै आउनुभएको छ । 

नगरका विभिन्न वडामा रहेका लक्षित समूहका करिब २३० गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने भएको छ । 
 गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श समेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top