दुषित खाद्य पदार्थ र स्वास्थ्यमा पर्ने असर

समाज साउन १ 2078 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
 “खाद्य वस्तु” भन्नाले जैविक स्रोतबाट प्राप्त प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित मानव उपभोग्य पदार्थ सम्प्झनुपर्दछ र सो शब्दले त्यस्तो पदार्थको तयारी, प्रशोधन वा उत्पादनमा प्रयोग हनुे कच्चा पदार्थ साथै तयारी वस्तुसमेत जनाउँदछ ।
दुषित खाद्य वस्तु भन्नाले मानव उपभोगका लागि योग्य नरहेको प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित  वस्तुलाई दुषित खाद्य वस्तु भनिन्छ । 
 खाद्य ऐनले यससम्वन्धी आवश्यक ब्यवस्था गरेको छ । जस्तो कि, कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा अखाद्य पदार्थ वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हँुंदैन । 
अर्थात् कुनै व्यक्तिले दुषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, विक्री वितरण, निकासी वा पैठारी गर्न पाइर्दैन ।
नेपालको संविधान (२०७२ ) को भाग ३ मा मौलिक हक र कर्तव्यसम्बन्धी व्यवस्थाको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र ३६ मा खाद्यसम्बन्धी हकसम्वन्धी व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले हरेक नेपाली नागरिकको आधारभूत स्वास्थ्य सेवा र आवश्यक खाद्यान्नको हक स्थापित गरेको छ । स्वस्थ जीवनका लागि स्वस्थ, सफा, शुद्ध तथा गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्नुपर्ने भएकोले यस्ता विषयमा राज्यको प्रत्यक्ष निगरानी हुन उनि उत्तिकै आबश्यक हुन्छ । 
यस्तो हक स्थापित गर्नुको उद्वेश्य स्वस्थ जनशक्तिको विकास गर्न गुणस्तरीय खाद्यपदार्थ आवश्यक हुन्छ भन्ने अर्थमा हो । स्वास्थ्य नै धन हो भने जस्तै शारीरिक र मानसिक रूपमा स्वस्थ जनशक्तिको सही परिचालनबाट मात्र राज्यको यथोचित विकास हुन सक्छ । शारीरिक तथा मानसिक रूपमा सक्रिय जीवनयापनका लागि खाद्यान्न आधारभूत आवश्यकता भित्र पर्दछ । तर मानव शरीरलाई आवश्यक पोषणतत्वको कमी भएमा मानिस अस्वस्थ पनि हुन्छ । 
यसैले स्वस्थ खाद्यान्नको अर्थ स्वस्थ्य नागरिक वनाउनु पनि हो । त्यसोत नेपालमा चरम लापरवाही गर्ने प्रवृत्ति छ तर, क्रमिक रुपमा जनचेतना जागृत हुँदै गएको छ र सरकारले पनि तदनुसारका कानुनी ब्यवस्था गरिरहेको छ । यस आधारमा विगतमाभन्दा अहिले धेरै सुधार भएको मान्न सकिन्छ । 
कसरी दुषित हुन्छ खाद्यपदार्थ ?
कुनै पनि खाद्यान्न खानयोग्य वनाउनका लागि विभिन्न चरण पार गर्नुपर्छ । अर्थात खाद्यवस्तु सफा, शुद्ध, कीटाणुरहित हुनुपर्छ र हानिकारक रसायनवाट पनि मुक्त हुनुपर्छ । खाद्य पदार्थ कुनै एक ठाउँमा शुद्व भएर हुँदैन । उत्पादन, प्रशोधन, भण्डारण र वितरणसम्म आइपुग्ने चरणहरुमध्ये जुनसुकै अवस्थामा पनि खाद्य वस्तुमा अखाद्य वस्तु मिसिन सक्छ । अर्थात् विभिन्न किसिमका भौतिक, रासायनिक र जैविक वस्तुले खाद्य पदार्थलाई दूषित बनाउँछन् । 
विद्यमान कानुनले कुनै पनि खाद्य पदार्थमा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने भौतिक, रासायनिक तथा जैविक वस्तु हुनु हुँदैन भन्ने ब्यवस्था गरेको छ । प्रदूषित भएका खाद्यवस्तुको उत्पादन, बिक्री र वितरण गर्नु–गराउनु हुँदैन । खाद्य पदार्थमा त्यस्ता मानव स्वास्थ्यलाई हानि गर्ने वस्तु मिसाएको पाइएमा कसुरअनुसार साधारण जरिवानादेखि उत्पादित पदार्थ जफत गर्ने तथा उत्पादनमा प्रतिबन्ध लगाउनेसम्मको व्यवस्था गरिएको छ । 
कुनैपनि खाद्य पदार्थमा ब्याक्टेरिया देखिनु वा अखाद्य देखिनु खानयोग्य नहुनु हो भन्ने कुरा बुझ्नैपर्छ ।
जस्तै–

  •  प्रशोधित दूध तथा पानीमा कोलिफर्म नामक ब्याक्टेरिया देखिन सक्छन् । यसको कारण पर्याप्त मात्रामा प्रशोधन नहुनु, उत्पादन स्थल सफा नहुनु तथा सो खाद्य पदार्थमा अन्य हानिकारक सूक्ष्म जीव  हुन सक्छन् भन्ने हो । दुधमा नहुनुपर्ने न्यूटिलाईजर र सोडा मिसाउँदा दुध दुषित हुने र यसले उपभोक्ताको स्वास्थ्यमा असर पार्ने हुन्छ । 
  •  मिठाइमा लुगा धुन प्रयोग गरिने हाइड्रा नामक केमिकल मिश्रण गरिएको पाइन्छ । यो रसायनले स्वास्थ्यलाई गम्भीर असर पर्छ । हाइड्रा कपडा धुन र औधोगिक प्रयोजनका लागि प्रयोग गरिने केमिकल हो । यसको प्रयोग सेतो खाले रसवरी मिठाइको चासनीलाई सफा देखाउन गरेको पाइन्छ । 
  • मिठाइमै प्रयोग हुने अर्को केमिकल स्याक्रिन हो । चिनी भन्दा ५०० गुणा गुलियो हुने स्याक्रिन मूल्यका हिसावले अत्यन्तै सस्तो हुन्छ । ५० ग्राम स्याक्रिन ५० रुपैयाँमा पाइन्छ भने त्यसले ३० किलोभन्दा बढी चिनीको काम गर्दछ । यसरी हेर्दा यसको प्रयोगले ब्यापारीहरूलाई अत्यन्तै फाइदा हुने देखिन्छ ।
  •  माछामा प्रयोग गर्ने फर्मालिन मृत्यु भएको मानिसलाई नविग्रनका लागि प्रयोग गरिन्छ । भारतवाट ल्याइने माछामा यसकै प्रयोग गरेर नविग्रने बनाइएको हुन्छ । २०७५ जेठ महिनामा प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गर्नुभएको थियो । यो यसकै कारण हो ।
  • सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिने गरेको छ । यसको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सकहरु बताउँछन् । यहाँसम्मकि वनस्पति घिउमा जनाबरको बोसो मिसाउने गरिन्छ । 
  • तयारी चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी भएपछि न्यून गुणस्तर हुने र त्यसको प्रयोग गर्न नमिल्ने वताइन्छ । 
  • पानीपुरी र चटपटेमा प्रयोग हुने रङ र तेल अत्यन्तै गुणस्तरहीन पाइने गरेको छ । पानीपुरी पकाउँदा कुहिएको गुणस्तरहीन तेल पटक पटक बरामद हुने गरेको छ । पानीपुरीमा मोबिलजस्तो कालो तेल पनि भेटिने गरेको छ । स्वास्थ्यका लागि एकपटक प्रयोग गरेको तेल पुनः प्रयोग गर्नु हुँदैन तर, एउटै तेल पटकपटक प्रयोग गर्ने प्रचलन छ ।  
  • फलफूललाई छिटो पकाएर पहेंलो बनाउन कार्बाइड नामक रसायन प्रयोग गरिन्छ । जुन रसायन फलाम वेल्डिङ गर्दा प्रयोग गरिन्छ । यो रसायनले ‘डायबिटिज र ब्लड प्रेसर हुने चिकित्सकहरुको भनाई छ । छिटो फलाउने नाममा पनि विभिन्न प्रकारमा विषादीको प्रयोग भइरहेको छ ।
  • पिउने पानीमा मेसोफिलिक काउन्ट र पिए बढी भेटिने गर्छ । कतिपय कम्पनीको दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिने गर्छ । चिल्लोरहित धुलो दुध मिसाइएको हुन्छ । बासी दुध नफाटोस् भनेर कार्बोनेट र बाइकार्वोनेट मिसाउने र दुधलाई बाक्लो पार्न स्टार्च वा पिठो मिसाउने गरिन्छ । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट सवैजसो खाद्यान्न दुषित र गुणस्तरहीन पाइने गर्नु असाध्यै चिन्ताको विषय हो ।

यी त केही उदाहरण मात्र हुन् । हरेक खाद्य पदार्थमा केही न केही मिसाइएकै हुन्छ । स्वास्थ्यलाई त्यति धेरै असर नगर्ने चिजको त कुरै नगरौं । मसिनो चामलमा मोटा चामल तथा कनिका र ढुङ्गा, तोरिका दानामा आर्जिमोनको दाना, वेसारमा मकैको पिठो, महमा चिनिको चास्नी, घिउ र नौनीमा वनस्पति घिउ वा पिडालु र चिउरीको घिउ मिसाउने कुरा त सामान्यनै छन् । कानुनतः यी सवै गर्न पाइदैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमल कुमार दाहालले विश्व स्वास्थ्य संगठनको तथ्यांक प्रस्तुत गर्दै एउटा लेखमा लेख्छन्— 
दूषित खानाको कारणले विश्वमा प्रतिवर्ष ६० करोड (प्रत्येक १० मा १ जना) मानिस बिरामी पर्ने र ४ लाख २० हजारको मृत्यु हुने गर्दछ, जसमा पाँच वर्ष मुनिका १ लाख २५ हजार बालबालिका समेत पर्दछ । दूषित खानको कारणले प्रत्येक बर्ष ५ करोड ५० लाख मानिसमा झाडा पखाला लाग्ने र त्यसबाट प्रभावित भई २ लाख ३० हजारको मृत्यु समेत हुने गरेको छ । नेपालको सन्दर्भमा यस्ता तथ्यगत आंकडा जानकारीमा नआए पनि करिव ४०–४५ प्रतिशत नागरिक कुनै न कुनै खाद्य तथा पोषणजन्य समस्यामा बाँची रहेका छन् ।
 मिसावटवाट हुने वेफाइदा ः 

  •     खेसरी दालवाट प्यारालाइसिस, अखाद्य रंगवाट मिर्गौला, कलेजोमा असर, क्यान्सर लाग्न सक्ने, कास्टिक सोडायुक्त दुधवाट पाचन प्रणालीमा असर तथा रक्त क्यान्सरजस्ता प्राणघातक रोगको शिकार हुने गर्छ ।
  •     सिसा, पारो, आर्सेनिक, टिन, जिंक,तामा आदि धातुको अधिक उपस्थिति शरीरमा भएमा वान्ता, आँखामा असर, जाँगर नलाग्ने,  प्यारालाइसिस, पाचन प्रक्रियामा असर, दिमाग, मिगौला आदिमा असर गर्छ ।
  •     हानिकारक जीवाणु÷किटाणु र परजीवी संक्रमित खानाले प्यारालाइसिस, झाडापखाला, ज्वरो आउने कलेजो–मिर्गौलाजस्ता संवेनशील अंग विग्रने हुन्छ । 
  •     पशुजन्य खानेकुरामा एन्टिवायोटिक बढी भएमा आरटरीहरु कडा हुने, मुटुको समस्या आदि हुन्छ ।
  • त्यसैले 
  •     राम्रोसंग प्याकिङ्ग भएका खोनेकुरा, लेवलमा स्पष्ट ढंगले उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्वर, तौल÷आयतन र उत्पादक कम्पनी खुलेका सामान खरिद गर्नुपर्छ । 
  •     रोगी वा रोगनाशक पशुपंक्षीको मासु खानु हुँदैन ।
  •     चरा, मुसाको विष्टा, रौं, ढुंगा, आदि देखिएमा, वढी रंग वा रंगीविरंगी देखिने खाद्यान्न खानु हुँदैन ।
  •     सडेगलेका, झिँगा भन्केका, फोहोर ठाउँमा राखिएका, अस्वस्थ्य ब्यक्तिले तयार पारेका वस्तुवाट सचेत् हुनुपर्छ ।

हेक्का राख्नुपर्ने विषय के छ भने वैधानिक रुपले ठिक भएका खाना पनि स्वस्थ्यकर नहुन सक्छन् । जस्तो कि चाउचाउलाई वैधानिक रुपमा वेठिक भन्न मिल्दैन । ब्राण्डेड रक्सीहरु कानुनी प्रक्रिया पूरा गरेरै वजारमा आउँछन् । त्यसको अर्थ ती सवै ठिक हुँदैनन् । अझ बालबालिकाका लागि त विलकुलै ठिक हुँदैनन् । यसवारेमा पोषणविद् डा.अरुणा उप्रेतीका दर्जनौं लेखहरु स्वास्थ्यका हिसावले महत्वपूर्ण छन् । यसै सन्दर्भमा हिमाल खवरपत्रिकामा प्रकाशित एउटा लेखमा उनले पत्रु खानाकावारेमा लेखेकी छन् ।
 पत्रु खानालाई जंक फुड भनिन्छ । चाउचाउ, बिस्कुट, वर्गर, कुरकुरे, आलुचिप्स, क्यान्डी,चटपटे, चिजबल्स र विभिन्न प्रकारका कोकजस्ता पेय पदार्थहरू पत्रु खाना अन्तर्गत पर्दछन् ।
 अत्यधिक चिल्लो, गुलियो, नुन हाली फ्याक्ट्रीमा तयार गरिएका प्रोटिन तथा पोषणरहित यस्ता खाना स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । चिकित्सकहरु यस्ता खाद्य पदार्थबाट पाइने चिनी तथा नून हाम्रो लागि मन्द विषसरह मान्छन् ।
पत्रु खानामा क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्व हुँदैनन् । वा अति नै कम हुन्छ । यस्ता खानाले बालबालिकामा मोटोपन बढ्छ । बच्चाहरु कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा बाधा पुर्याउने गर्छ । र सानै उमेरमा उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुनेजस्ता समस्या देखिन्छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top