१० बुँदे कार्यान्वयनका लागि एमालेले  तोक्यो सातै प्रदेशमा  जिम्मेवारी

राजनीति भाद्र १४ 2078 ekhabarnepal
Parti meeting

काठमाडौं, भदौ १४ 
नेकपा एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि सातवटै प्रदेशमा जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । 

एमालेले भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय उल्लेख गरेर अन्तरपार्टी निर्देशन जारी गरेको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा पार्टीको सबै तहमा १० बुँदे प्रस्ताव कार्यान्वयनलाई महत्त्वका साथ उल्लेख गरिएको छ भने पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट क्रियाशील हुन निर्देशन गरिएको छ ।

प्रदेश जिल्ला र मातहतका कमिटीहरू र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयनको लागि सहजीकरण गर्न जिम्मेवारी तोकिएको छ । जसमा प्रदेश १ मा भीमप्रसाद आचार्य, सुुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङ्बोहाङले जिम्मेवारी पाएका छन् । 

त्यसै गरी प्रदेश २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साहलाई जिम्मेवारी तोकिएको अपानिमा उल्लेख छ ।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेलले जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशमा किरण गुरूङ, पृथ्वीसुब्बा गुरूङ, जगत विश्वकर्मा, लीलबहादुर थापालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरिलाई जिम्मेवारी तोकिएको छ । 

कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मीलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ । 

त्यसै गरी जनसंगठनहरूमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न जिम्मेवारी तोकिएको अपानिमा उल्लेख छ ।

एमालेको समस्या समाधानको लागि १० बुँदे कार्यान्वयन गर्दा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने सम्बन्धमा गृहकार्य गर्न भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिने निर्णय स्थायी र केन्द्रीय कमिटीको बैठकले गरेको थियो ।

एमालेले आन्तरिक विवाद समाधान गर्नको लागि जेठ १ मा १० सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले असार २७ मा पार्टी विवाद समाधानका लागि १० बुँदे प्रस्तावमा सहमति गरेको थियो । एमालेले सोही प्रस्ताव अनुमोदन गरेर सबै तहमा कार्यान्वयनका लागि पठाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top