एमालेको विधान महाधिवेशन १५, १६ र १७ असोजमा 

राजनीति भाद्र २६ 2078 ekhabarnepal
Uml office

काठमाण्डौ,भाद्र २६

प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशन १५, १६ र १७ असोजमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको हो । 

विधान महाधिवेशनको आवश्यक तयारीका लागि स्थायी कमिटीको बैठक ३ र ४ असोजमा बस्ने भएको छ । उक्त बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनले आवश्यक निर्णय लिने सचिव योगेश भट्टराईले बताए । उनले सुझावलाई राखेर केन्द्रीय कमिटीको बैठक ८ र ९ असोजमा बोलाइएको उनले बताए । 

भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्य विधान महाधिवेशनका सदस्यहरू हुने ऐन रहे पनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरू, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरूले भाग लिन पाउनेछन् । 

प्रदेश र सोसरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसद्का सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीतहरूले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताए । योसहित करिब ३ हजार प्रतिनिधिहरूले भाग लिने उनले बताए । 

उनले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको र नेकपा एमालेलाई बल मिच्याइँ गरेको पार्टीले निष्कर्ष निकालेको छ । भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि बताए । 

भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति खेलेको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताए । स्थायी कमिटीको बैठकले आइतबार मध्याह्न १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top