विषादीको अन्धाधुन्ध प्रयोग र उपभोक्तामा पार्ने असर

स्वास्थ्य असोज ५ 2078 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
परिभाषा ः 
 “विषादी” भन्नाले बीउ, विरुवा, रुख, पशु, पंछी आदिमा लाग्ने घातक किटाणुहरु नाश गर्न प्रयोग गरिने जीवनाशक विषादी (पेस्टीसाइड्स) सम्झनु पर्छ ।   (जीवनाशक विषादी ऐन २०४८) 
“जीवनाशक विषादी”भन्नाले वोट विरुवा, कृषिजन्य पदार्थ र वन तथा वन पÞैदावार, जीव, पÞशुपÞन्छी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ्ग र निर्मार्ण कार्यमा हानि पुर्याउने रोग, कीरा, सुलसुले, निमाटोड, झारपात, मुसा लगायतबाट वँचाउन प्रमोग गरिने प्राङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु सम्झनु पÞर्छ र सो शब्दले देहायका वस्तुलाई समेत जनाउँछ । 

  •    हानिकारक जीवहरूको शिकार गरेर, परभक्षी बनेर, परजीवी बनेर, रोग लगाएर सोको वृद्वि कम गराउने तथा त्यस्ता जीवहरूलाई आकर्षण वा विकर्षण गर्ने वस्तु (फेरोमोन्स, एट्रयाक्टयान्ट, रिपलेन्ट, डिररेन्ट,
  •    हानिकारक जीवहरूको नियमित वृद्वि र प्रजनन कार्यमा असर पर्ने वस्तु (इन्सेक्ट ग्रोथ रेगुलेटर, इन्हिवीटर), 
  •     हानिकारक वनस्पतिको वृद्वि नियत्रन्ण गर्ने वस्तु (प्लान्ट ग्रोथ इन्हिवीटर),
  •     पÞात पतिङ्र झार्ने वस्तु (डिफोलियन्ट),
  •     ओसिलोपÞन कम गर्ने तथा सुकाउने वस्तु (डेसिकेन्ट), 
  •     फलफूल संख्या पतल्याउने वस्तु (थिनिङ एजेन्ट),
  •     समय नपुग्दै फलफूल झर्ने लगायतका समस्माको नियन्न्रण गर्ने वस्तु, 
  •     कृषि बाली तथा कृषिजन्य पÞदार्थ उत्पÞादनसंग सम्बन्धित प्रयोगशालामा निसङ्क्रमण गर्न प्रयोग गरिने वस्तु (डिसइन्पेक्ण्टलम) ।                       (जीवनाशक विषादी ब्यवस्थापन ऐन २०७६)

विषादी के हो के हैन ? 
यो औषधि हैन ः 
विषादी भनेको विष हो । तर, यसको प्रयोग औषधिको रुपमा गरेको पाइन्छ । आर्थिक वर्ष ०७४÷७५ को तथ्यांकअनुसार नेपालमा ६ सय मेट्रिकटन विषादी आयात भएको छ । यसलाई रुपैयाँमा हेर्दा ७५ करोड रुपैयाँबराबरको हुने रहेछ । 
यो तथ्यांक पशुपक्षीमा प्रयोग हुने, लामखुटे मार्नेलगायतमा प्रयोग हुने विषादीबाहेकको हो । अर्थात् कृषि क्षेत्रमा प्रयोग हुने विषादी मात्र हो । नेपालमा यसरी आयात भएको मध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग हुने गरेको छ । बाँकी १५ प्रतिशत विषादी अरू बालीमा प्रयोग हुने गरेको छ । यसको अर्थ अन्य खाद्यपदार्थ धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यूनतम विषादी प्रयोग हुने गरेकोछ । जो सन्तुष्ठिको विषय हो । 
 अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपाल थोरै मात्र विषादी प्रयोग गर्ने मुलुकभित्र पर्दछ । एसियाको कुरा गर्दा सबैभन्दा थोरै विषादी प्रयोग गर्ने राष्ट्र नेपाल हो । तर, तरकारीको मात्र कुरा गर्दा धेरैनै प्रयोग हुने गरेको छ । 
बाली संरक्षण गर्न विषादीको प्रयोग गर्नु जायज भएपनि मात्रा मिलाउन नसक्नु चिन्ताको कुरा हो । सामान्यतः विषादी छरेपछि प्रकृति अनुसार ७ दिन, १४ दिन, २१ दिन, १ महिना हुँदै तीन महिनासम्म त्यस्तो खाद्यान्न प्रयोग गर्नु हुँदैन तर, नेपालमा आजको भोलि टिपेर वजारमा लगेर विक्री गरिन्छ । सवैभन्दा ठूलो त्रुटि यहीनिर छ ।
जानकारहरुका अनुसार नेपालमा विषादीको प्रयोग बालीबिरुवालाई रोगकीराबाट मुक्त राखेर कृषि उत्पादन बढाउने उद्देश्यले सन् १९५६ देखि सुरु भएको हो । तर प्रयोग गर्ने तरिका नजानेर यसले प्रतिकुल असर पारेको छ । विषादी शरीरको कुनै पनि भागमा पर्नु हुँदैन । तर, विभिन्न प्रकारले किसानको शरीरमा पुग्ने गरेको अध्ययनले देखाएको छ । विषादी सीधै शरीरमा पर्दा मात्र होइन, विषादी लागेको लुगा लगाउँदा, लगातार विषादीको सम्पर्कमा रहँदा र त्यसको गन्ध भएको ठाउँमा सास फेर्दा र विषादी छर्दा आँखामा परेको थोरै विषादीले पनि पूरै शरीरलाई असर गर्दछ ।
विषादीहरू छाला, मुख, खाना, सास आदिबाट शरीरमा पस्दछन् र जम्मा हुँदै जान्छन् जसले कलेजो, मृगौला, दिमाग, आँखा र फोक्सोमा असर गर्दछ । विषादी यस्तो चिज हो जसका कारण ऊ मात्र हैन उसका छोराछोरी अर्थात् दोश्रो पुस्ता पनि प्रभावित हुन सक्छ । विषादीले आनुवांशिक पदार्थको बनावटमा परिवर्तन गराई सन्ततिमा परिवर्तन ल्याउँछन् अर्थात् कुनै बाबुआमाको शरीरमा विषादी परेको रहेछ भने बालबालिका अपाङ हुन सक्छन् । 
वैज्ञानिकहरूको भनाइ अनुसार किसानहरू उपभोक्ताभन्दा ३ गुणा बढी जोखिममा हुन्छन् । विषादीबाट सबभन्दा बढी जोखिम विषादी बनाउने कारखानामा काम गर्ने मानिस हुन्छन् । त्यसपछि प्रयोग गर्ने किसान र अन्तिममा उपभोक्ता हुन्छन् । 
चिकित्सकहरुका अनुसार विषादी नराखेका खानाबाट क्यान्सर, मधुमेह, ब्लडप्रेसरलगायत विभिन्न रोगबाट बच्न सकिन्छ । 
 आजभोलि कतिपय रोगहरु सामान्य लाग्न थालेका छन् । सामान्य यस अर्थमा कि धेरैजनामा त्यस प्रकारका समस्या देखिन थालेका छन् । प्रजनन् क्षमतामा ह्रास आउने, विभिन्न किसिमका क्यान्सर (रक्तक्यान्सर, मस्तिष्क, मिर्गौला, पित्तथैली, फोक्सो र छाला सम्बन्धी क्यान्सर) हुने, मुटुको रोग, स्नायु प्रणालीमा गहिरो र आजीवनको असर, छालामा एलर्जी हुने, आँखा पोल्ने, रिंगटा लाग्ने, मधुमेह, प्रेसर, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर कमजोरी हुने जस्ता यावत् स्वास्थ्य समस्याहरु किन यति धेरै देखा परेका छन् त ? विभिन्न अध्ययनहरुले यसको मुल कारण लामो समयसम्म विषादीको संसर्गमा आएकोले हो ।  
विषादीको अत्यधिक र अव्यवस्थित प्रयोगले वातावरणीय समस्या पनि निम्त्याउँछ । अर्थात् माटोको उर्वरा शक्तिमा ह्रास ल्याउँछ, वायु र पानीका मुहानहरुलाई दुषित बनाउँछ । रासायनिक विषादीहरु हावामा फैलिएर लामो समयसम्म रहने भएकोले त्यसले मानव स्वास्थ्यका साथै वनस्पति वृद्वि, चराहरुको प्रजनन क्षमता र उपयोगी किराहरुको जीवनचक्रलाई प्रभाव पार्छ । जैविक विविधताको नष्ट हुन्छ । प्रकृतिलाई चाहिने मित्र जीवहरु नष्ट हुन्छन् । जसका कारण आनुवंशिक क्षमतामा हृास हुन्छ । आजभोलि स्थानीय वीऊ लोप हुँदै जानुको कारण पनि विषादीको अत्यधिक प्रयोग हो । 
समग्र पर्यावरणलाई नै यतिधेरै क्षति गर्ने रासायनिक विषादीको अन्दाधुन्ध प्रयोगबारे कृषि एवं जनस्वास्थ्यका वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यस्तो भयाभह स्थितिलाई रोक्न धेरै देशहरुले विषादी प्रयोग सम्बन्धी कडा कानुन ल्याइराखेका छन् । यस सन्दर्भमा भारतको सिक्किम राज्यले सन् २०१६ मा विषादीलाई प्रतिबन्ध लगाएर अर्गानिक राज्यको घोषणा गरेको छ ।
भारतबाट नेपालमा आयात हुने फर्मालिन (लास संरक्षणका लागि प्रयोग हुने औषधि) हालिएका माछाबारे बेलावखत कुरा उठ्ने गर्दछ । भारतको कलकत्तावाट ल्याइने माछामा यही औषधि प्रयोग गरिन्छ । नेपाल माछामा आत्मनिर्भर भइसक्दा पनि भारतवाट ल्याइने विषादीयुक्त माछा खान छोडिएको छैन । यो भन्दा विडम्वना अरु के हुन सक्छ ?
२०७६ साल असार २ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा विषादीको परीक्षण गर्ने निर्णय गरेर राम्रो सुरुवात गरेको थियो तर, त्यो निार्णय टिक्नै सकेन ।
यसका पछाडि दुइवटा कारण थिए । पहिलो भारत सरकारको दवाव । दोश्रो नेपालले भन्सार नाका नजिकमा परीक्षणको ब्यवस्था मिलाएकै थिएन । भन्सार नाकामा तरकारी तथा फलफूलको नमुना संकलन गरी काठमाडौँ पठाउँदा र रिपोर्ट तयार हुँदा ५÷६ दिन लाग्ने अवस्था भयो । यति गर्दा ३८ डिग्री तापक्रममा रहने तरकारी तथा फलफूल खानको लागि स्वतः अयोग्य हुने भयो । निर्णय सही भएर पनि कार्यान्वयनमा सावधानी तथा पूर्व तयारी नभएकोले कार्यान्वयन हुन सकेन । 
तत्कालिन कृषि मन्त्री चक्रपाणी खनालका अनुसार सो निर्णय लागु गर्नका लागि प्रत्येक नाकामा ल्याब राख्नु पर्दथ्यो जसका लागि कम्तीमा ४ अर्ब रुपैयाँ र १ वर्षको समय लाग्दथ्यो । 
विषादी सहने क्षमता ः
हाम्रो शरीरले ३५ प्रतिशत ए आई अर्थात् एक्टीभ इन्ग्रेडियण्टसम्म विषादीको मात्रा सहन सक्छ । नेपालले यही अनुसार तरकारी वा फलफूलमा विषादीको मापन गर्दा ३५ प्रतिशतभन्दा कम एआई भएको तरकारी वा फलफूल खान सकिने मापदण्ड राखेको छ ।
३५ देखि ४४ प्रतिशतसम्म एआई भएको तरकारी वा फलफूललाई क्वारेण्टाइन लेभलमा राखेर अनुगमन गरिन्छ र त्यसको ३ दिनभित्र विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा बजारमा विक्रीका लागि पठाउन सकिन्छ । ३ दिनमा पनि मात्रा घटेन भने नष्ट गर्नुपर्छ । कानुनतः एआईको मात्रा ४५ प्रतिशतभन्दा बढी भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ ।
यसको अर्थ नेपालमा उत्पादित तरकारी सुरक्षित छ भन्ने हैन । सोही आर्थिक वर्षमा गरिएको नमुना संकलन तथा परीक्षणमा धादिङको सिमी र ब्रोकाउली तथा सर्लाहीकोे गोलभेंडामा विषादीको मात्रा बढी भेटिएर नष्ट गरिएको थियो ।
जानकारहरुका अनुसार, भारतबाट नेपालसम्म आइपुग्दा विषादीको वेटिङ पिरियड सकिएको हुने र विषादीको प्रभाव कम हुने सम्भावना हुन्छ भने नेपालभित्रैको तरकारी चाँडै वजारमा पुग्ने भएकोले विषादीको मात्रा बढी पनि हुनसक्छ । त्यसैले यस्ता विषयमा मसिनो गरी जान्न सक्नुपर्छ उपभोक्ताले ।
कानूनी ब्यवस्था ः
नेपाल सरकारले रासायनिक विषादीहरुको कारणले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल प्रभाव पर्न नदिन यस्ता विषादीहरुको प्रयोगलाई कम गर्दै जैविक विषादीको प्रयोग वढाउन नीतिगत र कानूनी ब्यवस्था गरेको छ । २०७६ देखि कार्यान्वयनमा आएका जीवनाशक विषादी ब्यवस्थापन ऐन २०७६ ले जीवनाशक विषादीको उत्पादन, संष्लेषण र प्रयोग गर्दा मानव तथा पशु स्वास्थ्य र वातावरणमैत्री हुने गरि गर्नुपर्ने ब्यवस्था गरेको छ । यसैगरि यो ऐनको दफा २० मा मन्त्रालयले बाली, विरुवा, घर र भण्डारणमा लाग्ने विभिन्न रोग वा किराको व्यवस्थापन गर्नमा प्रयोग हुने वानस्पतिजन्य र जैविक विषादी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्दछ भन्ने उल्लेख छ । 
नेपालको संविधान र प्रचलित कानुनले स्वस्थ जीवन र स्वस्थ्यकर खाना खान पाउने अधिकारलाई ग्यारेन्टी गरेको छ । संविधानले स्वस्थ्य जीवन जिउन पाउनु र स्वस्थ्यकर खाना पाउनुपर्ने विषय मौलिक अधिकारको रुपमा स्वीकार गरेको छ । मानव जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तु वा सेवाको बिक्रीबाट सुरक्षित हुन पाउने अधिकार उपभोक्ता संरक्षण ऐन, २०७५को दफा ३ को उपदफा २ (ङ)मा उल्लेख छ । मुलुकी अपराध संहिता, २०७४को परिच्छेद ५ दफा १०७ ले खाद्य पदार्थ मिसावट गर्न नहुने व्यवस्था गरेको छ ।
सर्वसाधारणले खाने पिउने वा सेवन गर्ने पदार्थमा अखाद्य हानिकारक कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन, अखाद्य पदार्थ बिक्रीवितरण तथा वस्तु पैठारी गरेमा पाँच वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५को दफा २ (छ) ले स्वास्थ्यमा हानि हुने गरी रसायन रंग वा सुगन्ध प्रयोग गरिएको उपभोग्य वस्तुलाई गुणस्तरहीन वस्तु मानेको छ । यसै ऐनको दफा १६ को उपदफा (२) (ट) अनुसार कुनै वस्तु उपभोग गर्दा उपभोक्तालाई हानि÷नोक्सानी वा क्षति पुग्ने गरी विषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग गरिएको वस्तु बिक्री गर्ने कार्यलाई निषेधित गरेको छ । पछिल्लो समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरि विषादीयुक्त खाद्यवस्तु आयातमा कडाइ गर्ने नीति लिएको थियो । विषादीको अव्यावहारिक र अवैज्ञानिक प्रयोगको कारण किसान र उपभोक्ता सबैलाई नकारात्मक असर पारेको छ ।
के गर्ने उपभोक्ताले ?

  •     माथि उल्लेखित कानुनी ब्यवस्थाको वकालत गर्दै तिनको कार्यान्वयनका लागि निरन्तर दबाव र आवश्यकता अनुसार कानुनी उपचारको खोजी गर्ने ।
  •      वजारमा तरकारी किन्दै गर्दा केही कुरामा ख्याल गर्ने हो भने धेरै हदसम्म वँच्न सकिन्छ । जस्तो कि  किरा फिटिक्कै लागेको छैन, प्राकृतिक रङ हुनुको साटो धेरै हरियो, चिल्लो, टल्केको र चम्किलो छ भने त्यसमा धेरै विषादी हालिएको अनुमान गर्न सकिन्छ । विषादी हालेको तरकारीमा विषादीको गन्ध आउन पनि सक्छ । त्यसैले किरा लागेको तरकारी, फलफूल, देख्दा ताजा नदेखिने छ भने त्यो तरकारीमा विषादीको मात्रा कम रहेको बुझ्नुपर्छ र भरसक त्यस्तो तरकारी प्रयोग गर्नुपर्छ ।  
  •     कुनै तरकारीमा धेरै विषादी रहेको आशंका लागेमा तरकारी पकाउनुभन्दा अगाडि तीव्र गतिमा पानी झर्ने धाराको पानीमा तीनपटकसम्म पखाल्ने हो भने ६० प्रतिशत विषादी पखालिएर जान्छ ।
  •     एक लिटर पानीमा एक चम्चा नुन हालेर घोल्ने र यसरी नुन घोलिएको पानीमा तरकारी वा फलफूल १० मिनेट राख्ने । यसो गर्दा ८० प्रतिशत विषादी पखालिन्छ । सतप्रतिशत विषादी फाल्नु छ भने बाहिरको बोक्रा फालेर खानुपर्छ वा बन्द छ भने बाहिरको एक–दुई पत्र फाल्नुपर्छ । 
  •     वस्तुलाई बजारबाट ल्याएपछि केही दिन राखेर मात्र प्रयोग गर्ने हो भने विषादीको असरबाट धेरै हदसम्म बच्न सक्छन् । तरकारीमा प्रयोग गरिने अधिकांश विषादीको वेटिङ पिरियड कम्तीमा ७ दिनको  हुन्छ । अर्थात् बजारमा तरकारी फलफूलहरु बिक्रीका लागि पठाउनुभन्दा ७ दिनअघिदेखि विषादीको प्रयोग रोक्नुपर्छ । तर अधिकांश किसानले अन्तिम दिनसम्म पनि तरकारीमा विषादीको प्रयोग गरिरहेका हुन्छन् । 
  •     विक्रीका लागि तयार भइसकेका गोलभेंडा लगायतका कतिपय तरकारीमा फन्जीसाइड अर्थात् ढुसीनासक विषादीको पनि प्रयोग गरिएको हुन्छ । यस्तो औषधीको वेटिङ पिरियड १० दिनको हुन्छ । अर्थात् त्यस्ता उत्पादन बजार पठाउनु १० दिनअघिदेखि नै औषधीको प्रयोग बन्द गर्नुपर्छ । तर यस्तो तरकारी पनि औषधी हाल्न रोकिएको १ वा २ दिनमा नै बजारमा पुग्छन् । 
  •     त्यसैले जनस्तरवाट देशका विभिन्न भागमा विषादी परीक्षण गर्ने ब्यवस्था मिलाउनका लागि दवावको खाँचो छ । अहिले नेपालमा प्रयोग हुने विषादीमध्ये अधिकांश विषादी अर्गानोफोस्फेट समूहका विषादी छन्, जसको र्यापीड टेष्ट गर्न चाहेमा ६ मिनेटमै परीक्षण गर्न सकिन्छ । कुरा यति हो कि त्यसको लागि उपकरण, किट र दक्ष जनशक्तिको आवश्यकता पर्छ । कम्तिमा यतिसम्मको ब्यवस्था गर्नका लागि पनि उपभोक्ताहरुले आवाज उठाइरहनुपर्दछ ।
  •     र अन्तमा जैविक विषादीको प्रयोगलाई वढावा दिनुपर्दछ । हरेक नेपालीले कौशीमा तरकारी खेती गरेर खाने गर्नुपर्छ । यसो गर्दा विषादी कम खाने सम्भावना हुन्छ । विषादीयुक्त तरकारी चिन्नसक्नेले त्यस्तो तरकारी नकिन्ने प्रण गर्नुपर्छ । यसो गर्दा विषादी ज्यादा प्रयोग गर्ने किसानहरु हतोत्साहित हुन्छन् ।

 नेपालमा जैविक विषादीको प्रयोग गर्ने हो भने त्यसको प्रसस्तै सम्भावना छ । जैविक विषादी ( Biopesticides) भन्नाले शत्रु जीवलाई मार्नका निम्ति प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्र जीव एवम् सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिहरूको तत्त्व, उत्पादन वा सक्रिय तत्वहरू पर्दछन् । जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रु जीव व्यवस्थापनको महत्त्वपूर्ण अंश मानिन्छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top