दशौं राष्ट्रिय महाधिवेशनले दिने सन्देश

राजनीति मंसिर ९ 2078 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसीर १० गतेदेखि १२ गतेसम्म हुँदैछ । एउटा कम्युनिष्ट पार्टीको महाधिवेशन हुनुको कारण यो महाधिवेशनले नीति र नेतृत्व कसरी टुंगो लगाउला भनेर कौतुहलता जाग्नु स्वभाविक छ । सामान्यतः महाधिवेशन भनेको नीति र नेतृत्व दुवैको टुंगो लगाउने निकाय हो । अर्थात् यसले एकातिर नीति बनाउँछ भने अर्कोतिर नेतृत्व चयन गर्छ । तर, यो पटक नीतिको काम सकिएको छ । २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले नीतिगत विषय सकिसकेको छ । अर्थात् नेपाली कम्युनिष्ट आन्दोलनको ७३ वर्षको इतिहासमा यस पटकदेखि नेकपा एमालेले दुइवटा महाधिवेशन गर्ने प्रचलन ल्याएको छ । एउटा नीतिका लागि र अर्को नेतृत्वका लागि ।
यो परम्परा आफैमा नौलो लाग्न सक्छ तर, एमालेले यसलाई कार्यान्वयनमा ल्याइसकेको छ । ब्यावहारिक रुपमा हेर्दा नेतृत्व चयन गर्ने समयमा नीतिगत वहस, छलफल असाध्यै कम हुने गर्दछन् । नेतृत्वको प्रतिष्पर्धाले नीतिलाई ओझेलमा पार्ने गर्दछ । त्यस अर्थमा एमालेले नयाँ प्रयोग गरेको छ  । जसलाई नेपाली कांग्रेस जस्तो पार्टीले पनि आगामी दिनमा अबलम्वन गर्ने संकेत दिएको छ । यसबाट के स्पष्ट हुन्छ भने नेपाली राजनीतिमा एमालेनै त्यस्तो शक्ति हो जसले समयानुकुल नयाँ नयाँ प्रयोग पनि गर्दछ ।  
विधान महाधिवेशनले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मुल नारा पारित गरेको छ । आगामी पाँच वर्षसम्म पार्टीलाई मार्गदर्शन गर्ने यही थिम हो र यही नीति हो । अर्थात् नेपालको संविधानको प्रस्तावनामा उल्लेखित विषयको भावनालाईनै यस नाराले प्रतिनिधित्व गरेको छ । यस अर्थमा एमालेले संविधान अनुरुपनै नीति कार्यक्रम वनाउँदै छ र बनाएको छ । यो संविधान एमालेको नेतृत्वमा वनेका कारणले पनि पार्टीले तदनुसारको कार्यक्रम निर्धारण गर्नु स्वभाविक हो । 
समाजवादको आधार तयार गर्नु भनेको कुनै अमुर्त कुरा हैन । यस अन्तर्गत् राष्ट्रिय पुँजीको विकास गर्ने, उत्पादक शक्तिको विकास गर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने, असमान सन्धीहरू खारेज गरी राष्ट्रियतालाई सुदृढ गर्ने र सामाजिक–सांस्कृतिक क्षेत्रमा रहेका सामन्तवादका अवशेष अन्त्य गर्ने जस्ता महत्वपूर्ण कार्यक्रम हुन् । यी सवै कार्यक्रमहरु जबजले अंगिकार गरेका महत्वपूर्ण विषय पनि हुन् । जुन कुरालाई विधान महाधिवेशनले टुंगो लगाइसकेको छ ।
त्यसैले दशौ राष्ट्रिय महाधिवेशनको मुख्य कार्यभार नेतृत्वको चयन गर्नु हो । यो विषयमानै अहिले सर्वाधिक चर्चा हुने गरेको छ । खासगरी वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः सर्वसम्मत अध्यक्ष हुँदैछन् भन्ने विषयले धेरैको टाउको दुखेको छ । ओली विवादरहित नेता हुँदा खासगरी एमाले छोडेर अलग पार्टी वनाउन खोजेका माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निद्रा हराम भएको छ । 
उनीहरु नेपाली राजनीतिका नायक ओलीलाई खलनायकको रुपमा प्रस्तुत गर्न चाहान्छन् । तर, अहिले माधव नेपाल रायमाझीको उत्तराधिकारी भएर उदाएका छन् भने प्रचण्ड अस्ताउँदो सूर्य हुन् । त्यसोत प्रचण्ड नेपाल दुवै अस्ताउँदो सूर्यनै हुन् । किनकि आगामी चुनावमा नेपाली कांग्रेसको साथ नपाए पराजित हुने डरले मिलेरै चुनाव लड्ने भनेर कार्यकर्तालाई थमथमाउँदैछन् । माधब नेपाल र प्रचण्डको पार्टीमा रहेका कार्यकर्ताहरु कांग्रेससंग मिलेर नजाने भन्दासाथ उपियाँले छोडे झैं छाड्नेछन् भन्ने कुरा उनीहरुलाई थाहा छ । त्यसैले कहिलेकाँही देउवाले पनि हो मा हो मिलाउँदैछन् ।
दुई तिहाई नगिच रहेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार वनाउने मुख्य सूत्राधार माधव नेपाल हुन् । जसरी २०१७ सालको राजा महेन्द्रको कदमलाई स्वागत गरेर कम्युनिष्ट पार्टीलाई दरवारमा लगेर वुझाउने केशरजङ्ग रायमाझी कम्युनिष्ट आन्दोलनमा कुख्यात पात्रको रुपमा स्थापित छन् त्यसरीनै २०७४ सालको नेकपा (एमाले) नेतृत्वको सरकार ढालेर काङ्ग्रेस नेतृत्वको सरकार बनाउने घटनामा माधवकुमार नेपाल कुख्यात पात्रको रुपमा दर्ज भएका छन् । यस अर्थमा उनी रायमाझी पथका पक्का सारथी पनि हुन् ।
यसको अर्थ ओली अध्यक्ष भइसके भन्ने हैन । तर, नेपाली राजनीतिमा ओलीले खेलेका अनेकन ऐतिहासिक कदमलाई आत्मसात गर्दै निर्विरोध अध्यक्ष हुने सम्भावनालाई किमार्थ इन्कार गर्न सकिन्न । तर, एमाले यस्तो पार्टी हो जसले सवैभन्दा वढी आन्तरिक प्रतिष्पर्धालाई ग्यारेन्टी गर्दछ । पार्टीमा नीतिगत मतभेद छैन त्यसैले अवको पार्टी हाँक्ने काममा प्रतिष्पर्धा हुनेछ । मुल नेतृत्वमा प्रतिष्पर्धा नहोला तर, सवैमा यसो गर्न संभब छैन । यस अर्थमा आन्तरिक लोकतन्त्रको सच्चा उत्तराधिकारी एमाले पार्टी वन्ने छ भन्ने कुरामा कुनै द्विविधा छैन ।
सरकारको नेतृत्वदायी भूमिकामा नरहेर पनि संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेल्नु, विरोधीको विचारमा लिङ्ग नछुट्टिएको एमालेलाई शान्दार वहुमतमा पुर्याउनु, एमालेलाई सर्वाधिक लोकप्रिय पार्टी वनाउनु, कम्युनिष्ट आन्दोलनमा विभाजनको शृङ्खला अन्त्य गर्दै २०७५ जेठमा दुई पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वनाउने अग्रसरता लिनु आफैमा ऐतिहासिक कदम हुन् । 
सरकारको नेतृत्व गर्दा पनि विकासको आधिवेहरी सृजना गर्नु, वैदेशिक शक्तिलाई शिर ठाडो पारेर ललकार्न सक्नु, उत्तरतिरका नाका खोलेर नेपाललाई कहिल्यै नाकावन्दी नहुने अवस्था सृजना गर्नु, मुलुकलाई विकसित राष्ट्रको रुपमा उभ्याउन नयाँ नयाँ सपनाहरु देख्न सक्नु र त्यस्ता सपनालाई ब्यवहारमा उतार्ने स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नु सामान्य विषय थिएनन् । यी सवै कारणले ओली नेपाली राजनीतिमा अब्वल राजनेताको रुपमा उदाएका हुन् र यी सवै कारणले एमालेका लागि ओली निर्विकल्प अध्यक्ष पनि हुन् । 
यद्यपि पार्टी भित्र दशकौं नेतृत्व गर्दै आएका समकालिन नेतृत्वलाई यस कुराले पिडा दियो । उनीहरुले यस कामलाई पचाउनै सकेनन् । परिणाम पुनः टुट फुटको शृंखला शुरु गरियो । 
यो पटकदेखि ७० वर्षे कार्यकाल लागु भएको छ । यसले नेतृत्वलाई रिटायर्ड हुने परम्पराको जग वसालेको छ । विगतमा कतिपय अस्पष्टता भएकाले यसको कार्यान्वयन हुन सकेको थिएन । तर, अब यो विधि वनेको छ । यसको अगुवाई पनि ओलीलेनै गर्नु भएको छ । सम्भवतः यस विषयले अब अन्य दलहरुलाई पनि आकर्षित गर्नेछ र उनीहरुलाई कुनै न कुनै ढंगले यस प्रकारको व्यवस्था अपनाउन बाध्य हुनुपर्नेछ ।   
यो महाधिवेशनले  नेपाली रानीतिमा केही सन्देश दिने छ । माथि भनेजस्तै दुइवटा महाधिवेशनको आबश्यकतालाई महसूस गराउनु पहिलो सन्देश हो । जसको वारेमा माथिनैविवेचना गरिएको छ ।
त्यसवाहेक दोश्रो सन्देश पार्टी विभाजनको कुनै असर छैन भन्ने विषय हो । केही नेतारुले पार्टी छाडेका हुन् तर, उनीहरुका पछाडि जनमत र पार्टी मत छैन । पार्टीमा लागेर यो वा त्यो पद नपाएका कारण असन्तुष्ठि हुनु एउटा कुरा हो र ती ब्यक्तिले पार्टी छोड्नु पनि स्वभाविक होला । तर, धेरै ठूलो पंक्ति निस्वार्थ ढंगले लागेको छ । कार्यकर्ताको विशाल पंक्तिले चाहने कुरा के हो भने पार्टी सत्तामा जाओस् र आम नागरिकको पक्षमा काम गरोस् ।
जव जनताको पक्षमा काम हुन्छ त्यतिवेला सवै आबश्यकताहरु पूरा हुनेछन् । यति विशाल छाती भएका कार्यकर्ताको चाहनामाथि कुठाराघात गर्ने नेतालाई नेता मानिरहनुपर्ने कुनै पनि कारण छैन । त्यसैले पनि कार्यकर्ताहरु विभाजन पश्चात् थप सक्रिय भएका छन् । गाउँ गाउँमा जिल्ला जिल्लामा प्रवेश गर्नेको लहर चलेको छ । विपक्षीलाई पनि यो कुरा थाहा छ कि यति ब्यवस्थित पार्टी अरु कुनै छैन ।  
यस वीचमा दुइ तिहाइको संघीय सरकार मात्र हैन सातवटै प्रदेश सरकारहरु पनि ढलेका छन् । यसका लागि धेरैले ओलीलाई दोषारोपण गरिरहेका छन् । तर, यो महाधिवेशन पश्चात् पुःन एकीकृत पार्टी बनाउने अभियान अध्यक्ष ओलीकै नेतृत्वमा चल्ने छ । हिजो सरकारमा रहेर पनि भूमिगत रहेको विप्लबले नेतृत्व गरेको कम्युनिष्ट पार्टी, मधेसको राजनीति गर्दै आएका डा......... ...... ले नेतृत्व गरेको ......पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर मूल प्रवाहमा समाहित गरेको ओली सरकारलेनै हो । यसरीनै कम्युनिष्ट पार्टीका समर्थक, शुभेच्छुक र साना साना पार्टीहरु पुःन एमालेमा समाहित हुनेछन् । जुन कुराको सन्देश महाधिवेशनको मुखमा बाँके जिल्लाले दिइसकेको छ । यी सवै तथ्य र प्रमाणले आगामी सरकार एमालेको वन्दैछ भन्ने तेश्रो सन्देश पनि यो महाधिवेशनले दिने छ । 
टुटफुट र विभाजनबाट एमाले सकियो कि भन्ने पनि कतिपयलाई लागेको छ । उनीहरुका प्रस्तुतिहरु वेलाबखत यसरीनै आउने गरेका छन् । तर, यो महाधिवेशनले एमाले सकिएको हैन बरु थप सुदृढ भएर, संगठित भएर, एकताबद्व भएर त्यो पनि सैद्वान्तिक स्पष्टताकासाथ आउँदैछ भन्ने चौथो सन्देश यो महाधिवेशनले दिनेछ ।
पाँचौ सन्देशको रुपमा एमालेभित्र अब गुट उपगुट रहेनन् र रहने छैनन् भन्ने हो । यसलाई कसरी पनि स्पष्ट गर्न सकिन्छ भने नेतृत्वका लागि निर्वाचन भएपनि सोलोडोलो चिट वाँडेर कसैलाई काखा र पाखाको रुपमा हेरिने छैन भन्ने कुरामा कुनै द्विविधा छैन । यहाँ सम्मकि पूर्व समुह पनि रहने छैनन् । बरु ती सवै समुहलाई अन्तरघुलनको माध्यमवाट मूल प्रवाहीकरण गर्दैै जाने अवस्था आउने छ ।
हिजो केपी ओलीको सरकारले सुखी नेपाली, खुशी जनता भन्ने नारालाई आत्मसात गर्दै सरकार चलाएको थियो । जुन सरकारले पूरा समय काम गर्न पाएन । अब यो महाधिवेशनले सरकार बनाउने तहसम्मको सन्देश दिनेछ । सन्देश सरकार वनाउने तहसम्म मात्र हैन त्यस्तो सरकारले गर्ने कामका वारेमा पनि स्पष्ट दृष्टिकोण दिनेछ । समृद्व नेपाल बनाउनका लागि हिजो एमाले सरकारले जे गर्दै थियो तिनैलाई निरन्तरता दिनुपर्ने छ । हरेक पार्टीका क्याडरहरुलाई उत्पादनसंग जोड्ने काम अबका दिनमा गर्नुपर्ने छ । सरकारमा रहेर वा नरहेर एउटा आन्दोलनको रुपमा उत्पादनलाई लग्दासाथ नयाँ उभार आउने छ । यो छैटौं सन्देश पनि महाधिवेशनले दिने छ ।  
मुलुक बनाउने शक्ति भनेकै एमाले हो । एमाले सक्रिय हुँदा मुलुक सक्रिय हुन्छ र एमाले निष्क्रिय हुँदा मुलुक निष्क्रिय हुन्छ । जतिवेला एमाले सक्रिय थियो त्यतिवेला विकासका कुरा हुन्थे । नयाँ आयोजनाका  विषयमा छलफल हुन्थ्यो । मुलुकमा केही हुँदैछ जस्तो लाग्थ्यो । तर, अहिले सवैजना चुप छन् । असन्तुष्ठि पनि छैन । कसैसंग अपेक्षा गरे पो असन्तुष्ठि र सन्तुष्ठिको कुरा आउने हो । त्यसैले एमाले हुनु र नहुनको अर्थ नेपाली राजनीतिमा छ भन्ने सातौं सन्देश यो महाधिवेशनले दिनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top