समाजको भ्रष्टिकरणमा मदिरा र नियन्त्रणमा राज्यको अपेक्षा

स्वास्थ्य पौष ८ 2078 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
मदिरा वा रक्सी सामान्यतः लागु पदार्थ हो । मदिरालाई आजभोजि शिष्टाचारको लागि अत्यवश्यक वनाउन थालिएको छ । भेटभाट, छलफल, सेमिनार वा कतिपय कार्यक्रमको अन्तमा मादक पदार्थको रुपमा रक्सी, वियर वा यस्तै पेय पदार्थको ब्यवस्था गर्नु स्वभाविक हुन थालेको छ । तर, यही मादक पदार्थले परिवारको विचल्ली, विछोड, दुर्घटनामा परी मृत्यु, कतिपय सम्भावनायुक्त ब्यक्तिको पतन भएका वग्रेल्ती उदाहरण भेटिन्छन् ।
अन्य मुलुक भन्दा नेपाल यस मानेमा फरक छ कि यहाँ हरेक पसलमा, हरेक ठाउँमा यस्ता पसल भेटिन्छन् । कुन ठाउँमा राख्ने, कसरी बिक्री गर्ने भनेर नियमन गर्ने ब्यवस्था छैन । यसै सन्दर्भमा हालैका दिनमा उपभोक्ता हित संरक्षण मञ्चले देशका सातै प्रदेशमा र केन्द्रमा मादक पदार्थले गर्ने असर र नियमनकावारेमा छलफल चलाएको छ । यो असाध्यै स्वागतयोग्य र समयसापेक्ष विषय हो । यीनै सन्दर्भलाई लिएर सार्वजनिक रुपमा वहस गर्नु उपयुक्त हुने र यसो गर्दा सामयिक मात्र हैन दबावमूलक काममा सहयोग पुग्ने महसुस गरी केही विषय पस्कने प्रयास गरिएको छ ।
मदिरा वा रक्सी के हो ?   
“मदिरा” भन्नाले अन्न, फलफूल वा अन्य कुनै स्टार्चयुक्त वस्तुलाई जीव रासायनिक प्रक्रियाद्वारा कुहाई वा अन्य कुनै तरीकाबाट तयार पारिएको अल्कोहलयुक्त पदार्थ सम्झनु पर्छ र सो शब्दले रक्सी, जाँड, छ्याङ, व्हिस्की, रम, जीन, ब्राण्डी, भोड्का, बियर, वाइन, सेरी, सेम्पेन, साइडर, पेरी, मिड, माल्टन, औद्योगिक अल्कोहल, रेक्टिफाइड स्प्रिट, माल्ट स्प्रिट, साइलेण्ट स्प्रिट, डिनेचर्ड स्प्रिट र हेड्स स्प्रिट समेतलाई जनाउँछ । ( मदिरा ऐन २०३१ को २ (क))
रक्सी के हो ? 
रक्सी जाँड लाई पकाएर त्यसको वाफबाट बनाइने मादक पदार्थ हो । विश्वमा रक्सीका सयौं प्रकारहरू छन् । नेपालीमा भने साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ । सामन्यतया रक्सी कोदो वा चामल जस्ता अन्नहरूबाट बनाइन्छ ।
रक्सी कार्बन, हाईडोजन, र अक्सिजन मिस्रित रासायनिक यौगिक हो । कार्बोहाइड्रेट यूक्त खाद्वपदार्थ कुहिएपछि प्राकृतिक रूपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । अन्न तथा फलफुललाई कुहाएर त्यसमा मर्चा (यीस्ट नामक ब्याक्टेरिया) हालेर जाँड बनाउने गरिन्छ । यस्ता पदार्थमा चीनी तत्व पाइन्छ । सोहि तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्छ ।                                             https://ne.wikipedia.org

रक्सीले के गर्छ ?
रक्सी शरीरमा प्रवेश गरेपछि पिउने बानी नपरेका व्यक्तिलाई पनि नशा लाग्छ । त्यसले मानिसको सोचाइ, मन र भावनामा परिवर्तन गर्छ । मात्रा बढी भयो भने आफ्नो बोली र व्यवहारको नियन्त्रण हुँदैन । रुने, हाँस्ने, गाली गर्ने, अप्रासंगिक कुरा गर्ने, बोली लर्बराउने, हिँड्दा लरखरिने, आँखा लठ्ठनिे, बान्ता गर्ने, जहिँतहीँ लडिदिने र रक्सीको नशाले छोडेपछि टाउको दुख्ने, जीउ दुख्ने, भोक नलाग्ने, थकाइ लाग्ने जस्ता असरलाई प्रत्यक्ष असर मान्न सकिन्छ ।
रक्सी लागिसकेपछी सेवनकर्ताले समाज, संस्कृति, नीति, मान्यता एवं दिमागी सन्तुलन गुमाउँछ । तत्पश्चात सेवनकर्ता आपराधिक गतिविधि जस्तैः गालीगलौज, होहल्ला, कुटपाट, लडाईझगडा, चोरीडकैतीको अवस्थामा पुग्दछ । 
रक्सी मानिसको दिमागलाई डिप्रेस बनाउने तथा लत लगाउने एक प्रकारको लागूऔषध हो । रक्सी सेवनकर्ताको केन्द्रिय स्नायु प्रणालीको गति कम गराई मस्तिष्कका विभिन्न कोषहरु बीचको पारस्परिक सम्बन्ध निर्माणमा तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशिलतामा क्षयीकरण भइ मानिस अव्यवस्थित, अव्यावहारिक र अस्वाभाविक बन्ने गर्दछ । अत्याधिक रक्सीसेवनका कारण पारिवारिक, सामाजिक र आर्थिक हैसियत निर्माणमा सेवनकर्ता पछाडि पर्ने गर्दछ । साथै सामाजीक तवरले उच्छृङ्खल, अराजक, अनैतिक, असभ्य एवं गैर जिम्मेवार बन्न पुग्छ ।
बेलायतबाट प्रकाशन हुने जर्नल विएमसीका अनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका किटाणुबाट संक्रमित हुन्छन् । मदिरा सेवनले शरीरका विभिन्न भाग र मुखमा गम्भिर असर पु¥याउँछ । अत्याधिक मदिरा सेवनले मुखको क्यान्सर निम्त्याउँछ ।
अमेरिकामा अल्कोहल सेवन गर्ने, नगर्ने र कम मात्रामा गर्ने १० हजार ४४ जनामा केन्द्रित अनुसन्धान बाट प्राप्त नतिजा अनुसार नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयघात, कलेजो र पाचन प्रणाली सम्बन्धी रोग देखिएको छ । साथै यसको अधिक सेवनले पाचन प्रणाली र फोक्सोमा क्यान्सर हुने संभावना बढ्छ । अत्याधिक मदिरा सेवन गर्नेको अल्पायुमै र आकस्मिक मृत्यु हुने गरेको छ । यसले उच्च रक्तचापको संभावना बढाउँछ । यसका सेवनकर्ताहरू मधुमेह र मुटुरोगबाट ग्रसित हुन पुग्छन् ।
मदिरा सेवनले कैयौँको घर उजाडिएको छ । प्रायःसवारी दुर्घटनाको कारक मदिरा सेवन देखिएको छ । मानिस भ्रष्ट्राचारी बन्न, बलत्कारी बन्न, गुण्डा बन्न र हत्यारा बन्न मदिराले नै उक्साएको छ । यसले स्वास्थ्यमा गर्ने असर अझ डरलाग्दो छ । जसकोवारेमा डा.अभिनव दाहालले लेखेका यी वूँदालाई एकपटक स्मरण गर्न जरुरी छ । 
    कलेजो रोग
मदिरा सेवनले कलेजोमा हानि पुग्छ । यसले फ्याटी लिभरको सम्भावना बढाउँछ । लगातार कलेजोमा बोसोको मात्रा बढ्दै गएपछि सिरोसिस नामक रोग लाग्ने सम्भावना अधिक हुन्छ । सिरोसिस भएपछि कलेजोले कामै गर्न नसक्ने अवस्था आउँछ, जसले मानिसलाई मृत्युको मुखमा धकेल्छ । मदिरा सेवनले हुने सिरोसिस रोगको उपचार कलेजो प्रत्यारोपणबाट मात्रै सम्भव छ । 
    प्यांक्रियाटाइटिस 
मदिरा सेवनबाट पाचन ग्रन्थीमा समस्या आई पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । यसलाई चिकित्सकीय भाषामा अल्कोहोलिक प्यांक्रियाटाइटिस भनिन्छ । पाचन प्रणालीसम्बन्धी बिरामीमध्ये झन्डै ७० प्रतिशतमा अल्कोहल सेवनकै कारण हुने गरेको पाइन्छ । 
    क्यान्सर
मदिरा सेवन विभिन्न क्यान्सरको कारणसमेत बन्ने गरेको छ ।  मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर अल्कोहल सेवन गर्ने मानिसमा अत्यधिक हुने गर्छ ।  मदिरा सेवनका साथै धूम्रपान गर्ने मानिसमा अन्यको तुलनामा क्यान्सरको खतरा दोब्बर रहन्छ । 
    ग्यास्ट्राइटिस र अल्सर
मदिरा सेवनले पाचन प्रणाली र पेटसम्बन्धी समस्या सिर्जना गर्छ । पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस र अल्सर हुन्छ । पाचन प्रणालीमा पर्ने असरका कारण कतिपय अवस्थामा पेटको आन्द्रामा रक्तश्राव हुने सम्भावना उच्च रहन्छ । 
    प्रतिरक्षा प्रणालीमा असर
मदिरा सेवन गरिरहने मानिसको रोगप्रतिरोधात्मक क्षमतामा बिस्तारै ह्रास आउन थाल्छ । प्रतिरोधी क्षमता कमजोर भएपछि निमोनिया, क्षयरोग लाग्ने सम्भावना उच्च रहन्छ । यसले रक्तकोष तथा कोषिका नष्ट गर्छ । अत्यधिक मदिरा सेवन सेवन गर्दा सेता रक्तकोष उत्पादनमा बाधा पुग्छ । 
    मस्तिष्कमा क्षति
मदिरा सेवन गर्ने मानिसमा आँखाको दृष्टिमा समस्या आउने, सम्झन गाह्रो हुने, ढिला बोल्ने वा प्रतिक्रिया ढिला दिने, बिस्तारै हिँड्नेजस्ता समस्या देखापर्छन् । यी सबै मस्तिष्क क्षतिका लक्षण हुन् । यसरी यसले शारीरिक तथा मानसिक समस्या सिर्जना गर्छ । 
    मुटुमा समस्या
अत्याधिक मदिरा सेवनले शरीरमा ट्राइग्लिसराइड (रगतमा एकप्रकारको बोसो)को स्तर बढ्न सक्छ । ट्राइग्लिसराइडको उच्च स्तरले खतरनाक स्वास्थ्य अवस्था, जस्तैः हृदयरोग र मधुमेहको हुन सक्छ । मदिरा सेवनबाट मुटुमा देखिने सुरुवाती समस्या भनेको उच्च रक्तचाप तथा अनियमित मुटुको धड्कन हो, जसले मुटुसम्बन्धी रोग तथा मस्तिष्कघातको जोखिम बढाउँछ । 
    दुर्घटना र चोटपटक
मदिरा सेवन सेवनले दुर्घटना र चोटपटक निम्त्याउने जोखिम रहन्छ । सवारी दुर्घटना, घरेलु हिंसा, आत्महत्या, बलात्कारलगायत घटनामा मदिरा सेवन प्रमुख कारक बन्ने गरेको छ । तसर्थ, यस्ता समस्याबाट टाढै बस्न मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ । 
अध्ययनहरुले पनि उपर्युक्त विषयलाई पुष्टि गर्छन् ः
२०७५ भदौ ७  मा बेलायतको ल्यानसेट जर्नलमा प्रकाशित ‘मदिरा सेवन र १९५ देशमा यसको असर’ विषयक अध्ययनले मदिरा सेवनका कारण रोग निम्तिने, अशक्तता र मृत्युको सम्भावना बढाउने देखाएको छ । 
सन् १९९० देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको अध्ययनमा नेपाल सहितका १९५ मुलुक सहभागी थिए । अध्ययन प्रतिवेदनले नेपालमा महिलाको तुलनामा पुरुषले बढी मात्रामा मदिरा सेवन गर्ने गरेको देखाएको छ । नेपालमा २१ प्रतिशत पुरुष र १.५ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेको अध्ययनमा उल्लेख छ । 
अमेरिकाको ‘इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आईएचएमई)’ ले गरेको उक्त अध्ययनमा मदिरा सेवनका कारण नसर्ने रोगको जोखिम बढ्ने, शारीरिक अशक्तताको समस्या निम्तिने र ज्यानै जाने खतरा रहेको उल्लेख छ । 
सन् २०१७ मा बेलायतको द बिएमजे जर्नलमा प्रकाशित अध्ययनले मुटु सम्बन्धी धेरैजसो स्वास्थ्य समस्यालाई मदिरा सेवनले फाइदा गर्ने देखाएको थियो । तर, आईएचएमईको पछिल्लो अध्ययनले मदिरा सेवन मानव स्वास्थ्यका लागि कुनै पनि रूपमा सुरक्षित नभएको तथ्य सार्वजनिक गरेको छ ।
विश्वमा मदिरा सेवनका कारण सन् २०१६ मा २८ लाख व्यक्तिको मृत्यु भएको थियो । नेपालमा त्यही वर्ष मदिराकै कारण ३ हजार ९७२ जनाको मृत्यु भएको थियो । नेपालमा यो संख्या सन् १९९० मा ८३५ थियो । सन् १९९० देखि २०१६ सम्मको तथ्यांकलाई आधार मान्दा मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या २६ वर्षको अन्तरमा ३७६ प्रतिशतले बढेको देखिन्छ ।
विकसित र आधुनिक समाजमा कडा र खतरनाक नशालु पदार्थबाट मर्नेको संख्याभन्दा कानुनी छूट पाएका लागूपदार्थ (चुरोट र रक्सी) बाट मर्नेको संख्या ३० गुणा बढी छ । अमेरिकामा मात्रै प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेमध्ये झण्डै २५ हजार जतिको मृत्यु रक्सीकै कारणले भएको हुन्छ ।
रक्सीकावारेमा विभिन्न विश्वबिद्यालयहरुले पनि अध्ययन गरका छन् । अक्स्फोर्ड विश्वविद्यालय, पेकिङ विश्वविद्यालय र चाइनिज अकाडमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट रक्सी थोरै वा धेरै जति खाए पनि त्यसले असर गर्ने गरेको पाइएको छ ।
नेपालमा मदिरा नियन्त्रणका लागि गरिएका प्रयत्न ः
नेपालमा मदिरा नियन्त्रणका लागि विभिन्न प्रयत्नहरु नभएका हैनन् । तर, तिनलाई तार्किक निष्कर्षमा पुर्याउन सकिएको छैन । यसको कारण समाजकै विभिन्न ब्यक्ति वा समुदायले विरोध गर्नु र सरकारले कडाई गर्न नसक्नु हो । माओवादी युद्व ताक कतिपय जिल्लामा निषेध गरिएको थियो । अर्घाखाँची जिल्लालाई केही महिना निषेध गरियो तर, कालोवजारीमा बिक्री हुन थाल्यो ।
त्यस अघि २०५०÷५१ सालतिरै अछाम जिल्लालाई‘मदिरामुक्त जिल्ला’ घोषणा गरिएको थियो । यो पनि टिक्न सकेन । २०६५ सालतिर मदिरा बिक्री वितरण नियमन निर्देशिका, २०६५ ल्याइयो । यसमा नगरपालिका क्षेत्रमा मदिरा र सूर्तीजन्य पदार्थ बिक्रीका लागि छुट्टै पसल खोल्नु पर्ने, किराना पसल वा अन्य पसलमा मिसाएर मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो । साथै डिपार्टमेन्ट स्टोरमा छुट्टै सेक्सन खडा गरेर मात्रै मदिरा बिक्री गर्न पाइने प्रवन्ध मिलाइएको थियो । सो बखत बिनाइजाजत मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो ।
निर्देशिकामा मदिरा पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खोल्न पाइने र १८ वर्षभन्दा बढी उमेरकालाई मात्रै बिक्री गर्न पाइने शर्त इजाजतपत्रमा राखिएको थियो । यस निर्देशिकाका प्रावधान मदिरा आयातकर्ता, उत्पादक, होलसेलर र डिष्ट्रीब्यूटरले पनि अनिवार्यरुपमा पालना गर्नुपर्ने व्यवस्था भएको थियो ।
निर्देशिकामा इजाजत बेगरको मदिरा बिक्रीको सुराक दिनेलाई १० प्रतिशत, मदिरा जफत गरी ल्याउनेलाई २० प्रतिशत तथा मदिरा र व्यक्ति दुवै पक्राउ गरी ल्याउने नागरिक र राष्ट्रसेवक कर्मचारीलाई विगोको ३० प्रतिशत पुरस्कार दिने प्रवन्ध गरिएको थियो । निर्देशिका विपरित काम गर्नेको मदिरा जफत हुने र पटकै पिच्छे रु १० हजार दण्ड गर्ने प्रवन्ध मिलाइएको थियो । तर यो पनि कार्यान्वयन हुन सकेन ।
 विगतमा जे जस्तो भएपनि अब यसका लागि नीतिगत ब्यवस्था रत्यसलाई कडाईपूर्वक कार्यान्वयन गर्ने अवस्था सृजना गर्नैपर्छ । यसले राजश्वमा सहयोग पर्याएको होला तर, त्योभन्दा कैयौं गुणा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने अवस्था ल्याएको छ । यसैले सरकारले तत्काल नीतिगत व्यवस्गा गर्नुपछृ । यसका लागि सवै दलहरुले सहयोगी भूमिका निर्वाह गर्नेमात्र हैन दवावमूलक काम गर्नुपर्छ । 
छिमेकी मुलुक भारतको विहार र गुजरात लगायतमा मदिरालाई नियन्त्रण गरिएको छ । उनीहरुको विचारमा मदिरा नियन्त्रण गरेपछि मात्र समृद्धि भित्रिएको हो । विश्वका मुस्लिम मुलुकहरु मदिरामुक्त छन् । अमेरिका, क्यानडा जस्ता उच्च विकास गरेका मुलुकले पनि मदिरा नियन्त्रणको प्रयास गरेका छन् । फ्रान्स, बेलायत, अष्ट्रेलियाजस्ता मुलुकले उच्च परिमाणमा मदिरा उत्पादन गरेपनि ती देशको खपत न्यून छ । सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाईल गोर्भाचोभले सन् १९८५ देखि १९८८ सम्म ‘एण्टी अल्कोहल क्याम्पेन (ड्राई ल)’ लागू गरेका थिए । त्यसैले अब ढिला नगरी कम्तिमा तत्कालका लागि निम्न अनुसारका प्रक्रिया अगाडि वढाइनुपर्छ ।
१. मदिरा बिक्रीको लागि छुट्टै पसलको ब्यवस्था हुनुपर्छ । कुनै पनि किराना पसल लगायतबाट मदिरा बिक्री गर्न पूर्णतः निषेध गरिनुपर्छ ।
२. मदिरा बिक्री गर्ने पसल सीमित हुनुपर्छ । नगरपालिकाका हकमा प्रति वडा एउटा र गाउँपालिकाका हकमा एउटा पसल स्थापना गर्न दिने गरी कोटा प्रणाली लागू गर्नुपर्छ ।
३. मदिरा बिक्री गर्दा खरिदकर्ताको तीन पुस्ते लगायतको अभिलेख राख्नुपर्छ । निश्चित परिणाम मात्रै बिक्री गर्न पाइने व्यवस्था गरिनुपर्छ ।
४. मदिरा बिक्री गर्ने र नगर्ने रेष्टुराँ, होटल, लज, रिसोर्ट, होमस्टेको पहिचानका लागि ‘मदिरारहित रेष्टुराँ’ र ‘मदिरासहितको रेष्टुराँ’ भन्ने बोर्ड अनिवार्य गर्ने । यसो गर्दा कतिपयलाई त्यस्ता ठाउँमा जान हिचकिचाउने अवस्था आउन सक्छ । 
५. मदिरा बिक्री स्थलमा १८ बर्ष मुनिका लागि प्रवेश निषेध गर्ने ।
६. सरकारी भोज भतेरमा मदिरा प्रयोग गर्न नपाइने व्यवस्था झैँ सार्वजनिकरुपमा पार्टी प्यालेसमा आयोजना गरिने विवाह, ब्रतबन्ध लगायतका भोजमा मदिरा ‘सर्व’ गर्न नपाइने प्रवन्ध गर्नुपर्छ । 
७. विद्यालय, अस्पताल, सार्बजनिक कार्यालय जस्ता संवेदनशील स्थानमा मदिरासेवन गरी उपस्थित हुनेलाई तत्कालै पक्राउ गरी मुद्दा चलाउने ।
८. मदिरा पियर सार्वजनिक सडकमा हिँडडुल गर्नेलाई कारवाही गर्ने ब्यवस्था मिलाउनुपर्छ ।
९.मदिरा आयातमा रोक लगाउनुपर्छ । 
१०. कुनै पनि सरकारी कार्यालय, सरकारी आवास र सार्वजनिक निकायमा मदिरा उपभोग गर्न नपाउने व्यवस्था लागू गर्ने । ‘स्मोकिङ्ग जोन’ जस्तै तोकिएको ‘अल्कोहल जोन’ मा मात्रै मदिरा सेवन गर्न पाइने व्यवस्था गर्नुपर्छ ।
११. मदिराको उपयोग बढाउने गरी कुनैपनि प्रकारको विज्ञापन गर्न नपाइने गरी पूर्णरुपमा निषेध गर्ने । तत्कालै गाउँपालिका र नगरपालिकाले आफ्नो स्थानभित्र रहेका मदिराका होर्डिङ्ग बोर्ड वा अरु कसैले रोको भएपनि ती सवै हटाउनुपर्छ ।  

यी सवै काम गरिहँदा मदिरा उद्यमीलाई आबश्यकता अनुसार क्षतिपूर्ति दिने ब्यवस्था मिलाउनुपर्छ । किनकि सरकारी निर्णयलेनै उनीहरु यो उद्योग गर्न पुगेका हुन् । पेशा ब्यवसाय परिवर्तन गर्न चाहेमा राज्यले सहजीकरण गरिदिनुपर्छ । 
 २०७८ पुस ०७


 

प्राप्त प्रतिकृयाहरू

To Top