पार्कहरुको सहर बुटवल

समाज फागुन २६ 2078 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
बुटवल पार्कहरुको सहर हो । नेपालमा सवैभन्दा धेरै पार्क हुने क्षेत्र बुटवल र यसको आसपास हो । तथापि यसलाई प्रचार गरेर स्थापित गर्ने काममा हामी पछाडि छौं । पाँच वर्ष अगाडि अमेरिका घुम्दा मैले पार्कलाई राज्यले कतिसम्म महत्व दिदा रहेछन् भन्ने कुरालाई आत्मसात गर्न पाएको थिएँ । साँचो अर्थमा अमेरिकालाई पार्कहरुको सहर भनेपनि हुने रहेछ । जता गयो उतै पार्क । 
अमेरिकी भूमिमा टेक्दा म सिकागोमा थिएँ । मिचिगन राज्यको सिकागो सहर अमेरिकाका मुख्य सहरहरुमध्ये पर्छ । यसलाई अव्राह्म लिंकनको भूमि  भनिन्छ । सन् १८७१ पछि निर्माण भएको यो शहरको इतिहास १५० वर्षको छ । त्यसो त सम्पूर्ण अमेरिकाकै इतिहास २ सय वर्ष हाराहारीकै हो । सन् ७१ को अक्टोबर १० मा आगलागीले सिकागो शहर ध्वस्त बनाएको थियो । सो आगलागीमा ३ सयको मृत्यु र १ लाख व्यक्ति घरबार विहिन भएका थिए । ध्वंशले नयाँ निर्माण गर्छ भनेजस्तै उक्त घटनाले सिकागोलाई आधुनिक शहर बनाउन सहयोग पु¥याएको मानिन्छ । सन् १९००सम्म आइपुग्दा यो सहर विश्वका ५ वटा ठूला शहर भित्र पर्न गयो । अमेरिका भित्रको दोस्रो ठूलो जनसंख्या भएको राज्य यसैलाई मानिन्छ ।  
प्रसंग पार्कको हो । सिकागोमा मात्र अर्थात् एउटा सहरमा पा“च सय ५१ पार्कहरु छन् । म जतिवेला अमेरिकी भूमिमा थिएँ त्यतिवेला नेपालमा स्थानीय तहको चुनाव भर्खरै सकिएको थियो । नेकपा एमाले  बुटवलको घोषणापत्र लेखनमा म आफू पनि सहभागी भएकोले मेरो स्मरणमा ताजै थियो । हामीले प्रत्येक वार्डमा कम्तिमा एउटा पार्क बनाउनु पर्दछ भन्ने कुरा राखेका थियौं । बच्चाबच्ची बृद्धबृद्धाहरुलाई फरक फरक मोडलका पार्कहरुको कल्पना गरेका थियौं । मलाई सिकागो पुगेपछि त्यसको महत्व र उपादेयताबरे थप स्पष्ट भयो । एउटा विकसित र संसारको सर्वाधिक शक्तिशाली देशले कसरी पार्कहरुको ब्यवस्था गरेको रहेछ भन्ने कुराको अवलोकन गरेर । 
वर्षमा ४÷५ महिना हिउं पर्छ सिकागोमा । हिउ“ले छपक्कै ढाकेर पार्कमा रहेका विरुवा, फूल र अन्य बनस्पति सबै मर्छन् । तर हिउ“ प्रतिरोधी विरुवा पुनः जस्ताको तस्तै हुने रहेछन् । साना ठूला बिरुवा प्रशस्तै देखिनुको अर्थ शायद त्यही होला । जता हेरे पनि हरियाली देखिने । हामीलाई लाग्यो माटो कता होला ?
अमेरिकामा यो सव त्यत्तिकै भएको भने हैन । अमेरिकी सहरमा दस मिनेटको हिँडाइमा पार्क हुनुपर्छ भन्ने मान्यता छ । यो मान्यता सन् २०१७ अक्टोबरमा हजार जना अमेरिकी मेयरहरुको सम्मेलनले राखेको हो । त्यतिवेला ‘१० मिनेटको हिँडाइमा पार्क’ भन्ने प्रस्ताव एकमतले पारित गरिएको रहेछ । नेपालमा यस प्रकारको सार्थक प्रयास भने कसैले गरेको छैन ।
मैले यो प्रसंग यस कारणले ल्याएको हूँ कि वास्तवमा पार्कहरु सहरका गहना हुन् । घुम्न, मनोरञ्जन प्राप्त गर्न, सौन्दर्यता र समय विताउन अत्यावश्यक त हुँदै हुन् त्यसवाहेक शारीरिक तथा मानसिक स्वास्थ्यका हिसावले पनि अत्यावश्यक मानिन्छन् । हरेक रोगको अचुक औषधि विहानी समयमा हिडडुल गर्नु हो । प्रायः जुनसुकै रोग लागे पनि डाक्टरहरुले विहान हिड्ने सल्लाह दिने गर्छन् । यसका लागि मन प्रफुल्ल हुने, प्रदुषणमुक्त हरियाली क्षेत्र हुनुपर्छ । ब्यावसायिक रुपमा पर्यटनको माध्यमबाट अर्थोपार्जन गर्न, अध्ययन अनुसन्धान गर्न तथा कला–साहित्यको प्रवद्र्वनका लागि पनि पार्कहरु उत्तिकै उपयोगी हुन्छन् । यसरी हेर्दा पार्क सहरको शोभा र सभ्यतासंग अभिन्न रुपले जोडिन पुगेका हुन्छन् । 
यस मानेमा पनि पार्कहरु जरुरी छन् । खासगरी सहरी क्षेत्रमा वढी आबश्यक छन् । यो हिसावले बुटवलको मणिमुकुन्दसेन उद्यान नेपालकै एक चर्चित पार्क हो । यो ऐतिहासिकताका हिसावले, सुन्दरताका हिसावले, जैविक विविधताको हिसावले, खुला सङ्ग्रहालयका हिसावले, धार्मिक हिसावले र धार्मिक सहिष्णुताको हिसावले अथवा सवै हिसावले चर्चित छ । 
बुटवलमा हिलपार्क, लक्ष्मीनगर पार्क, मणिमुकुन्दसेन पार्क, पाणिनि पार्क, भैरव पार्क, मिलन पार्क, पिस पार्क, जेवी स्मृति पार्क, विभूति पार्क,नरेनापुर पार्क, बैठौलिया पार्क, हरियाली पार्क, झण्डापुर पार्क आदि आदि पार्कहरु छन् । अरु पनि होलान् । यसरी हेर्दा बुटवल पार्कहरुको सहर वनिसकेको छ । नेपालमै सवैभन्दा बढी पार्क भएको सहर बुटवल हो । यसको अर्थ सवै भयो भन्ने हैन । धेरै बाँकी छ गर्नका लागि । केही पार्कहरु नमुनायोग्य बनिसकेका छन् । केही सुरुवाती चरणमा छन् । ३० विगाहामा रहेको मणिमुकुन्दसेन पार्क नेपालकै एक नम्वर पार्क हो । स्वरुपका हिसावले पिस पार्क पनि एक नम्वरमै पर्छ । जुन बुटवल–१२ मा छ । जसको ब्यवस्थापन ब्रह्यकुमारी विश्वविद्यालयले गरेको छ । अरुभन्दा फरक यहाँ जान टिकट काट्नु पर्दैन । बडो निष्ठाका साथ यसमा संलग्न ब्यक्तिहरुले काम गर्छन् । अरुले पनि विस्तारै अगाडि वढाउने प्रयास गर्दैछन् । 
बुटवल क्षेत्र पार्कहरुको राजधानी हो भनेर मैले त्यसै भनेको हैन । २०७७ भाद्र असौजतिर हुनुपर्छ, मेरा एकजना मित्र काठमाण्डौमा ३० वर्षदेखि कन्सल्टेन्सीको रुपमा डेकोर स्टुडियो चलाउँदै आउनु भएका  मनोज गुप्ता जो देशभरी विभिन्न कामले घुमिरहनुहुन्छ । उहाँ मुलतः ठूला होटल, पर्यटकलाई आकर्षण गर्ने विभिन्न संरचना, आकर्षक घर आदिको डिजाइन गर्नुहुन्छ । पूर्वदेखि पश्चिम घुम्दा बुटवलमा जति ठूला र आकर्षक पार्कहरु अन्यत्र रहेनछन् । त्यस मानेमा बुटवल पार्कहरुको सहर हो । यो कुरा अर्कै हो कि गुणस्तरका हिसावले अन्तर्राष्ट्रियस्तरका नहोलान् । तर, सार्थक प्रयास भएको छ । यसलाई अझै फराकिलो बनाउनेतर्फ लाग्ने हो भने बुटवल पार्कहरुको राजधानी हुनेछ । 
यस पार्कको कुरा गर्दा यहाँ कति प्रजातिका फूल होलान् ? कति प्रजातिका फलफूल र कति प्रजातिका अन्य रुख होलान् ? यसको अध्ययन हुनु आबश्यक छ । यसका लागि एकजना वनस्पतिविद्लाई अध्ययन गराउनुपर्छ । साथै सो पार्कमा आउनेले के पाए ? के महसुस गरे ? स्वास्थ्यका हिसावले के कति फाइदाजनक भए होला ? यस्ता विषयमा पनि अध्ययन हुन सके औचित्य सिद्व गर्न सहज हुन्छ ।
मैले सुने अनुसार भारतको राजधानी नयाँ दिल्लीमा सानाठूला गरी २१ वटा पार्क छन् । नेहरु पार्क, लोधी गार्डेन, बुद्ध जयन्ती पार्क, सेन्ट्रल पार्क, मुगल गार्डेन, जापानिज पार्क, नेसनल रोज गार्डेन यहाँका आकर्षक पार्कमध्ये हुन् । यस्ता पार्कहरु अरु देशमा पनि नभएका हैनन् ।
बंगलादेशको राजधानी ढाकामा २७ हेक्टरको राम्ना पार्क छ । जहाँ ७१ प्रजातिका फूल, ३६ प्रजातिका फलफूलका रुख र ४१ प्रजातिका रुख छन् । ढाकाको मिरपुरमा ८४ हेक्टरमा फैलिएको बोटानिकल गार्डेन छ । जसलाई बंगलादेशकै सबैभन्दा ठूलो बोटबिरुवा संरक्षित क्षेत्र मानिन्छ । भनिन्छ गर्मी मौसममा ढाकालाई यही गार्डेनले बँचाउँछ । 
पाकिस्तानको राजधानी इस्लामाबादमा पनि तीन सय हेक्टरमा फैलिएको फतिमा जिन्हा पार्कको दुई हेक्टर क्षेत्रमा सोलार प्यानल जोडेर रातिभरी उज्यालो पारिन्छ । अब एकपटक बुटवलका पार्क ब्यवस्थापकहरुले विभिन्न देशको भ्रमण गरेर थप गुणस्तरीय र थिममा आधारित वनाउने प्रयत्न गर्नुपर्छ । यसो गर्दा एउटै पार्कमा सवै कुरा राखेर लथालिंग वनाउनु हुँदैन । प्रायः सवै पार्कहरुमा जनावर राख्ने चलन छ । जो सर्वथा अनुचित हुन्छ । जनावरलाई चाहिने स्थान पूरा हुने गरी वनाउन सकिएन भने त्यो अपराध हुनजान्छ । बरु कुनै एक ठाउँमा जनावर केन्द्रीत पार्क वनाए हुन्छ ।
पार्कहरुको अवधारणा पर्याप्त आइसकेको छ । तथापि वजेटको अभाबमा धेरै काम भएका छैनन् । यो ब्यवस्थापनमा सवैको सहभागिता जरुरी छ । खासगरी सामुदायिक वन उपभोक्ता समुहहरुले आफ्नो आम्दानीबाट केही वजेट यस्तै पार्कहरुमा लगानी गर्नुपर्ने अवस्था छ । जसलाई आत्मसात गर्न सकेका छैनन् । यसको कारण तदनुसारको विचार नहुनु पनि हो । 
कतिपयले पार्कमा लगानी गर्नुलाई ब्यर्थ सम्झने गर्छन् । यसबाट गरिव जनताले के पाए भनेर तर्क गरिन्छन् । तर अन्य मुलुकमा भएका अध्ययनलाई हेर्दा त्यो कुतर्कमात्र हो । पार्क धनीभन्दा न्यून आय भएका मानिसलाई झनै चाहिने कुरा हो भन्ने स्थापित भएको छ ।
सहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले पार्ने सकारात्मक प्रभावबारे पछिल्ला वर्ष धेरै अध्ययन, अनुसन्धान भएका छन् । अमेरिकाको पेन्सलभेनिया अस्पतालमा एकै पटक अपरेसन गरेका दुइजना बिरामीलाई अलग अलग प्रकृतिका कोठामा राख्दा फरकफरक  रिपोर्ट आएको थियो । जसमध्ये एउटालाई कोठाको झ्यालबाट रुखहरु देखिने र अर्कोलाई कोठाको झ्यालबाट ईटा देखिने काठामा राखिएको थियो । ती बिरामीको मेडिकल रिपोर्टको अध्ययनले के देखायो भने रुख देखिने कोठामा बसेका बिरामी इँटाको भित्ता देखिने कोठामा बसेका बिरामीभन्दा अपरेसनपछि छिट्टै घर फर्कियो । अस्पतालमा बस्दा थोरै ‘पेनकिलर’ प्रयोग गर्यो । उनीहरुले नर्ससँग थोरै मात्र नकारात्मक टिप्पणी गरे । यो तथ्य अमेरिकाकै साइन्स जर्नलमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा उल्लेख भएको वताइएको छ । 
त्यस्तै फिनल्यान्डको राजधानी हेलसिन्कीमा सहरका पार्क र सहरभित्रका जंगलले मानिसको स्वास्थ्य र ‘मुड’ मा कस्तो असर पार्छ भनेर अनुसन्धान गर्दा जंगल र पार्कमा केवल दस मिनेटको हिँडाइले मानिसको तनाव कम गर्ने देखायो । दस मिनेटको हिँडाइले पनि तनाव कम गर्ने हर्मोन सक्रिय पार्न सक्दो रहेछ ।
गर्मीमा सहरको तापक्रम घटाउन पनि रुखले काम गर्छन् । एउटा ठूलो रूखबाट हुने वाष्पीकरणले कोठामा राख्ने दसवटा एयर कण्डिसनले २४ घन्टामा फाल्नेजत्तिकै चिसो निकाल्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । त्यसैले गर्मीमा रुखमुनि गएर वस्ने गरिन्छ र चिसो महसुस हुन्छ । यो भनेको वातावरणीय सन्तुलनका हिसावले पनि पार्कको औचित्य छ भन्ने हो । 
अध्येताहरुका अनुसार ५० वर्ष लामो आयु भएको एउटा रुखले उसको जीवनभरमा ३१ हजार डलर मूल्य बराबर अक्सिजन उत्पादन गर्छ । ६२ हजार डलर मूल्य बराबर प्रदूषण नियन्त्रण गर्छ र ३७ हजार डलर बराबर पानी रिचार्ज गर्छ । रुखका पात र जराले पानीमा मिसिएको प्रदूषण फिल्टर गरेर मात्र जमिनमा पठाउँछन् । पानी प्रदूषण गर्ने नाइट्रोजन, पोटासियम र फोस्फरस छान्छन् । ग्लोवल वार्मिङ्गका कारण सिंगो मानव समुदाय प्रताडित भएको छ । जवकि यसको समाधान पनि मानव जातिसंगै छ ।
यसैले पार्कहरुको लगानीले धनी गरिब सवैलाई लाभ मिल्छ । हामीले देख्ने गरेका छौं बुटवलको हिलपार्कमा दैनिक एक हजारभन्दा बढी ब्यक्ति जाने गर्छन् । विहानमा हिड्ने, नाचगान गर्ने र शरीरलाई स्फुर्ति प्रदान गर्ने, निःशुल्क रुपमा स्वस्थ्य अक्सिजन प्राप्त गर्ने यस्ता अबसर पार्कले दिएका छन् । बिश्वमा कतिपय देशमा अक्सिजन पार्लर खुल्न थालेका छन् । भोलि कुनै दिन यहाँ पनि त्यस्तो अवस्था आउन सक्छ ।  
नेपालमा विभिन्न प्रकारका पार्कहरु बनाउने अवधारणाको विकास हुँदै गएको छ । यो सुखद कुरा हो । निश्चयनै पार्कहरुलाई विशिष्टीकरण गर्दै जानुपर्छ । लुम्बिनी प्रदेश सरकारले बुटवलमै रामापिथेकश जुलोजिकल पार्क बनाउने अबधारणा ल्यायो । बुटवल उपमहानगरपालिका वडा नं १३ को जितेश्वरी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा सो पार्क बनाउने कार्य प्रारम्भ भयो । एकआध करोड रुपैयाँ खर्च पनि भयो । तर, सरकार परिवर्तन हुँदा साथ विनियोजित वजेट खारेज गरियो । दृष्टिकोणविहिन ब्यक्ति भएपछि यहाँसम्म हुँदो रहेछ भन्ने कुराको यो दृष्टान्त हो । आखिरी सरकारलेनै जस लिदै थियो भने यस्तो आग्रही भावना किन राख्नु ?
पार्कहरु थिममा आधारित हुन आबश्यक छ । हरेक पार्कमा सवै कुरा राख्दै जाने हो भने तिनले सकारात्मक परिणाम दिने छैनन् । 
तथापि आजभोलि नेपालमा यस प्रकारका अवधारणहरु आउन थालेका छन् । चिनको सछुवानमा भूकम्पीय भग्नावशेष’ पार्क छ । चिनकै छेन्दुमा रहेको पाण्डा पार्क, भारत चेन्नइको कोर्कोडायल अर्थात् गोही (ऋचयअयमष्भि ) पार्क, मेराइन (सामुद्रीक जीव¬) पार्क, अक्वरियम पार्क विशिष्टीकृत पार्कका नमुना हुन् ।  हर्वल पार्कहरु धेरै ठाउँमा छन् । जुलोजीकल पार्क वन्ने क्रम वढ्दै छ । बोटानिकल पार्क बिद्यार्थीका लागि ज्यादै उपयोगी मानिन्छन् । त्यस्तै आइटी पार्क, शैक्षिक पार्क, फन पार्क, पिस पार्क, हेल्थ पार्क, निकुन्ज पार्क, ग्रिन पार्क, गुलाफ पार्क (च्यकभ उबचप ), ःबलनय उबचप अर्थात् आँपको वँगैचा, चिल्ड्रेन पार्क पनि हुन सक्छन् र भइरहेका छन् ।  
पूर्वी मोरङको केराबारी क्षेत्रमा सालक पार्कको चर्चा सुनिएको छ । पशुपतिमा आध्यात्मिक पार्क वन्दैछ शायद । भारतको तेलंगानामा कुकुर पार्क छ । यसमा कुकुरहरु ल्याउने,, उनलाई खेल्न सिकाउने  र सहरका कुकुरको ब्यवस्थापन गरिन्छ । झापामै ‘चाइना–नेपाल इको इन्ड्रस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब लगानी हुने भएको छ । शहीद वा नेताको नामवाट जस्तै लखन थापा पार्क । पुष्पलाल पार्क । गणेशमान, मदन भण्डारी पार्क आदि पनि बन्ने गरेका छन् । 
वेनीमा रामायण पार्क वन्दै छ । कीर्तिपुरमा युद्व पार्क वन्दै छ । काठमाण्डौ कतै बाजेवज्यै पार्क वन्दै गरेको समाचार प्रकाशित भएको थियो । कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क तयार गरिने कार्यक्रम सार्वजनिक भएको थियो ।
यसरी हेर्दा पार्कलाई क्रमसः विशिष्टीकरण गर्नु अति आबश्यक छ । यसको उदाहरण पार्कको राजधानी बुटवललेनै गर्नुपर्छ । यसका लागि यहाँका पार्कहरु मिलेर सभा सम्मेलन वा वैठक गरी कतिपय निर्णय गर्ने परम्परा बसाल्नुपर्छ । अनुभब आदान प्रदान गर्दा मात्र पनि धेरै नवीन विचार आउन सक्छन् । जेठा पार्क हुनुका नाताले मणिमुकुन्दसेन उद्यान पार्कले यस्ता कामको नेतृत्व गर्दै जान आबश्यक छ ।
२०७८ फाल्गुण ११
मणिमुकुन्दसेन पार्कको स्मारिकामा प्रकाशित
 

प्राप्त प्रतिकृयाहरू

To Top