के नेपाल दुई दलीय राजनीतिका लागि परिपक्क हुँदै छ ?

राजनीति चैत्र २४ 2078 ekhabarnepal
Dr ghimire


डी.आर. घिमिरे
के नेपाल दुई दलीय ब्यवस्थातर्फ जान थालेको हो ? नेकपा एमालेका महासचिव शंकर पोख्रेलले केही समय यता यो कुरालाई सैद्वान्तिक ढंगले उठाउँदै आउनु भएको छ । प्रारम्भमा यो विषय अनावश्यक जस्तो लागे पनि क्रमसः मुलुक त्यतै जान थालेको आभास हुन थालेको छ ।
अहिले देशैभरी सत्ता गठवन्धनको नाममा चुनावी गठवन्धन हुन थालेको छ । जिल्ला जिल्लामा सत्तामा रहेका दलहरु चुनावमासमेत मिलेर जाने संकेत देखिदैछन् । प्रदेश नं. १ मा वडा तहसम्मै मिलेर जाने निर्णय सार्वजनिक भएको छ । लुम्विनी प्रदेशका अर्घाखाँची, गुल्मी, रुपन्देहीमा पनि त्यस्तै संभावना देखिएको छ । कतिपय जिल्लामा पालिकाहरुको बाँडफाँडनै भएको छ । यस अर्थमा एमाले भर्सेज कांग्रेस नेतृत्वको गठवन्धन क्रमसः कसिंदै गएको छ । जन आधारित शक्तिको कुरा गर्दा गठवन्धनमा रहेकाहरुलाई हेर्दा कांग्रेसबाहेक अरु देखिदैनन् । त्यसैले अन्य दलको राजनीतिक उपस्थिति शून्य प्रायःनै छ । अथवा चुनावमा जानेले यदि घोषणापत्र बनाउँछन् भने अब दुईवटा घोषणापत्र वन्नेछन् । एउटा कांग्रेस र अर्को एमाले । यसरी हेर्दा दुई दलीय ब्यवस्थाको रुप देखिने अवस्था सृजना भएको छ ।
यो कुरा एमाले महासचिव पोख्रेलले जतिवेला उठाउनु भएको थियो शायद त्यतिवेला यस रुपले आकार लिएको थिएन । तर, क्रमसः मुलुक त्यसरीनै जाँदैछ ।
महासचिवले यसो भन्नका लागि दुइवटा कारण दिनुभएको थियो । त्यो भनेको राजनीतिक रुपले नेपालमा दुईओटा शक्ति छन् । अथवा नेपालको राजनीतिक परिवर्तनले दुईओटा शक्तिका लागि आधार प्रदान गरेको छ । ती हुन् एउटा, समाजवादतर्फ अगाडि बढ्ने शक्ति र अर्को, पूँजीवादतर्फ अगाडि बढ्ने शक्ति । यी दुई शक्तिमध्ये कसले समाजवादतर्फको यात्रा तय गर्छ भन्दा स्वभावैले एमालेले गर्छ । यद्यपि भन्नका लागि माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको समाजवादीले पनि त्यही भन्ने गर्छन् ।  
तर, ब्यवहारमा उनीहरु धेरै टाढा पुगिसकेका छन् । किनकि उनीहरुले पूँजीवादतर्फको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई आफ्नो नेता मानेका छन् । महासचिव पोख्रेलको भाषामा ती दलहरु ‘सेटलाइट’ (उपग्रह) का रूपमा कांग्रेसको सहयोगी बनेर अघि बढेका छन् ।  यो चुनाबमा उनीहरुवीच भएको गठवन्धनले यसै कुरालाई पुष्टि गर्दैछ ।
नेपालको राजनीति गन्तव्यका हिसाबले तीब्र ध्रुवीकरण भइरहेको छ । ध्रुवीकरणका हिसावले एउटा ध्रुव समाजवादतर्फ र अर्को ध्रुव पुँजीवादतर्फ अगाडि बढ्ने अवस्था आएको छ । कांग्रेसका कार्यक्रमलाई हेर्दा  ऊ पूजिवादतर्फ लम्केको छ भन्दा अत्युक्ति हुँदैन ।
एमाले समाजवादी कार्यक्रमलाई अगाडि वढाउन चाहन्छ भन्ने कुरा सरकारको नेतृत्व गर्दा उसले गरेका र चालेका केही ठोस कदमलेनै स्पष्ट गर्दछ । सामान्यतः वस्तु र सेवा राज्यले उपलब्ध गराउँछ भने त्यो समाजवाद उन्मुख ब्यवस्था हुन्छ । वस्तु र सेवा उपलब्ध गराउने जिम्मा निजी क्षेत्रले पाउँछ भने त्यो व्यवस्था पूजिवादउन्मुख हुन्छ । यसलाई आधार मानेर हेर्दा शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । एमाले कालमा विद्यालय बाहिर रहेका ५ लाख भन्दा बढी बालबालिकाहरूलाई अविभावकत्व ग्रहण गर्ने नीतिले भर्ना हुने दरमा निकै वृद्धि भयो । 
आधुनिक प्रविधि र सीपको विकासका लागि प्राविधिक धारका स्कुल खोल्ने अभियानले सार्थकता पायो । प्राविधिक विश्वविद्यालयको स्थापना भयो । जसले रोजगारमूलक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।
स्वास्थ्यमा हेर्दा करिव सबै जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु गरियो । स्वास्थ्यमा पहुंच पुर्याउन २५ लाख भन्दा बढी जनताले स्वास्थ्य विमाको सुविधा प्राप्त गरे । स्वास्थ्यका पूर्वाधार निर्माणमा सो अवधि ऐतिहासिकनै बन्यो । एकैपटक सयौं अस्पतालहरूको उद्घाटन र आधारभूत वर्गलाई स्वास्थ्य वीमा छुट पनि समावादउन्मुख कार्य हो । 
सामाजिक सुरक्षा अन्तगैत् त्यस्तै ज्येष्ठ नागरिक भत्ता सहित अशक्त, अपाङ्ग, विधवा, एकल महिला, पिछाडिएको क्षेत्रका नागरिकहरूलाई समेत सामाजिक सुरक्षा भत्ता बढाइनु लोककल्याणकारी राज्यको चरित्र हो । आधारभूत खानेपानीमा ९२% जनताको पँहुच पुग्यो । एक घर एक धारा अभियानलाई तिब्रता दिई ३ वर्षको अवधिमा ग्रामीण क्षेत्रका ४० हजार घरधुरीमा धारा निर्माण भए ।
गरिवी न्यूनीकरण, वैंक वित्तिय संस्था, विप्रेषण, कृषि उत्पादनमा आत्मनिर्भरता तर्फको पाइला, न्यूनतम पारिश्रमिक, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा पनि समाजवादउन्मुख कार्यक्रमनै हुन् । खरको छाना विस्तापित गर्ने कार्य, गरिबलाई आवास कार्यक्रम, सुकुम्वासी समस्या तथा अब्यवस्थित बसोवासको ब्यवस्थापन गर्ने कामको सुरुवातले पनि त्यही संकेत गर्दछ । शायद ५ वर्षे कार्यकाल पूरा गर्न सकेको भए ६० प्रतिशत सुकुम्वासीको समाधान भइनैसक्थ्यो । यसैले समाजवादउन्मुख संविधानलाई ब्यवहारमा उतार्नका लागि एमाले नभई हुँदैन ।
जहाँसम्म माओवादी, समाजवादी, मसाल तथा जसपासमेतको कुरा हो, निर्वाचनमा कांग्रेस नेतृत्वमा घोषणापत्र बन्ने भएपछि उनीहरुले गर्ने भनेको त्यसैको कार्यान्वयन हो । कुरा स्थानीय निर्वाचनको मात्र हैन, तत्पश्चात् हुने संसदीय चुनावमा पनि यही अवस्था दोहोरिने निश्चित छ । यसो हुँदा जनताले यीनै दुइवटा शक्तिलाईनै प्रमुख रुपले मान्यता दिने अवस्था आउने भयो । 

यदि अन्य दलहरुले आफ्नो अस्तित्व खोज्न थाले भने त्यतिवेला मुलुक अस्थिरतातर्फ जाने छ । विगतलाई हेर्दा नेपालमा जतिबेला सत्ता गठबन्धनको अवस्था आउँछ त्यसले अस्थिरता निम्त्याउनेवाहेक अरु केही गर्न सकेको छैन । नेपालमा वाह्य चलखेलको कुरा पनि यस्तै अवस्थामा बढी आउने गर्छ । किनकि स—साना दलहरु धेरै भएपछि एउटा दललाई उचालेर सहजतापूर्वक अस्थिरता उत्पन्न गर्न सकिन्छ ।
उपर्युक्त कारणले एकल शक्तिको सत्ता हुने अवस्था अब एमालेबाहेक अरु कसैको रहेन । यो कुरा कसैले स्वीकार्ने र अस्वीकार्ने भन्ने पनि रहेन । कांग्रेस हतास मनस्थितिमा पुगेको देखिन्छ । ऊ हतास नभएको भए एक्लै चुनाब लड्ने थियो । जवकि परिस्थिति उसको अनुकुल थियो । बाम शक्ति विभाजित भएकोले एक अर्थमा अवसर पनि थियो । तर, उसले हार खाइसकेको छ । एक अर्थमा रन्थनिएको छ । यस्तो हारको मानसिकता लिएर उसले कसरी युद्व जित्ला ? 

मुलुकको स्थिरताका लागि मात्र हैन, बाह्य शक्तिका लागि पनि बलियो सरकार चाहिन्छ । अहिलेको गठवन्धनले बलियो शक्ति निर्माण गर्न सक्छांै भन्ने कुराको सन्देश दिन पनि सकेन । गठवन्धनले दिने सन्देश र एमालेले दिने सन्देशमा धेरै फरक छ । एमालेले ध्रुवीकरणको सन्देश दिएको छ । अर्थात् एमालेमा अन्य दलका कार्यकर्ताहरु समाहित हुने क्रम ब्यापक छ । अर्कोतिर एक्लै सरकार बनाउछौं भनेर बलियो शक्ति पनि यही हो भन्ने सन्देश दिएको छ । तथापि यसले एकछिनको ब्यवस्थापनमा अफ्टेरो हुन सक्ला, तर एकपटक व्यवस्थापन भएपछि समाधान हुन्छ । जवकि गठवन्धनमा त्यस्तो हुँदैन ।  
कांग्रेससहितका दलहरुले गठवन्धनको सन्देश दिएका छन् । गठवन्धन भनेको स्वार्थहरुको खेल हो । समान उद्देश्य र कारणले केहि व्यक्ति वा समूह एक साथ संयुक्त भएर कुनै कार्य गर्नुलाई गठवन्धन भनिन्छ । गठबन्धनहरू अस्थायी वा परिस्थिति अनुसार बन्न सक्छन् । 
क्याम्ब्रिज शब्दकोशमा “आम रुपमा एक सिमित समयको लागि, कुनै विशेष प्रायोजनको लागि विभिन्न राजनीतिक दल वा समुहको मिलन“ लाई गठबन्धनको रुपमा परिभाषित गरिएको छ । यद्यपि राजनीतिक रुपमा यसो भनिए पनि अर्थशास्त्रमा भने यसको अर्थ सकारात्मक हुन्छ । 

 ग्राहकको विश्वास बढाउने उद्देश्यले कयौं ठूला कम्पनी एक अर्काको सहयोग गरेर गरिने गठबन्धन आर्थिक रुपमा उपलब्धीमूलक हुन्छ । यसबाट उक्त कम्पनीमाथि ग्राहकको बिश्वास बढ्छ र त्यही  विश्वासबाट कम्पनीले अधिक लाभ कमाउन सक्छ । 
नेपालको सन्दर्भमा कर्पोरेट सस्कार नभएकोले नाफा कमाउने ब्यावसायिक विषयमासमेत मिल्दैनन् भने राजनीतिमा त धेरै टाढाको कुरा भयो ।
यस अर्थमा ध्रुवीकरण स्वभाविक हुन्छ । प्राकृतिक हुन्छ र राजनीतिमा यसले स्थायीत्व दिन्छ भने गठवन्धन अप्राकृतिक र अस्वभाविक हुन्छ भने यसले राजनीतिमा अस्थिरता पैदा गर्दछ । जव स्वार्थमा थोरै धक्का लाग्छ, त्यतिवेला त्यो बेलुन फुटे झै फुट्छ । कुनै पनि देशको इतिहासमा यस प्रकारको गठवन्धन शायदै भएका होलान् । नेपालमा पनि यो नै पहिलो र अन्तिम हो । त्यसैले आगामी चुनाबमा स्थिर सरकार बनाउने कि अस्थिर सरकार भनेर हेर्नुपर्ने हुन्छ । यसरी हेर्दा एमालेनै भाग्य र भविष्य हो भन्नेवारेमा कुनै सन्देह हुनुहुँदैन ।
२०७८ चैत्र २१

प्राप्त प्रतिकृयाहरू

To Top